म्याग्दीको सदरमुकाम बेनीमा जारी आठौं संस्करणको म्याग्दी महोत्सवको अवसर पारेर पवित्र कालीगण्डकी नदीमा जलयात्रा बैशाख महिनासम्म नियमित सञ्चालन गर्ने सकिने भएपनि अनुकुल वातावरण नबन्दा महोत्सवअवधिमै टुंगिने गरेको छ। छोटो दूरीमा रोमाञ्चक जलयात्राको लागि आर्कषक गन्तव्य मानिने कालीगण्डकी नदी र म्याग्दी नदीका विभिन्न स्थानबाट सम्भाब्यता अध्ययन गरिएपनि नियमित सञ्चालनमा जिल्लामा रहेका पर्यटन ब्यवसायीको सक्रियता आवश्यक पर्ने जलयात्राका गाइड सन्तोष गिरीले बताउनुभयो ।
एक दिनमा ४ टोलीसम्म भएपनि बेनी आसपासका क्षेत्रमा विदाको समयमा बैशाखको अन्तिम तथा जेठ महिनाको पहिलो सातासम्म जलयात्रा गर्न सकिने गाइड गिरीको भनाई छ ।
म्याग्दी र कालीगण्डकी नदीमा जलयात्राको प्रचुर सम्भावना रहेको हुँदा गलेश्वर, जलेश्वर हुँदै कालीपुलबाट म्याग्दी र कालीगण्डकी नदीको सङ्गमस्थल तथा पवतको मालढुङ्गासम्म जलयात्राका लागि कालीपुलमा सञ्चालित गण्डकी होटल एण्ड रेष्टुरेण्टका सञ्चालक गम पुनको पहल र सक्रियतामा नेपाल रिभर एक्सपोलर प्रालिले सघाइरहेको छ।
म्याग्दी र पर्वत जिल्लाको सिमाना भएर बग्ने पवित्र कालीगण्डकी नदीमा पर्यटकहरुलाई लक्षित गरेर जलयात्रा सेवा सञ्चालन गरिएको पर्यटन ब्यवसायी पुनले जानकारी दिनुभयो । विभिन्न कम्पनीमार्फत कालीगण्डकी नदीबाट नियमित रुपमा जलयात्रा गर्न सकिने हुँदा स्थानीयस्तरमा रहेका संघसंस्थाहरुले पनि पहल गर्नुपर्ने देखिन्छ ।
कालीगण्डकी नदीमा पानीको छाल, मनोरम दृश्य, झरना, विभिन्न वनस्पति, जलचरको अवलोकन, प्रदूषणरहित हावापानीबाट पर्यटकहरु निकै आकर्षित हुन्छन् । कालीगण्डकी नदीको जलयात्राका साथै पहाडी भूगोल र तटीय क्षेत्रका वस्तीको अवलोकनले थप रोमाञ्चक हुने म्याग्दीबाट पर्वतको नयाँपुल हुँदै स्याङ्जाको मिर्मीसम्म पनि जलयात्रा गर्न सकिन्छ । बेनीबाट मिर्मीसम्म तीन दिनको यात्रामा पुग्न सकिन्छ ।
म्याग्दी र कालीगण्डकी नदीमा दुर्घटनाको जोखिम कम र पानीको बहाव समेत घटेको हुँदा बालबालिकादेखि वृद्धवृद्धासम्मले -याफ्टिङ गरेर रमाउन सक्छन् । पहिलोपटकको जलयात्रा निकै आनन्द र अविस्मरणीय भएको ज्ञानप्रकाश मावि दानाका प्रअ शान्तबहादुर नेपालीको भनाई छ ।
यता यूकेबाट विदामा आउनुभएका समाजसेवी कृष्ण तुलाचनले कालिगण्डकी नदीमा छोटो रुटको जलयात्रा निकै उत्कृष्ट लागेको बताउनुभयो । पछिल्लो समय कालीगण्डकी नदीमा पानीको सतह घट्दै गएको र छाल समेत नभएकाले -याफ्टिङ गर्ने पर्यटकहरुको आकर्षण बढेको छ।
कालीगण्डकी नदीमा -याफ्टिङको प्रवद्र्धन गर्न सकेको खण्डमा आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि पर्यटनको ‘हव’ बनाउन सकिने भएकाले म्याग्दी उद्योग वाणिज्य संघले समेत थप योजना बनाइरहेको संघका अध्यक्ष सुविन श्रेष्ठले बताउनुभयो ।
म्याग्दी र कालीगण्डकी नदीबाट सुरुमा साप्ताहिक तथा पछि नियमित रुपमा -याफ्टिङ सञ्चालनको योजना रहेकाले -याफ्टिङव्यवसायीहरुसँग सहकार्यको तयारी भैरहेको अध्यक्ष श्रेष्ठले बताउनुभयो । म्याग्दीको बेनीदेखि पर्वतको मालढुङ्गा, नयाँपुल हुँदै स्याङ्जाको मिर्मीसम्म -याफ्टिङ गरेर पर्यटकहरु मज्जाले रमाउन सक्ने सम्भावना छ । कालीगण्डकी करिडोर तथा ग्रामीण सडक विस्तार एवं क्रसर उद्योग सञ्चालनले नदीको धार परिवर्तन गर्दा -याफ्टिङ सञ्चालनमा भने कठिनाई भैरहेको -याफ्टिङ व्यवसायीहरु बताउँछन् ।