बेनीमा जारी १० औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको पदक तालिकामा रघुगंगा गाउँपालिकाले अग्रता लिएको छ। जिल्ला खेलकुद विकास समिति म्याग्दीको आयोजनामा सोमबारदेखि बेनीको खुल्ला मञ्चमा सञ्चालित प्रतियोगितामा रघुगंगा ४ स्वर्ण, ४ रजत र २ काँस्य सहित शीर्ष स्थानमा छ ।

त्यसैगरी बेनी नगरपालिका ३ स्वर्ण, ४ रजत र ३ काँस्य सहित पच्छाइरहेको छ भने मालिका गाउँपालिका ३ स्वर्ण, ३ रजत र ४ काँस्य पदक सहित तेस्रो स्थानमा छ । प्रतियोगितामा धवलागिरी गाउँपालिका १ स्वर्ण, १ रजत र २ काँस्य, अन्नपूर्ण गाउँपालिका १ स्वर्ण, १ रजत र १ काँस्य र मंगला गाउँपालिकाले १ स्वर्ढा र १ काँस्य पदक जितेको प्रतियोगिताका सचिवालयका बिरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

यसैगरी प्रतियोगितामा कबबड्ी तर्फ मालिका गाउँपालिका र बेनी नगरपालिका छात्रछात्रा दुबैमा फाइनल प्रवेश गरेको छ भने भलिबलमा मंगला गाउँपालिकालाई पराजित गदैं अन्नपूर्ण गाउँपालिका फाइनलमा पुगेको छ । मार्सल आट अन्तरगत उसुको खेल मंगलबार हुने छ । मंगलबार सम्पन्न हुने प्रतियोगितामा भलिबल, कबड्डी र एथलेटिक्स विद्यातर्फ जिल्लाका ६ स्थानीय तहबाट व्यवस्थापकीय टिमसहित ६ सय जना खेलाडी सहभागी भएका छन् ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने स्थानीय तहलाई रनिङ शिल्ड, ट्रफी, पदक र प्रमाणपत्र प्रदान गरिने जिल्ला खेलकुद विकास समितिले जनाएको छ । प्रतियोगितामा ३० स्वर्ण, ३० रजत र ३० कास्य पदकका लागि खेल हुने छ । आगामी फागुनको ५ र ६ गते गोरखामा हुने प्रदेशस्तरीय राष्ट्रपति रनिङ प्रतियोगितामा भलिबल तर्फबाट २०, कबड्डीबाट २०, मार्शल आर्टबाट ३६ र एथलेटिक्सबाट २४ गरी एक सय जना खेलाडीले सहभागिता जनाउने छन् ।

 

Leave a Reply