म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकमका युवा मौलिक राधाकृष्ण नाच संरक्षणमा जुटेका छन् ।  ताकम धार्मिक नाट्य समूहले लोप हुन लागेको राधाकृष्ण नृत्यको कलालाई नयाँ पुस्तालाई हस्तान्तरण गरेका हुन् । राधाकृष्ण नाचका कलाकार गोपाल आचार्यले नयाँ पुस्तालाई यो नाचको कला र सिप हस्तान्तरण गरेर संरक्षणको प्रयास भएको बताए ।

उनका अनुसार ताकममा मानव वस्तिरहेदेखिनै राधाकृष्ण नाच देखाउने चलन छ ।  कलाकारहरु वृद्ध भएका र केहीको निधन भएपछि राधाकृष्ण नाच संकटमा परेको थियो । ताकम र धवलागिरी गाउँपालिकाका साथै जिल्ला सदरमुकाम बेनीमा हुने सभा, सभारोह, मेला महोत्सवमा प्रर्दशन हुन थालेको छ । यो नाच म्याग्दीको ताकममा मात्र नाच्ने गरिन्छ ।

राधाकृष्ण नाचका लागि समूहले गितको रचना गरेका छन् । यो नाचका लागि हिन्दुधर्मवलम्बिहरुको भगवान शिव, पार्वती, उनीहरुका छोरा गणेश, राधा र कृष्ण अनी लाखे पात्र हुन्छन् । परापूर्वकालमा देवीदेवता र भगवानको माया प्रेम, जिवनमा आइपर्ने सुःख र दुःखका क्षणलाई गित मार्फत व्यक्त गरेर नाचमा अभिनय गरिन्छ । सबै कलाकार पुरुष हुन्छन् । पार्वती र राधाको भूमिका पनि पुरुष कलाकारले निभाउँछन् ।

 

अहिलेको जस्तो सूचना प्रबिधिको बिकास नभएको अवस्थामा समाजमा मनोरञ्जनका लागि चाडपर्व र मेलामा राधाकृष्ण नाच देखाउने गरिएको थियो । बिशेष सभा समारोह र मेला महोत्सवमा पनि ताकमको राधाकृष्ण नृत्य आकर्षण बन्न थालेको छ । कलाकारहरुका लागि पोषाक र बाद्यबाधनका सामग्रीको आवश्यकता छ । समूहको नियमित आम्दानीको स्रोत छैन् ।

सरकारी स्तरबाट सहयोग आवश्यक रहेको कलाकार गोविन्द पौडेलले बताए ।  कलाकारहरु विदेशिने र बसाईसराई गर्नु राधाकृष्ण नाच संरक्षणको लागि चुनौति बनेको छ । धवलागिरी गाउँपालिका–७ का वडा अध्यक्ष अशोक खत्रीले राधाकृष्ण नाच संरक्षण र पुस्तान्तरणका लागि पहल गर्ने प्रतिवद्धता जनाए । संस्कृति संरक्षणको साथै पर्यटन प्रर्वद्धन गर्ने उनले बताए

 

Leave a Reply