बेनीदेखि हाँडेभिर–बगरफाँट हुँदै भकिम्ली र बरङ्जा जोड्ने ग्रामिण सडक स्तरोन्नतिको काम तीब्र गतिमा अघि बढेपछि स्थानीयहरु खुसी भएका छन् ।

ट्याक खुलेको १८ वर्ष पछि म्याग्दीको सदरमुकाम बेनी हुँदै हाँडेभिर–बगरफाँट–भकिम्ली जोड्ने सात किलोमिटर कृषि सडकको स्तरोन्नतिको काम भएको हो  । बेनी नगरपालिका वडा नम्बर ३ भकिम्ली र ४ नम्बर वडा बास्कुनाका साथै मंगला गाउँपालिकाको वडा नं २ र ३ मा पर्ने बरङ्जामा उत्पादन भएका कृषि उपजलाई बेनीसम्म ल्याउन र बेनीबाट खाद्यान्न ,निर्माण सामाग्री लगाएतका उपभोग्य वस्तुहरु गाउँमा लैजान सजिलो भएपछि स्थानीय खुसी भएका हुन् ।

२०६३ सालमा ट्रयाक खुलेको सात किलोमतिर दुरीको उक्त सडकको बगरफाँट–दुधेखोला खण्डको तीन किलोमिटर सडक ग्राभेल र दुधेखोलादेखि भकिम्लीतर्फको तीनसय ९० मिटर सडक ढलान गरिएको छ ।

गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा रु दुई करोड बजेट यस सडकलाई विनियोजन गरेको छ ।सडक स्तरोन्नति र कालोपत्रेका लागि बहुवर्षिय ठेक्का लगाएन रु १० करोड बजेटको स्रोत सुनिश्चितता भइसकेको गण्डकी प्रदेश सभा सदस्य हरिबहादुर भण्डारीले जानकारी दिनुभयो ।

यो सडक बेनी नगरपालिकाको वडा नं २ बगरफाँट, वडा नं ३ भकिम्ली, मंगला गाउँपालिकाको ३ र ४ नम्बर वडाका वासिन्दा तथा पश्चिम म्याग्दीको मालिका गाउँपालिका–५ ओखरबोटको सोलेडाँडा भएर बागलुङको तमान, लामेलासम्म विस्तार गर्ने लक्ष्य रहेको छ ।

साघुरो कच्ची र जिर्ण सडकलाई स्तरोन्नति गर्ने योजना अघि बढेपछि यस क्षेत्रका किसानहरु खुसी भएका हुन् । बेनीदेखि बगरफाँट सम्मको सडक यसअघि नै कालोपत्रे गरिएको छ । बगरफाँटदेखि दुधेखोला हुँदै भकिम्ली जोड्ने सडकलाई पूर्वाधार विकास कार्यालय म्याग्दीले ठेक्का मार्फत स्तरोन्नति योजना अघि बढाएको हो ।

यस योजनाबाट बगरफाँटदेखि दूधेखोलासम्मको करिब साढे दुई किलोमिटर सडकलाई आठ मिटर फराकिलो बनाएर ग्राभेलसहित स्तरोन्नति गरिने र दूधेखोलादेखि भकिम्ली जोड्ने सडकको विभिन्न खण्डमा तीनसय ९० मिटर सडक ढलान गरेर स्तरोन्नति गरिने पूर्वाधार विकास कार्यालय म्याग्दीका सव–इन्जिनियर रविन चोखालले बताउनुभयो ।

निर्माण व्यवसायीले सडक फराकिलो बनाउने, मेसिनरी पर्खाल र ग्याविन जाली लगाउने कामलाई तीव्रता दिएको इन्जिनियर चोखालले बताउनुभयो । योजनामा अहिलेसम्म करिब ४५ प्रतिशत भौतिक प्रगति भएको छ ।

कच्चि र जिर्ण भएको सडक स्तरोन्नति योजना अघि बढेपछि भकिम्लीवासीहरु खुसी भएको बेनी नगरपालिका ३ का वडाध्यक्ष पदम पुनले बताउनुभयो ।

हाँडेभिरदेखि बगरफाँट–दूधेखोला–हल्लेगौडा, मुसुङडोले हुँदै बागलुङको ताराखोला जोड्ने यो सडकमार्ग अन्तर्गत दूधेखोलादेखि बास्कुना–थामडाँडा–अर्जेखोला हुँदै मङ्गला गाउँपालिकाको वडा नम्बर ३ र ४ बरङ्जालाई समेत यो सडकले जोडेको छ ।

बगरफाँटदेखि दूधेखोलासम्मको करिब साढे दुई किलोमिटर बढी सडकलाई फराकिलो बनाउने, नाली निर्माण गरी ग्राभेलसहित स्तरोन्नति गर्न थालिएको पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख विष्णु पौडेलले बताउनुभयो ।

 

Leave a Reply