म्याग्दीको बेनी नगरपालिका-६ मा सृष्टिको उद्गम विन्दु अथवा महिलाको अस्तित्वसँग जोडिएको पाठेघरको मुखको क्यान्सर जाँच (स्क्रिनिङ) र आङ खस्ने समस्याको निःशुल्क जाँच शिविरमा डेढ सयभन्दा बढी महिला लाभान्वित भएका छन् ।

बेनी नगरपालिकाको आयोजनामा वडा नं ६ को कार्यालयमा आयोजित शिविरमा १ सय ८७ जना महिलाको आङ खस्ने समस्याका साथै पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ गरिएको बेनी नगरपालिका स्वास्थ्य शाखाकी लिला गौतमले बताउनुभयो ।

स्क्रिनिङ गरिएका मध्येमा पाठेघर जोखिममा रहेका १९ जना र आङ खस्ने समस्याको जोखिममा १७ जनामा भेटिएपछि थप उपचारका बारेमा जानकारी गराइएको थियो।

बेनी अस्पतालका डा.रबी गुरुङको नेतृत्वमा भएको चेकजाँचमा सदरमुकाम बेनीबजार नजिकै रहेको वडाका महिलाहरुमा समेत पाठेघर तथा अन्य जटिल समस्या देखिएको भन्दै नियमित चेकजाँच सहितको शिविर सञ्चालन गर्नुपर्ने अवस्था देखिएको वडा अध्यक्ष बानियाँले बताउनुभयो ।

महिलामा सचेतनाको अभावका कारण आफ्नै जटिल समस्या समेत लुकाउने गरेको बताउँदै वडास्तरमा स्वास्थ्य शिविरहरु नगरपालिका सहित अन्य संघसंस्थाको सहयोगमा समेत गरिने छ ।

शिविरमा आएका महिलाको चेकजाँचका क्रममा पाठेघरमा खासगरी मासु पलाउने, पाठेघरको मुखको क्यान्सर, डिम्बाशय ट्युमर, डिम्बाशयमा सिस्ट (डल्लो) पलाउने, सेतो गनाउने पानी बग्ने, पाठेघरको संक्रमणजस्ता समस्या पहिचान गरिएको थियो ।

महिलामा पाठेघरको मुख, आङ खस्ने समस्याको पहिचान गरी तत्काल उपचारमा सहजता होस् भन्ने उद्देश्यले शिविरको आयोजना गरिएको थियो ।

 

Leave a Reply