गैरसरकारी संस्था मिलन म्याग्दीको सामाजिक तथा प्राविधिक परिचालनमा निर्माणमा म्याग्दी जिल्लामा हालसम्म १ सय ३९ झोलुङ्गे पुल निर्माण भएको छ । संस्थाको २६ औं स्थापना दिवसको अवसरमा म्याग्दीको सदरमुकाम बेनीबजारदेखि अति विकट बस्तीहरु जोड्ने गरी झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम, तत्कालिन जिबिस तथा हाल स्थानीय तहको लगानीमा झोलुङ्गे पुल बनेको मिलन म्याग्दीका अध्यक्ष दिलमाया बिटालुले बताउनुभयो ।
अति विकट बस्तीमा घण्टौ यात्रा गर्नुपर्ने बाध्यतालाई झोलुङे पुल बनेपछि यात्रा छोटिएको अध्यक्ष बिटालुलको भनाई छ । ‘झोलुङे पुलबाट समुदायलाई जोड्ने प्रयासमा हामीले पनि बषौंदेखि आवद्ध छौ, समुदायमा आधारित कार्यक्रमहरुलाई निरन्तता दिइरहेका छौ’ अध्यक्ष बिटालुले भन्नुभयो। छोटो र लामो झोलुङ्गे पुल निर्माण भएपछि विभिन्न वस्तीका वासिन्दाहरुलाई सहजसँगै पर्यटन प्रर्बधनमा समेत सहयोग पुगेको मिलन म्याग्दीले जनाएको छ ।
मिलन म्याग्दीले बेनी नगरपालिका र गण्डकी प्रदेश सरकारको सहयोगमा सदरमुकाम बेनीबजारको मंगलाघाटमा अवस्थित नेपालकै पूरोनो मानिने झोलुङ्गे पुलको मर्मत तथा पुननिर्माण समेत गरेको थियो भने हालै धवलागिरि गाउँपालिका ७ धारापानी र मालिका गाउँपालिका ७ खारा जोड्ने म्याग्दी नदीमाथि धारापानी–खारा जोड्न पुल समेत उद्घाटन गरी सञ्चालनमा ल्याएको छ ।
उक्त पुलले दुईसय ७४ घरधुरीका एकहजार,दुईसय ३३ जनसंख्या लाभान्वित भएका छन् । पुल बनेपछि एक घण्टाको बाटो १५ मिनेटमा छोटिएको छ ।
हरेक झोलुङ्गे पुल निर्माणमा समुदायबाट समेत जनश्रमदान र लगानी हुने गरेको छ । भौगोलिक कठिनाइका कारण आवतजावतमा कठिनाइ भएका वस्तीलाई सहज हुनेगरी झोलुङ्गे पुल निर्माणलाई स्थानीय तहले समेत प्राथमिकता दिएको धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताउनुभयो ।
चालु आर्थिक वर्षमा मिलन म्याग्दीमार्फत बेनी नगरपालिकामा २,मंगला गाउँपालिकामा १,रघुगंगा गाउँपालिकामा १ र धवलागिरि गाउँपालिकामा १ झोलुङ्गेपुल निर्माणाधिन अवस्थामा रहेको छ । बेनी नगरपालिकाका मेयर सुरत केसीले झोलुङ्गे पुल निर्माणमा मिलन अनुभवी संस्था भएकाले समेत समयमै काम सम्पन्न हुने गरेको बताउनुभयो । स्वास्थ्य, पोषण तथा झोलुङ्गे पुल लगायतका क्षेत्रमा मिलनसँग सहकार्य गरी काम गरेको बताउनुभयो ।
नेपालमा १२० मिटरभन्दा लामो झोलुङ्गे पुल सङ्घीय सरकारले र सोभन्दा कम दुरीका झोलुङ्गे पुल प्रदेश र स्थानीय तहले बनाउँदै आएका छन् । तीन वटै तहले पुल निर्माण गरेकाले सरकारले धेरै सङ्ख्यामा पुल निर्माण गर्न सकेको हो । पन्ध्रौँ पञ्चवर्षीय योजनामा पनि कम्तीमा आधा घण्टा पैदल हिँडेर पुगिने दुरीमा झोलुङ्गे पुल बनाउनुपर्ने उल्लेख छ । सोही लक्ष्य अनुसार सरकारले पहाडी जिल्लामा तरितराउलाई सहज बनाउनका लागि झोलुङ्गे पुल निर्माण कार्यलाई तीव्रता दिएको हो ।
वि.सं. २०५६ सालमा स्थापना भएको मिलन म्याग्दीले वन, वातावरण तथा जलवायु परिवर्तन, वैकल्पिक ऊर्जा प्रवद्र्धन कार्यक्रमअन्तर्गत समुदायस्तरमा सुधारिएको चुल्हो निर्माण, सुरक्षित मातृत्व, सुआहारा कार्यक्रममार्फत पोषण तथा स्वास्थ्य, लैङ्गिक समानता एवं समावेशीकरण, जिविकोपार्जन, सचेतनालगायत कार्यक्रमहरु सञ्चालन गरेको थियो ।
यसका साथै सरसफाइ, कृषि तथा पशु सम्बन्धी उत्पादन, तरकारी खेती, राष्ट्रपति महिला उत्थानमार्फत महिलाहरुलाई विभिन्न किसिमका सिपमूलक तालिमहरु, युवा स्वरोजगार, सक्षम महिला समानान्तर कार्यक्रम, जिल्लाभन्दा बाहिर पुगेर जलवायु परिवर्तन तथा जैविक विविधता सम्बन्धी सचेतना, आईडी नेपालसँगको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित एफएचएन–आईएल कार्यक्रम लगायत कार्यक्रमहरु सञ्चालन गरिएको छ ।