छोटो भएका तथा पूराना कपडा, जुत्ता, चप्पल तपाईं के गर्नुहुन्छ? मन नपरेका कपडा फोहोरसँगै फालिदिनुहुन्छ, लगाउनुहुन्छ कि दराजमा थन्क्याइ दिनुहुन्छ? यदी अब कसैले प्रयोग गरोस् भन्ने चाहनुहुन्छ भने बेनी नगरपालिका वडा नं ६ को वडा कार्यालयमा रहेको ‘कपडा बैंक’ लाई सहयोग गर्न सक्नुहुने छ।

विगत दुई बर्षदेखि वडा कार्यालयले सञ्चालन गरेको कपडा बैंक आर्थिक अवस्था कमजोर भएकालाई बरदान सावित भएको छ । आर्थिक अभावकै कारण लगाउने कपडा किन्न नसक्ने गरीब, बिपन्न परिवार दैनिक कपडा बैंकमा पुगेर कपडा लैजाने गरेका छन् ।

वडाभित्र विपन्न र गरिबलाई पहिलो प्राथमिकता दिएर स्थापना गरिएको बैंकले जाडो महिनामा न्यानो कपडा वितरण गरेको वडा अध्यक्ष कृष्णसिङ बानियाँले बताउनुभयो ।

घरमा प्रयोग नभएका लत्ताकपडा संकलन गरी खरीद गर्न नसक्ने गरीब परिवारलाई निःशुल्क उपलब्ध गराउने उद्देश्यले वडाले स्थापना गरेको ‘कपडा बैंक’मा प्रयोग योग्य लत्ताकपडालाई परिचय नखुल्ने गरी वितरणलाई प्राथमिकता दिएको वडा अध्यक्ष बानियाँले बताउनुभयो ।

यो अभियानमा आवश्यक गर्नेले बैंकमा गएर आफू खुसी रोजेर लुगा लान सक्छन्। ‘लत्ताकपडा चाहिन्छ, यहाँबाट लिनुहोला। पुराना, सफा, कपडा यहाँ छाडिदिनुहोस्’ भन्ने अभियान अन्तरगत वडा कार्यालयले विभिन्न दाताबाट प्राप्त सहयोगले नयाँ कपडा समेत खरिद गरी बिक्री गर्ने गरेको छ ।

वडा कार्यालयमा एउटा कोठा कपडा व्यवस्थापनका लागि मात्रै राखिएको छ।कपडा बैंक गरीबले लैजाने र धनीले दिने सन्देश प्रवाह नहुने गरी सञ्चालन गरिएको वडा कार्यालयले जनाएको छ ।

विशेष गरेर चाडपर्वमा लगाउन सक्ने जाडो मौसमन जिकिंदै गर्दा विपन्न समुदायका मानिसले न्यानो कपडा अभावमा कष्ट व्यर्हाेनु नपरोस् भन्ने उद्देश्य रहेको वडा अध्यक्ष बानियाँको भनाई छ । कपडा बैंक स्थापना भएपछि प्राकृतिक विपत्तिमा परेका, बेवारिसे अवस्थामा भेटिएका, गरीब तथा अति विपन्न परिवारलाई ठूलो राहत पुगेको छ ।

Leave a Reply