जिल्ला प्रहरी कार्यालय म्याग्दीले जिल्लाका ग्रामिण बस्तीहरूमा शान्ति सुरक्षाको अवस्था बुझ्न नियमित गस्ती गर्ने गरेको छ। प्रहरीको नियमित पहुँच नपुगेका बस्तीहरूका नागरिकसँग विभिन्न सचेतनामुलक अभियानमा जोडिन प्रहरीले लङ रुट गस्तीसँगै समुदायसँग प्रहरी कार्यक्रममार्फत सचेतना फैलाउने गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय र प्रहरी चौकीमार्फत सदरमुकाम बेनीसँग जोडिएका बस्तीदेखि अति विकट मानिएका बस्तीहरूमा गस्तीमार्फत पुग्ने गरिएको प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठले बताउनुभयो । ‘हामीले गस्तीमा समुदायका समस्या बुझ्छौ, अपराधिक गतिविधिलाई न्यूनिकरण गर्न सहयोग माग्छौ’ प्रनाय श्रेष्ठले भन्नुभयो। जिल्ला प्रहरी कार्यालय सहित २४ यूनिटबाट टोली खटिने र प्रहरीचौकीभन्दा टाढाका बस्तीहरुलाई पहिलो प्राथमिकता दिने प्रनाउ श्रेष्ठको भनाई छ ।

जिल्लाका दुरदराजका बस्तीहरूमा हुन सक्ने चोरी डकैती, लुटपाट जस्ता अपराधिक गतिबिधीहरु हुन नदिन एवं समाजमा राज्यको प्रत्याभुति दिलाई शान्ती सुरक्षाको व्यवस्थापन गर्न मुख्य गरी लङ रुट गस्ती गर्ने गरिएको प्रहरीले जनाएको छ । अस्थायी प्रहरी पोष्ट चिमखोला म्याग्दीबाट प्रबह. जिवलाल तिवारीको कमाण्डमा ३ जनाको प्रहरी वडा नं.८ खरिबोट,मंगले,घ्यासीखर्क,दुवादी,चौराखानी,पात्लेखर्क हुँदै मुलपानी सम्मको लामो दुरीको ग्रामिण गस्तीको क्रममा धेरैले गाउँमा नियमित गस्ती गर्न सुझाव दिएका थिए ।

यसैबीच समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत विभिन्न बस्तीमा पुगेर बन डढेलो नियन्त्रण तथा अगालागीको रोकथाम, अग्नी रेखा बनाउने लगायत विभिन्न सचेतनामुलक कार्यक्रमहरुलाई प्राथमिकता दिएको छ ।

यसबर्ष जिल्लामा आगलागीका घटनामा संलग्नलाई पहिचान गरी कारवाही गर्ने तथा समुदायस्तरमा समेत बनजंगल सरसफाई सहितका कार्यहरुमा समेत अग्रसरता देखाउन समेत प्रहरीले अभियानमै अनुरोध गर्ने गरेको छ । त्यस्तै अभियानको क्रममा लागुऔषध, बेचबिखन, महिला हिंसा सहित अपराधजन्य गतिविधिको नियन्त्रण तथा सूचना दिन समेत समुदायलाई अनुरोध गर्ने कार्यलाई समेत तिब्रता दिएको छ ।

Leave a Reply