विपक्षी दलहरूले सरकारले ल्याएको अध्यादेश अस्वीकार गर्ने भएका छन्। बिहीबार (आज) प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) को संसदीय दलको कार्यालयमा बसेको विपक्षी दलहरूको बैठकले यस्तो निर्णय गरेको हो।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले सात दलहरू सहभागी भएको बैठकले भोलिदेखि सञ्चालन हुने संसद् अधिवेशनमा जनसरोकारका विषयहरू एकमत भएर उठाउने निर्णय गरेको उल्लेख गरे। बैठकले अध्यादेश सरकारले गलत विधि र प्रक्रियामार्फत ल्याएको र यसलाई अस्वीकार गर्ने निर्णय गरेको जानकारी समेत उनले दिएका छन्।
उनका अनुसार विपक्षी दलहरूले संसद् बोलाउने बेलामा नै अध्यादेश ल्याउनु गलत मनसाय रहेको निष्कर्ष निकालेको छ। उनले भने, ‘अध्यादेशका बारेमा सरकारले जसरी सदनमा ल्याएर सबै कानूनहरू व्यवस्थित तरिकाले अघि बढाउनुको सट्टा सरकारले सदन बोलाउने बेलामा नै जसरी अध्यादेश ल्याएको छ, यो प्रक्रियाको हिसाबले पनि बेठिक छ, सँगसँगै एउटा अध्यादेश, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन त सरकारले अध्यादेशमा छिटो गर्ने भनेको छ, तर त्यो त संसद्को अर्थ समितिमा छलफलमै छ।’
उनले थपे, ‘त्यहाँबाट छलफल गरेर पारित गर्दा झन छिटो हुन्थ्यो। सरकारले त्यसलाई पनि मिनिमाइज गरेर अध्यादेश ल्याएको छ। विधि, प्रक्रियाको हिसाबले छिटो गर्ने भन्ने छ त्यसमा बेठिक भयो। त्यसको अस्वीकार गर्नुपर्छ भन्ने सर्वसम्मत निर्णय भएको छ।’ प्रमुख सचेतक पाण्डेले सरकार अध्यादेशका माध्यमबाट जाने कुरा बेठिक भएको निष्कर्ष निकालेको बताए। सदनलाई सशक्त ढंगबाट जनताका आवाज मुखरित गर्ने ठाउँ बनाउनुपर्नेमा बैठकको जोड छ। सरकारबिरुद्व आवश्यक परे सडक आन्दोलनको तयारीसमेत गर्ने चेतावनी उनको छ।