एकसय वर्ष अघि स्वर्गद्धारी महाप्रभुका चेला स्वामी कपिलानन्दले कठोर तपस्या गरेको म्याग्दीको प्रभुचेला धुरी पुनः तपोभूमिमा परिणत भएको छ ।

करिव एक शताब्दीसम्म गुमनाम रहेको म्याग्दीको मालिका गाउँपालिका ७ बिममा पर्ने प्रभुचेला धुरीमा आध्यात्मिक र ध्यान केन्द्रका लागि आवश्यक पूर्वाधारहरु निर्माण गरी विभिन्न मुर्तिहरुको प्राण प्रतिष्ठा गरिएपछि आध्यात्मिक तपोभूमिले पुर्नजीवन पाएको हो ।

एकसय वर्षदेखि छायाँमा परेको प्रभुचेला धुरीमा गण्डकी प्रदेश सरकार,स्थानीय सरकार,भक्तजन र स्थानीयवासीहरुको लगानी र सहयोगमा आवश्यक विभिन्न पूर्वाधारहरु निर्माण गरी प्रभुचेला धुरी ध्यान आश्रमको प्राण प्रतिष्ठा गरिएपछि यो स्थान एक शताब्दी पछि पुनःतपोभूमिमा परिणत भएको प्रभुचेला धुरी संरक्षण तथा ध्यान केन्द्र निर्माणका अभियन्ता नविन जुग्जालीले बताउनुभयो ।

यहाँ निर्माण भएको ध्यान आश्रम र विभिन्न देबीदेबताहरुको वसन्त पञ्चमीका दिन प्राण प्रतिष्ठा महोत्सव गरी तपोभूमि नामाकरण गरिएको उहाँको भनाइ छ ।

स्वर्गद्धारी धाम प्युठानबाट आउनुभएका स्वामी चिरञ्जीवीबाट प्राण प्रतिष्ठा गरिएको उक्त तपोभूमि महोत्सवमा देशै भरीबाट भक्तजनहरु आएका उहाँले बताउनुभयो । उक्त अवसरमा गण्डकी प्रदेशका पूर्व भौतिक योजना तथा यातायात मन्त्री सुविन जुग्जाली, मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजा लगाएतका व्यक्तिहरुको समेत उपस्थिति रहेको थियो ।

नवनिर्मित कुटी,स्वामी कपिलानन्द गिरीजीको प्रतिमा,सिद्धथान,शिवालय,गणेश मन्दिर,सहज ध्यान केन्द्र (गोलघर) लगाएतका धार्मिक संरचनाहरुको महारुद्री पाठ,अभिषेक,अनुष्ठान आदि धार्मिक कार्यगरी प्राण प्रतिष्ठा गरेपछि तपोभूमि घोषणा गरिएको जुग्जालीले बताउनुभयो ।

समुद्री सतहदेखि दुईहजार चार सय मिटरको उचाइमा अवस्थित प्रभुचेला धुरीमा निर्माण गरिएको सामुदायिक ध्यान केन्द्र (गोलघर) योग र मेडिटेशनका लागि सुन्दर गन्तव्य बनेको बेनीबाट त्यहाँ पुग्नुभएका तमबहादुर थापाले बताउनुभयो ।

प्रभुचेला धुरीको पुर्नजागरण भएपछि एकसय वर्ष अघिको विरासतको संरक्षण भएको र तप,साधना,योग र मेडिटेशनका लागि यहाँ हजारौं भक्तजनहरु आउन थालेका मालिका गाउँपालिका ७ का वडाअध्यक्ष टकलाल पुनले बताउनुभयो । “प्राण प्रतिष्ठासँगै प्रभुचेला धुरीको पुनर्जागरण भएको छ । एक समय उपेक्षित र विर्सिसकेको यो भूमि अव तपोभूमिमा परिणत भएको छ । अब यो ठाउँ आध्यात्मिक साधना,ध्यान तथा आत्मबोधको केन्द्र बन्ने विश्वास गरेका छौँ” वडाअध्यक्ष पुनले भन्नुभयो ।

प्रभुचेला धुरी शहर र वस्तीदेखि टाढा,जंगलको बिचभागमा अवस्थित छ । प्राकृतिक सौन्दर्यले युक्त यस ठाउँमा परापूर्वकालमा ऋषिमुनिहरुले तपस्या गरेर ज्ञान आर्जन गरेका तथ्यहरु यहाँ अहिलेसम्म पनि देख्न सकिन्छ ।

यस्तो प्राचिन र रमणीय स्थानमा तनाव व्यवस्थापन, मानसिक र शारीरिक स्वास्थ्यका लागि उपयोगी मानिएको ध्यान केन्द्र निर्माण गरिएको छ ।

यहाँ स्वर्गद्धारी महाप्रभुका उत्तराधिकारी कपिलानन्द स्वामीले विसं १९७० देखि १९७५ सम्म तपस्या गरेको स्थान,कुटी,साधनास्थल र हवन कुण्डको भग्नावशेष सहितका संरचनाहरुको अवलोकन गर्न सकिन्छ ।

गण्डकी प्रदेश सरकारको रु ५० लाख र प्रवासमा रहेका विमका स्थानीयहरुको रु २५ लाख सहयोगमा ध्यान केन्द्रका लागि पूर्वाधार निर्माण गरिएको छ ।

ध्यान केन्द्रका अध्यक्ष नबिन जुग्जालीका अनुसार पूर्वाधार विकास कार्यालय म्याग्दीमार्फत प्राप्त भएको रु ५० लाखको बजेटले ध्यान केन्द्र स्थल वरपर घेराबार गर्ने, सार्वजनिक शौचालय, हवन कुण्ड र पक्की पर्खाल निर्माण गरिएको छ । त्यसैगरी विमका वासिन्दाहरुले देश विदेशबाट पठाएको रु २५ लाख रकमबाट गोलघर (ध्यान केन्द्र)को निर्माण कार्य सम्पन्न भएको छ ।

“परापूर्वकालमा ऋषिमुनिहरुले प्रभुचेला धुरीमा तपस्या गरेर ज्ञान आर्जन गरेका विभिन्न अध्ययनबाट तथ्य पहिचान भएका छन् । यस क्षेत्रको संरक्षण, प्रवर्द्धनसँगै पूर्वाधार निर्माणलाई तीव्रता दिएका छौँ”, अध्यक्ष जुग्जालीले भन्नुभयो ।
शान्त र एकान्त वातावरणमा रहेको यो स्थल प्राकृतिक दृश्यावलोकनका लागि समेत अत्यन्त उपयुक्त रहेको यहाँ पुग्नेहरुले बताएका छन् ।

Leave a Reply