पछिल्लो समय नेपाल राष्ट्र बैंकलाई तरलता व्यवस्थापन गर्न हम्मेहम्मे परिरहेको छ । वित्तीय प्रणालीमा तरलता थुप्रिएका कारण राष्ट्र बैंकलाई यसको व्यवस्थापन गर्न गाह्रो भएको हो ।
वित्तीय संस्थाहरूमा थुप्रिएको तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले लगातार निक्षेप संकलन उपकरण प्रयोग गरेर पैसा तानिरहेको छ । आजै पनि राष्ट्र बैंकले निक्षेप संकलन बोलकबोलमार्फत ४० अर्ब रुपैयाँ तरलता खिच्दैछ ।
पछिल्लो तीन महिनाको अवधिमै राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट १२ खर्ब रुपैयाँभन्दा बढी (प्रशोचन) तानेको छ । गएको कात्तिकदेखि पुस मसान्तसम्मको अवधिमा राष्ट्र बैंकले १२ खर्ब ७० अर्ब रुपैयाँ बजारबाट खिचेको हो ।
राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत कात्तिकमा ३ खर्ब ४० अर्ब रुपैयाँ रुपैयाँ तानेको थियो । त्यस्तै मंसिरमा ४ खर्ब ५० अर्ब तरलता उठाएको राष्ट्र बैंकले पुसमा ४ खर्ब ८० अर्ब रुपैयाँ तानेको थियो । यसरी तरलता ७ दिनदेखि २१ दिनसम्मको लागि वित्तीय प्रणालीबाट खिचेको राष्ट्र बैंकले जनाएको छ ।
नेपाल राष्ट्र बैंकका सह–प्रवक्ता डिल्लीराम पोखरेलका अनुसार यो रकम निर्धारित समयावधि पूरा भएपछि वित्तीय प्रणालीमा नै फिर्ता गरिन्छ । यसरी बजारबाट पैसा तान्ने र फेरि पठाउने प्रक्रियालाई अल्पकालीन तरलता व्यवस्थापन भनिन्छ । सोहीअनुसार राष्ट्र बैंकले तरलता तानिरहेको छ ।
विदेशी विनिमय सञ्चिति, रेमिट्यान्सलगायतमा बढ्दा बैंकहरुमा तरलता अधिक हुन पुगेको उनको भनाइ छ ।
तर अहिले राष्ट्र बैंकले छोटो समयका लागि तरलता व्यवस्थापन गरिदिए पनि बैंकहरुले ऋण लगानीमा जोड दिनुपर्ने उनको सुझाव छ ।
सहप्रवक्ता पोखरेल भन्छन्, ‘राष्ट्र बैंकले छोटो अवधिका लागि तरलता व्यवस्थापन गरिदिएको हुन्छ । यसरी सधैँ चल्दैन । बैंकहरुमा तरलता प्रशस्त छ । जसरी हुन्छ उनीहरूले ऋण लगानी बढाउनुपर्छ ।’
कर्जाको माग नभएकाले बैंक तथा वित्तीय संस्थाहरूमा अधिक तरलता छ । राष्ट्र बैंकको पछिल्लो तथ्यांक हेर्ने हो भने बैंक तथा वित्तीय संस्थाहरूमा करिब ६७ खर्ब रुपैयाँ निक्षेप देखिन्छ । राष्ट्र बैंकका अनुसार पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूमा ६६ खर्ब ९३ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ ।
बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप संकलन बढे पनि कर्जा प्रवाह उल्लेख्य बढ्न सकेको छैन । यस अवधिमा बैंक तथा वित्तीय संस्थाहरूले ५३ खर्ब ८७ अर्ब रुपैयाँ बराबरको कर्जा प्रवाह गरेका थिए ।
यता वाणिज्य बैंकहरुको मात्रै कुरा गर्ने हो भने निक्षेप संकलन ५९ खर्ब नाघेको छ । यही मंसिर १६ गतेसम्मको अवधिमा वाणिज्य बैंकहरुमा ५९ खर्ब ५४ अर्ब रुपैयाँ निक्षेप रहेको छ । कर्जा प्रवाह भने ४७ खर्ब ७४ अर्ब रुपैयाँ भएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।