प्रिय नेपाल,

तिमीलाई सम्झनासाथ मेरो मनभरि असंख्य भावनाहरू उम्लेर आउँछ। तिमीप्रति कति माया छ, कति श्रद्धा राख्छु, तिमीबिनाको जीवन कति बेरंग छ ।यी सबै कुरा शब्दमा पोख्न गाह्रो छ। तिमी मेरो बाल्यकाल हौ, मेरो अस्तित्वको आधार हौ, मेरो पहिचान हौ। म तिम्रै माटोमा जन्मिएँ, तिम्रै आँगनमा खेल्दै हुर्किएँ, । म म्याग्दी जिल्लाको छोरो हुँ, जसले बेनी बजारका गल्लीहरूमा रमाउँदै बाल्यकाल बितायो, रातभरि अनगिन्ती सपना बुन्दै उज्यालो खोज्यो।

तर आज ती दिनहरू केवल सम्झनामा सीमित भएका छन्। जिन्दगीले मलाई तिमीबाट टाढा ल्याइदियो। म अहिले विदेश छु ,तिमीबाट हजारौं किलोमिटर टाढा। यहाँको जीवन अनौठो छ। भौतिक सुविधा सबथोक छ, तर आत्माले शून्यता महसुस गर्छ। बिहान उठ्नेबित्तिकै पैसाको दौड सुरु हुन्छ, १५ घण्टासम्म काम गर्दा शरीर थकित हुन्छ, मन शून्य हुन्छ। तलब आँउछ तर बचत गर्न गाह्रो छ । ऋणको भारी काँधमा छ, दिमागमा सधैं भविष्यको चिन्ता रहन्छ।यहाँ दिनहरू बितिरहेका छन्, समय बितिरहेको छ, तर जिन्दगी अघि बढेको जस्तो लाग्दैन। यहाँ सबथोक छ, तर शान्ति छैन।

तिमीलाई सम्झनासाथ आँखा रसाउँछन्। बिहान निद्राबाट उठ्नेबित्तिकै सम्झन्छु ,म किन यहाँ छु? किन म तिमीबाट टाढा छु? अनि आफैंलाई सम्झाउँछु ,म तिम्रो माटोमा केही गर्ने सपना बोकेर आएको छु। केही आर्जन गर्ने, केही अवसरहरू खोतल्ने, अनि फर्केर तिम्रै काखमा केही सिर्जना गर्ने। तर कहिलेकाहीँ यस्तो लाग्छ, म किन सोच्छु यो सब? किन म यो सबै छोडेर तुरुन्तै तिम्रो काखमा जान सक्दिनँ? के साँच्चै जिन्दगी पैसा कमाउनु मात्र हो? के म साँच्चै खुसी छु? तर मलाई थाहा छ, म खुसी छैन। नेपाल, तिमीलाई सम्झिँदा तिम्रा ऋतुले मेरो मनभरि सम्झनाका रंग भर्छन्। बसन्तमा उम्रने नयाँ पालुवाहरू जसरी म सानो हुँदा नयाँ सपनाहरू देख्थेँ। ती सपनाहरू फूल झैँ फक्रिन्थे, मनमा नयाँ उत्साह जाग्थ्यो। अहिले बसन्त आउँछ, तर मन भने बर्खाझैँ भारी हुन्छ।

तिम्रै खुला आकाशमुनि रमाएको, पहाडहरूमा हिँडेका ती सुनौला क्षणहरू र हिउँदको चिसो मौसममा म तिम्रै न्यानो काखमा घाम तापेको सम्झन्छु।मलाई फेरि तिम्रो काखमा बसेर न्यानो घाम ताप्न मन छ। अनि बर्खाको झरी जसले तिम्रो सुन्दरतालाई झन् निखारिदिन्छ । तिमी धुलाम्य भए पनि म खुशीसाथ त्यो धुलो श्वासमा तान्न तयार छु। तिम्रो हावामा प्रदूषण भए पनि म यही हावा फेर्दै बाँच्छु। तिमि जे जस्तो छौ मलाई सबै स्वीकार छ किनकि तिमी मेरो अस्तित्व हौ, मेरो पहिचान हौ, मेरो घर हौ। म तिमीलाई हेर्दै हुर्किएँ, तिमीलाई नै सोच्दै बाँचिरहेको छु। आज म टाढा भए पनि मन सधैं तिम्रै वरिपरि घुमिरहन्छ। आमा-बुबालाई टाढैबाट सम्झिनुको पीडा शब्दमा व्यक्त गर्न सक्दिनँ।

साथीहरूसँग बेनी बजारमा मोटरसाइकल कुदाएको, गल्लीहरूमा घण्टौं गफ गरेको ती दिनहरू आज सपनाजस्तै लाग्छन्। त्यही गल्लीहरूमा आज म हिंड्न पाएको भए, त्यो स्वतन्त्रताले जीवन सार्थक हुने थियो। तर म दुविधामा छु। म तुरुन्तै तिम्रो काखमा फर्किन चाहन्छु, तर अझै केही जिम्मेवारीहरू पूरा गर्नुछ। नेपाल फर्किएपछि केही गर्ने योजनाहरू छन्, केही सपना छन्, जसलाई पूरा गर्न म अहिले परदेशमा संघर्ष गरिरहेको छु। यदि आज म खाली हात फर्किएँ भने, भोलि तिम्रो माटोमा केही गर्न नसक्ने डर लाग्छ। तर एउटा कुरा पक्का छ, नेपाल, म आउँछु।

त्यो दिन टाढा छैन। तिमीले मलाई बोलाइरहेकै छौ।म पर्खिरहेको छु त्यो दिन, जब म तिम्रो माटोमा फर्केर श्वास फेर्नेछु, आमा-बुबाको हात समात्नेछु, साथीहरूसँग हाँस्नेछु, र बेनी बजारका गल्लीहरूमा फेरि मोटरसाइकल कुदाउनेछु। त्यो दिन, म साँच्चै बाँच्नेछु। कुनै दिन, जब यो ऋणको बोझ हट्छ, जब यो १५ घण्टे परिश्रमको दासत्वबाट मुक्ति मिल्छ, म तिम्रै माटोमा पसिना बगाउनेछु। म तिम्रै हावालाई श्वासमा लिनेछु, म तिम्रै खेतबारीमा मेहनत गर्नेछु। नेपाल, म आउँछु। त्यो दिन टाढा छैन।

तिमिलाई धेरै माया गर्ने,

सुवेदी कल्याण

Leave a Reply