पुरानै नतिजा दोहोर्‍याउन नसकेपछि नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका मुख्य प्रशिक्षकमा मोन्टी देसाईलाई निरन्तरता नदिने निर्णय गरेको छ।

क्यानले उनलाई सन् २०२३ देखि दुई वर्षका लागि मुख्य प्रशिक्षक रहने गरी नियुक्त गरेको थियो। तर, मोन्टी सम्झौता लम्बाएर चार वर्षमा पुर्‍याउन चाहन्थे। यद्यपि, एकदिवसीय मान्यता गुम्ने खतरासँगै दोस्रोपल्ट एसिया कप छनोट र इमर्जिङ टिम्स एसिया कप खेल्ने अवसर गुमाएसँगै उनलाई क्यानले बिदा दिएको हो।

‘उहाँलाई दुई वर्ष कार्यकाल रहने गरी नियुक्त गरिएको हो। उक्त सम्झौता समाप्त भैसकेको छ,’ क्यानका प्रवक्ता छुम्बी लामाले भने, ‘उहाँले दिनुभएको योगदानलाई धन्यवाद दिँदै सम्झौता नवीकरण नगर्ने निर्णय गरेका हौं।’

मोन्टीले सन् २०१६ मा नेपाली यु–१९ राष्ट्रिय टोलीसँग ब्याटिङ परामर्शदाताका रूपमा काम गरेका थिए। त्यसको दुई वर्षपछि नेपाली सिनियर टोलीले पहिलोपल्ट एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको हो। तर, चार वर्ष (कोभिड महामारीका कारण एक वर्ष थप भएको) का लागि पाएको उक्त मान्यता धरापमा परेसँगै क्यानले मोन्टीलाई नै मुख्य प्रशिक्षक बनाएर नेपाली टोली सुम्पिएको थियो। मोन्टीको आगमनपछि नेपाली क्रिकेटमा सुखद नतिजा पनि आए। उनको प्रशिक्षणमा नेपालले आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ का अन्तिम  १२ मध्ये ११ खेल जितेको थियो।

यससँगै नेपालले चार वर्षका लागि एकदिवसीय मान्यता मात्रै जोगाएन विश्वकप छनोटसमेत खेल्यो। उनकै प्रशिक्षणमा घरेलु मैदानमा सन् २०२३ मा आयोजना भएको एसिसी प्रिमियर कपको फाइनलमा संयुक्त अरब इमिरेट्स (युएई) लाई हराउँदै नेपालले एसिया कपमा स्थान बनाएको थियो।

यससँगै पहिलोपल्ट भारत र पाकिस्तानविरुद्ध खेल्ने नेपाली खेलाडीको सपना पनि पूरा भएको थियो। त्यो भेटमा नेपाल भारतसँग १० विकेट र पाकिस्तानसँग २३८ रनले पराजित भए पनि नेपाली टोलीको प्रदर्शनले विश्व क्रिकेट जगतको ध्यान आकर्षित गर्‍यो।

गत वर्ष नेपालले उनकै प्रशिक्षणमा छनोट चरण पार गर्दै सन् २०१४ पछि पहिलोपल्ट आइसिसी टी ट्वान्टी विश्वकपसमेत खेल्यो। तर, अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजनामा सम्पन्न विश्वकपमा नेपाल समूहचरणबाटै बाहिरिएको थियो। बाङ्लादेशसँग २१ रन र नेदरल्यान्ड्ससँग ६ विकेटले नेपाल पराजित भएको थियो।

तर, दक्षिण अफ्रिकाविरुद्ध भने जित संघारमा पुगेर पनि नेपाली टोली पराजित हुन पुग्यो। त्यो खेलको नतिजा नेपालले एक रनले सुम्पिएको थियो। श्रीलंकासँगको खेल वर्षाका कारण रद्द भएको थियो। त्यो विश्वकपसँगै मोन्टीलाई हटाउने चर्चा चलेको थियो। तर, लिग–२ का खेललाई मध्यनजर गर्दै तीन महिना सम्झौता थपिएको थियो।

मोन्टीसँगको सम्झौता गत डिसेम्बरमा नै सकिएको हो। मोन्टीको प्रशिक्षणमा पछिल्ला समय नेपाली टोलीको प्रदर्शन सुखद छैन। लिग–२ मा नेपालले १२ खेल खेलेको छ। तीमध्ये आठ खेलमा पराजय बेहोरेको छ। समान दुई जित र नतिजाविहीन छ। आठ राष्ट्र सम्मिलित लिग–२ मा नेपाल ६ अंक जोड्दै सातौं स्थानमा छ।

नेपाली टोलीले टी ट्वान्टी फम्र्याटमा पनि राम्रो प्रदर्शन गर्न सकेको छैन। ओमानमा गत वर्ष सम्पन्न एसिसी प्रिमियर कपमा नेपाल युएईसँग ६ विकेटले पराजित हुँदै सेमिफाइनलबाट बाहिरिएको थियो।

तेस्रो स्थानका लागि भएको खेलमा पनि नेपाल हङकङसँग चार विकेटले पराजित भएको थियो। यससँगै नेपालले टेस्ट राष्ट्रसँग हुने एसिया कप र सोही टेस्ट राष्ट्रको ‘ए’ टोलीसँग हुने इमर्जिङ टिम्स एसिया कप खेल्ने अवसरसमेत गुमाएको थियो। त्यसैले उनलाई निरन्तरता दिन नसकिएको प्रवक्ता लामाले उल्लेख गरे। ‘प्रदर्शनका आधारमा नै निर्णय गरिएको हो। अब उहाँलाई बिदा गरेसँगै क्यानले आगामी प्रतियोगितालाई मध्यनजर गर्दै नयाँ प्रशिक्षक नियुक्त गर्नेछ। यो प्रक्रिया चाँडै सुरु हुन्छ,’ उनले भने।

Leave a Reply