राष्ट्रिय बाणिज्य बैंकको ६०औँ बार्षिकोत्सवको अवसरमा बेनी शाखाले उत्कृष्ट कारोबार गर्ने ग्राहकलाई सम्मान सहित विभिन्न कार्यक्रम गरी मनाएको छ । बार्षिकोत्सवको अवसरमा बिहिबार शाखा कार्यालयम बेनीमा आयोजित कार्यक्रममा २ जना नियमित कारोबार गर्ने सेवाग्राही सम्मानित भएका छन् ।
सम्मानित हुनेमा ब्यवसायीको तर्फबाट बेनी नगरपालिका-७, संगमचोकको धर्मनारायण ईन्टरप्राईजेज र उत्कृष्ट कारोबारकर्तामा रघुगंगा गाउँपालिका-२ भगवती घर भई हाल यूएईमा रहनुभएका सफल नेपाली ब्यवसायी ठक्करबहादुर कार्की (प्रकाश) रहनुभएको छ ।
कार्यक्रमका प्रमुख अतिथि म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठ, बिशिष्ट अतिथि होटल याक गलेश्वरका सञ्चालक ताराप्रसाद आचार्य (बाबुराम), नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष हरिकृष्ण गौतम, बैंकर्स संघ म्याग्दीका सचिव नारायण सापकोटाले शाखामा कार्यरत कर्मचारीको ग्राहकमैत्री ब्यवहार, छिटोछरिटो र आधुनिक प्रविधिको प्रयोगले समेत सेवा लिन सहज भएको बताउनुभएको थियो ।
प्रमुख अतिथि श्रेष्ठले वित्तिय संस्थाबाट ग्राहकमैत्री वातावरण बनाउनुपर्ने अवस्थामा राष्ट्रिय वाणिज्य बैंकबाट समेत सिक्न सकिने बताउनुभयो । राष्ट्रिय बाणिज्य बैंक बेनी शाखाका प्रवन्धक नवराज ढुंगानाले आधुनिक सेवा प्रवाहसँगै वित्तिय साक्षरता, समुदायस्तरमै पुगेर घुम्ती सेवामार्फत सामाजिक सुरक्षाभत्ता वितरण समेत गरिएको बताउनुभयो ।सेवाग्राहीलाई शाखामा समेत सहजै र घरमै बसेर समेत सेवा लिने गरी वित्तिय साक्षरता सहितका अभियानहरुलाई निरन्तरता दिने बताउनुभयो ।