चैतमा फुल्नुपर्ने लालीगुराँस म्याग्दीका लेकाली जंगलमा माघ पहिलो सातादेखि नै फुल्न थालेपछि स्थानीय वासिन्दा आश्चर्यमा परेका छन् ।

जिल्लाका अन्नपूर्ण,धवलागिरि,मंगला,रघुगंगा र बेनी नगरपालिकाका लेकाली जंगलमा चैत वैशाखमा फुल्नु पर्ने लालीगुराँस र काफल,ऐसेलु,चुत्रो जस्ता जंगली फलफूल दुई महिना अघि नै फुल्न र फल्न थालेपछि स्थानीय आश्चर्यमा परेका हुन् ।

घरनजिकै जंगलमा हुर्किएको लालीगुराँस माघ पहिलो सातादेखि नै फुल्न थालेपछि अन्नपूर्ण गाउँपालिका ५ शिखका चित्रबहादुर तिलिजा आश्चर्यमा पर्नुभएको छ ।

“वैशाखमा फुल्ने गुराँस माघमै फुलिसक्यो”, उहाँले भन्नुभयो, “के भएर यस्तो भएको हो बुझ्नै गाह्रो भो, गुराँसजस्तै अन्य बोटविरुवामा पनि दुई महिनाअगावै पालुवा पलाउन थालेको छ । चैत बैशाखमा फल लाग्ने जंगली फलहरुसमेत माघमा नै फल्न सुरु गरेका छन् ।”

त्यसैगरी चैत र वैशाखमा झर्ने रूखका पात समेत माघ महिनामा नै झर्न थालेका र बसन्त ऋतु नै नआई प्राकृतिक परिवर्तन देखिन थालेको स्थानीयले बताएका छन् ।

फागुनदेखि वैशाखसम्म गुराँस फुल्ने मुख्य याम हो । गुराँस फुल्ने याम सुरु नहुँदै जंगलमा गुराँस फुलेको छ । उच्च लेकाली क्षेत्रहरुमा समेत माघ दोस्रो साता लागिसक्दा पनि हिमपात भएको छैन । हिउँदे वर्षा नहुँदा हिउँदेबाली प्रभावित भएको किसानहरुले बताएका छन् ।
यहाँका किसानहरुले प्रकृतिमा आएको परिवर्तनका आधारमा बाली लगाउने गर्दछन् । दुई महिनापछि हुने प्राकृतिक परिवर्तन दुई महिनाअगावै देखिएपछि किसान दोधारमा छन्। “महिनाका आधारमा बाली लाउने बेला भएको छैन्,बोटबिरुवामा देखिएको परिवर्तनलाई आधार मान्ने हो भने बाली लगाउन ढिलो भइसक्यो ।” मंगला गाउँपालिका ४ का केशव सापकोटाले बताउनुभयो । बारीको डिलमा वैशाखमा जस्तो हरियो मुना पलाउन थालेको उहाँको भनाइ छ ।समयअगावै फुलेको गुराँसको फूल कच्रिएको छ । गुराँसका फूल साना छन् ।
केही वर्षयता प्रकृतिमा अस्वभाविक परिवर्तनहरु देखिन थालेको किसानहरुले बताएका छन् । “माघ महिनामा नै अहिले तापक्रम बढेको छ । पानी र हिउँ परेकै छैन । के कति करणले यस्तो भएको हो बुझ्न सकिएको छैन्”, बेनी नगरपालिका ३ का कर्णबहादुर घर्तीले भन्नुभयो “दुई÷चार वर्षयता हामी यो परिवर्तनलाई निकै विचार गरेर हेरिरहेका छाैँ।”

विगतका वर्षहरूमा भन्दा यस वर्ष छिटो फुलेको लालीगुराँसको प्राकृतिक रङ्गमा समेत परिवर्तन देखिएको रघुगङ्गा गाउँपालिका–४ दग्नामका रुकबहादुर गर्बुजाले बताउनुभयो ।

विश्वमा पाइने लालीगुराँसका ४२ प्रजातिमध्ये म्याग्दीका जङ्गलमा १६ प्रजातिका गुराँस पाइन्छन् भने नेपालमा ३२ प्रजातिका गुराँस पाइने डिभिजन वन कार्यालय म्याग्दीले जनाएको छ ।

Leave a Reply