मन लगाएर काम गर्ने हो भने के हुँदैन भन्ने भनाइ अहिले बेनी नगरपालिका वडा नं २ बगरफाँटको कोटखोला बगर र टाकुराको खरबारीलाई हेरे चरितार्थ हुन्छ ।
तीन वर्षअघिसम्म कोटखोला बगरको ढुङ्गे जमिन र टाकुराको रुखो खरबारी पौरखी किसानको मेहनतले अहिले ‘पैसा फल्ने’ जमिन बनेको हो । सिरु र झाडीले भरिएको गेग्य्रान जग्गा अहिले जता हेर्यो उतै केराघारीले हराभरा छ ।
लामो समय जापान बसेर गाउँ फर्केपछि टाकुराको डाँडो र कोटखोलाको बगरमा केरा खेती गर्नु भएका दीपक मल्ल अहिले फस्टाएका केराका घरी र त्यसबाट प्राप्त भएको आम्दानीले मख्ख हुनुहुन्छ ।
खेर गएको कोटखोलाको बगरलाई खनजोत गरी प्राङ्गारिक मल हालेर तीन वर्षअघि तीन सय केराका बिरुवा लगाइ सुरु गरेको खेती अहिले केराघारीको जंगल बनेको स्थानीय भीमबहादुर कार्कीले बताउनुभयो ।
“खरबारी र बगरमा केरा खेती गरेको छु, तीनसय बोटमा केरा पसाएको छ । पसाएको केरा बोटमा नै पकाएर विक्री गर्ने गरेको छु” मल्लले भन्नुभयो “समय समयमा सिंचाइ र मल पु-याउन सक्ने हो भने राम्रो उत्पादन हुन्छ र फाइदा पनि प्रशस्तै आउँछ ।”
तीन दशक जापान बसेर गाउँ पर्किए पछि मल्लले आफ्नै घर वरिपरिको जग्गामा केरा खेती,माछा र कुखुरा पालन गर्नुका साथै कुटानी पिसानीको मिल समेत संचालन गर्दै आउनुभएको छ । घरमै बसीबसी मासिक रु डेढलाख हाराहारीमा आम्दानी गर्दै आउनुभएका ६१ वर्षिय मल्ल सामाजिक काममा समेत उत्तिकै सक्रिय हुनुहुन्छ । उहाँकै नेतृत्व र पहलकदमीमा वर्षौदेखि खानेपानीको समस्या झल्दै आएको बगरफाँट गाउँमा एकघर एकधारा खानेपानी आयोजना सम्पन्न भएको छ ।
सरल र मिलनसार स्वभावका मल्लले गाउँका युवाहरुलाई विदेश जाने होइन परिश्रम गर्न जान्ने हो भने आफ्नै गाउँठाउँमा नै प्रशस्तै आम्दानी गर्न सकिन्छ भन्ने गतिलो सन्देश दिनुभएको स्थानीय राजु रिजाले बताउनुभयो ।
मल्लको केरा बगैंचा र माछा पालन हेर्न सदरमुकाम बेनी बजार लगाएतका ठाउँहरुबाट मानिसहरु आउन थालेका छन् । बिहानदेखि साँझसम्म आफ्नै माटोमा श्रम गरिरहनुभएका मल्लबाट यहाँ आउने मानिसहरु प्रभावित भएर फर्कने गरेका छन् ।
“आर्थिक रुपले सम्पन्न र सबै कुराबाट पूर्ण भएर पनि मल्ल जीले गर्नुभएको परिश्रम हामी सबैका लागि प्ररणादायी बनेको छ । अहिलेका युवा पुस्ता पैस कमाउन विदेशको विकल्पै छैन भन्छन्,गाउँघरका सम्भावनाहरुमा उनीहरुको आँखै लाग्दैन” मिलनचोक पर्वतबाट केराको बगैचा हेर्न टाकुरा आउनुभएका चक्र आचार्यले भन्नुभयो ।
अन्य कृषि बालीको तुलनामा कम मेहनतमै राम्रो आम्दानी लिन सकिने भएकाले बगरफाँट र खबराका कृषकहरु पछिल्लो समय केरा खेतीतर्फ आकर्षित भएका छन् ।
केरा खेतीका लागि उपयुक्त वातावरणसँगै बजारको पनि समस्या नदेखिएकाले धान खेती हुने जमिन मासेर यहाँका कृषकहरुले केरा खेती सुरु गरेका हुन् ।
थोरै लगानीमा पनि एक्लै गर्न सकिने र रोपेपछि लामो समयसम्म आम्दानी लिन सकिने भएकाले केरा खेतीमा लागेको बगरफाँटका अर्का कृषक खिमबहादुर कार्कीले बताउनुभयो ।
अन्य कृषि बाली जस्तो जोखिम नहुने र परिवारसँग घरमा बसेर राम्रै आम्दानी गर्न सकिने भएकाले केरा खेतीबाट सन्तुष्ट रहेको र आगामी दिनमा केरा खेतीलाई बढाउँदै लैजाने उहाँको तयारी छ ।
धान, गहुँ, मकै बालीको विकल्पमा यहाँका कृषकले खेतका गह्रा,पाखो बारी र खोला बगरमा व्यावसायिक रुपमा केरा खेती गरेर आयआर्जन गर्ने माध्यम बनाएका हुन् । अन्नबाली जस्तै धेरै मिहिनेत र श्रम खर्च गर्नु नपर्ने र आम्दानी पनि बढी हुने भएकाले धान फल्ने खेतमा केरा खेती गरिएको कृषकहरुले बताएका छन् ।