म्याग्दीका सुजनप्रसाद गौतमको अनुुसन्धानकर्मीहरुको टोलीले सन् २०२४ को अप्रिल ८ तारिकका दिन अमेरिकामा भएको सूर्यग्रहणको प्रभावका विषयमा गरेको अध्ययनको प्रतिवेदन सार्वजनिक भएको छ ।
युनिभर्सिटी अफ आलाबामा इन हन्टसभिलमा बिधाबारिधि गरिरहेका मालिका गाउँपालिका–६ दरवाङका गौतमको टोलीले अमेरिकामा रहेका ५१ वटा जिपिएस स्टेसनको तथ्याङ्क लिएर उक्त ग्रहणको बेलामा आयोनोस्पेरमा भएका परिबर्तनहरु अध्ययन गर्नुभएको थियो ।
आयोनोस्फियर सूर्यको विकिरणले विभिन्न अणुहरूलाई आयनित बनाउने पृथ्वीको वायुमण्डलको एक तह हो । आयोनोस्फियरले आयनित कणहरुले लामो दुरीसम्म रेडियो तरङगहरुको परावर्तन गर्ने आवेशित कणहरू (इलेक्ट्रोन र आयनहरू) उत्पन्न गराउछ । पृथ्विका प्राय सञ्चार माध्यमहरू आयोनोस्फियरमा धेरै हदसम्म निर्भर हुुन्छन् । विशेष गरी रेडियो सञ्चारमा आयोनोस्फियरको महत्वपूर्ण भूमिका हुुन्छ ।
उक्त अनुसन्धानमा गौतमलाइ इथोपियाका आटिर्स मुलुए, नेपालका अशोक शिल्वाल र डा. बिनोद अधिकारी र फिन्ल्याण्डका डा. योहेन्नेअस गिटाच्यु ले सहयोग गर्नुभएको थियो । उक्त अनुसन्धानले ग्रहणको बेलामा अमेरिकन क्षेत्रमा आयोनोस्पेरिक घनत्व ५० प्रतिशत बढिसम्म घटेको र आयोनोस्पेअरमा उच्च प्रभाव पारेको देखाएको छ ।
“पुर्ण ग्रहणको बाटोमा पर्ने स्थानहरुमा यसको असर अझै बढि पाइएको छ,” गौतमले भन्नुभयो “अध्ययनमा अधिकतम ग्रहणको समय र अधिकतम आयोनोस्पेरिक घनत्वको गिरावतको समयबिचमा आठ देखि ८० मिनेटसम्म समय–असमानता (ढिलाइ) पाइएको छ ।”
उक्त ढिलाइ कम ग्रहण भएका स्थानहरूमा अझ बढी पाइएको अनुुसन्धान प्रतिवेदनमा उल्लेख छ । यो “समय–असमानता’ ग्रहण का कारण आयोनोपेअरमा पर्ने असरको बैज्ञानिक नमुना निर्माणका लागि निकै महत्वपुर्ण हुने अपेक्षा गरिएको छ । अध्ययनमा अमेरिकाको अक्षांश, स्थानिय समय र ग्रहणको परिमाण अनुसार आयोनोस्पेरिक घनत्वको गिरावतमा फरकपना देखिएको छ ।
गौतमको अनुसन्धानपत्र नेदरल्याण्डबाट प्रकाशित हुने अन्तराष्ट्रिय जर्नल “एस्ट्रोफिजिक्स एण्ड स्पेस साइन्स“ मा “आयोनोस्पेरिक रेस्पोन्स टु द ०८ अप्रिल २०२४ टोटल सोलार इक्लिप्स ओभर युनाइटेड स्टेट्सः अ केस स्टडी“ शिर्षकमा प्रकाशित भएको छ ।
“यस्तै अनुसन्धानहरुबाट संकलित तथ्यहरूको प्रयोग गरेर आगामी खगोलीय घटनाहरूको असर अध्ययनलाई अझै प्रभावकारी बनाउन सकिन्छ,” गौतमले भन्नुभयो । गौतमको अनुसन्धान समुहले यसअघि पनि पहिलोपल्ट नेपालमा भएका दुइ ग्रहणहरुले नेपालको आयोनोस्पेयरमा पारेको असर अध्ययन गर्नुभएको थियो ।
उहाहरुको उक्त अनुसन्धानपत्र “अमेरिकन जियोफिजिकल युनियन“ ले प्रकाशित गर्ने अन्तराष्ट्रिय जर्नल “रेडियो साइन्स” मा “ग्लोबल पोजिसनिङ सिस्टम अब्जरभेसन्स अफ आयोनोस्पेरिक टोटल इलोक्ट्रोन कन्टेन्ट भेरियसन्स डिउरिङ १५ जनवरी २०१० एण्ड २१ जुन २०२० सोलार इक्लिप्स” शिर्षकमा प्रकाशित छ ।
अप्रिल ८, २०२४ मा अमेरिकामा भएको सूर्य ग्रहण एक महत्वपूर्ण खगोलीय घटना थियो । ग्रहणको समयमा अमेरिकाको धेरै भागहरूमा आकाश केही समयको लागि अँध्यारो भएको थियो, जसले मानिसहरूलाई एक अद्वितीय दृश्यको अनुभव गरायो । ग्रहणको सुरुवातदेखि अन्त्यसम्मको अवधि लगभग दुईदेखि तीन घण्टा थियो । यस ग्रहणलाइ “ग्रेट नर्थ अमेरिकन टोटल सोलार इक्लिप्स” नाम दिइएको थियो ।
अन्तरिक्ष विज्ञानमा अनुसन्धान गर्ने अनुसन्धानकर्ताहरुका लागी भने शुर्य ग्रहण एउटा अनुसन्धान गर्ने महत्वपुर्ण प्राकृतिक प्रयोगशाला हो ।
ग्रहणको समयमा पृथ्वीको आयोनोस्फियरमा विभिन्न परिवर्तनहरू देखापर्छन्, जसले हाम्रो रेडियो सञ्चार प्रणालीमा पनि महत्वपूर्ण असर पार्छ । सूर्यको प्रकाशले आयोनोस्फियरको इलेक्ट्रोन घनत्वलाई कायम राख्छ । विशेष गरी एफ–रिजनमा ग्रहणको समयमा सूर्यको प्रकाश कम हुँदा आयोनोस्फियरमा रहेको इलेक्ट्रोनहरूको संख्या घट्छ ।
यसले आयोनोस्फियरिक विकिरणलाई कमजोर बनाउँछ । जसले रेडियो तरंगहरूको परावर्तनमा असर पुर्याउँछ । यसका कारण उच्च आवृत्तिका रेडियो तरंगहरू (एच. एफ. रेडियो) पर्याप्त रूपमा परावर्तित हुन सक्दैनन्, जसले लामो दुरीका रेडियो सञ्चारहरूमा अवरोध ल्याउँछ ।
यसका साथै, आयोनोस्फियरको अस्थिरताले जीपीएस सिग्नलहरूको गति र मार्गमा अबरोध ल्याउँछ, जसले जीपीएसको दुरी घटाउँछ । सेटलाइटहरुबाट प्राप्त हुने सिग्नलहरु पनि कमजोर हुन सक्छन्, जसले सिग्नल ड्रप हुने समस्या उत्पन्न गर्दछ ।
ग्रहणको समयमा पृथ्वीको चुम्बकीय क्षेत्रमा अस्थायी परिवर्तनहरू पनि देखिन सक्छन्, जसले भू–चुम्बकीय प्रणालीहरूमा असर पार्न सक्छ । साथै, वायुमण्डलीय तापक्रममा गिरावट हुन सक्छ, जसले वायुमण्डलीय तरंगहरूमा परिवर्तन ल्याउन सक्छ । यी सबै प्रभावहरूले हाम्रो दैनिक जीवनमा रेडियो सञ्चार, नेभिगेसन प्रणालीहरुमा प्रत्यक्ष असर पार्छन् ।