म्याग्दीको मंगला गाउँपालिका-२, लाम्पाटामा अवस्थित मंगला शिक्षा क्याम्पसलाई गणेश पोवीसरा स्मृति कोषको डेढ लाख सहित थप ३ लाख सहयोग जुटेको छ । पश्चिम म्याग्दीको एकमात्रै क्याम्पसको मुद्दती÷अक्षयकोष तथा आर्थिक सङ्कलन अभियानमा समाजसेवी स्वर्गीय गणेशबहादुर र पोविसरा रोकाको स्मृतिमा छोरा मुक्ति रोका र बुहारी टिका रोकाले उक्त सहयोग गर्नुभएको हो ।

क्याम्पसको ‘एक घर एक दान’ अभियानमा अन्तरगत मंगला–१, तुसारेपानीमा क्याम्पसका संरक्षक एवम् मंगला गाउँपालिका अध्यक्ष सतप्रसाद रोका, प्रबक्ता एवम् वडा नं १ का अध्यक्ष एकजित रोका, सञ्चालक समिति अध्यक्ष यामबहादुर थापा,उपाध्यक्ष एवम् अध्यक्षकोष संयोजक योशुदा रोका, क्याम्पस प्रमुख पितमबहादुर थापा लगायतको उपस्थितीमा उक्त सहयोग गर्नुभएको हो ।

सोही अवसरमा स्वर्गीय समाजसेवी बलबहादुर पुनको स्मृतिमा छोरा छकेन्द्र पुन, हरि पुनले ५० हजार सहयोग गर्नुभयो । सोही अवसरमा मंगला–१,कुहुँ हाल काठमाण्डौ निवासी गोरखबहादुर राम्जाली,हदेबी राम्जाली ५० हजार र तेजबहादुर शेरपुञ्जा ५० हजार सहयोग गर्नुभएको छ ।

गाउँपालिकाभित्रका ३७ सय घरधुरीबाट स्वदेश तथा विदेशमा रहेकालाई प्रत्यक्ष तथा भर्चुअल माध्यमबाट क्याम्पसको शैक्षिक कोषमा सहयोग जुटाएर पूर्वकालिन प्राध्यापकलाई तलब सुविधा, क्यूएए प्रक्रियाका पूर्वाधारहरू तयार गर्न, गरिब तथा विपन्न वर्गका विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्न, क्याम्पस र समुदायको सम्बन्ध बलियो बनाउने मंगला शिक्षा क्याम्पसले जनाएको छ । क्याम्पसले १२ लाख सहयोग गर्नेलाई संरक्षक, ७ लाख सहयोग गर्नेलाई सम्मानार्थ संरक्षक, १ लाख सहयोग गर्नेलाई आजीवन सदस्य, ५० हजार सहयोग गर्नेलाई वरिष्ठ सदस्य र ५० हजारभन्दा कम सहयोग गर्नेलाई क्याम्पस सभा सदस्य प्रदान गरेको छ ।

पश्चिम म्याग्दीमा कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई सदरमुकाम वा जिल्लाबाहिर थप अध्ययनका लागि जानुपर्ने अवस्थाको अन्त्य गर्न क्याम्पसको पूर्वाधार अभियानमार्फत संकलित आर्थिकबाट बाबियाचौरकै लाम्पाटामा ३३ रोपनी जग्गासमेत खरिद गरी क्याम्पसको भवन, प्रशासनिक भवन, छात्रावास सहितको संरचना समेत बनेको छ। हाल शिक्षा शास्त्र सङ्कायमा स्नातक तहमा २४० जना विद्यार्थी अध्ययनरत छन्।

Leave a Reply