‘गाउँ गाउँजस्तो छैन,
शहर शहरजस्तो छैन,
कस–कसले के–के गर्दिए कुन्नि,
आफू जन्मिएको ठाउँ नै चिनिँदैन ।’
कवि हेम हमालको कवितामा भनिएझैँ तीव्ररूपमा भइरहेको बसाइँसराइ र वैदेशिक रोजगारीप्रतिको बढ्दो आकर्षणका कारण गाउँ रित्तिदै गएका छन् । अचेल गाउँ गाउँजस्ता रहेनन् भने शहर पनि वर्णशङ्कर हुँदै जान थालेको छ ।
चार/पाँच वर्षअघिसम्म दुर्गम मानिएका गाउँहरूमा पछिल्लो समय विकासको लहर चलेको छ । तैपनि गाउँ रित्तिने क्रम बढ्नु निक्कै चिन्ताको विषय बनेको छ ।
सडक, सञ्चार, शिक्षा र स्वास्थ्यको पहुँचसँगै विकास निर्माणले गति लिएको छ । अझ सङ्घीयता कार्यान्वयनमा आएसँगै पालिका सबल हुँदा विकासका कार्यक्रम गाउँ केन्द्रित भएका छन् । घरआँगनमै गाडी गुड्ने सडक छन् । नजिकै विद्यालय छ । वडा कार्यालयसँगै स्वास्थ्य चौकी, घरघरमा झलमल्ल बिजुली, घाँस पराल बोकेर घरगोठमा पुग्ने ट्र्याक्टर, मोटरसाइकल सबैको सुविधा गाउँमा भए पनि गाउँ छोड्दै शहर झर्ने र मधेश पस्नेहरूको सङ्ख्या वर्षेनि बढ्दै गएको हो ।
विकास र पूर्वाधार तथा सेवा सुविधा गाउँमा पुगे पनि बढ्दो बसाइँसराइले यसलाई ओझेलमा पारेको छ । गाउँ छोड्ने क्रम बढेसँगै गाउँघर रित्तो हुन थालेका म्याग्दीको रघुुगङ्गा गाउँपालिका–६ ठाडाखानीका टेकबहादुर छन्त्यालले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘गाउँमा घरहरू त छन् तर ती घरमा बस्ने मानिसहरू छैनन् । बस्ती पातलिँदै जान थालेको छ । भीरपहरा र खोलाहरू छिचोल्दै गाउँमै सडक पुगेको छ । सुविधा थपिएका छन् । विद्यालय, स्वास्थ्य चौकीदेखि लिएर खानेपानी र सिँचाइको राम्रो सुविधा भए पनि मानिसहरू थप सुविधाको खोजिमा शहर बजार र तराईतिर जाने क्रम भने झन बढ्दै जान थालेका छन् ।’
यो म्याग्दीको मात्रै समस्या रहेन । धेरैजसो जिल्लामा छिटपुटबाहेक गाउँहरू पछिल्लो समय बसाइँसराइका कारण उजाडिँदै जान थालेका छन् । दुर्गम गाउँहरूबाट मात्रै होइन सदरमुकाम नजिक र सबै कुराको सुविधा पुगेका क्षेत्रबाटसमेत शहरमा बसाइँसराइ बढ्दै गएको छ ।
बसाइँसराइ समस्या र चुनौती बनेको जनप्रतिनिधिहरू बताउँछन् । बेनी नगरपालिका–२ का वडाध्यक्ष यामबहादुर कार्की गाउँमा विकासले गति लिँदै गरे पनि बसाइँ सर्नेको सङ्ख्यामा भने कमी आउन नसकेकोमा चिन्ता व्यक्त गर्नुहुन्छ । गाउँमा साह्रोगाह्रो र आपत्–विपद् पर्दा सहयोग गर्ने छिमेकी घट्दै जान थालेका छन् ।