एउटा भनाई नै छ,‘तस्वीर आफैं बोल्छ’,‘हजार शब्दले नबोल्ने कुरा एउटा तस्वीरले भन्छ’ । म्याग्दीको सदरमुकाम बेनीको खुल्लामञ्चको भगवती मन्दिर परिसरमा रहेको फोटो प्रर्दशनीस्थलमा फ्रेमभित्र रहेको १ सय ५३ फोटोले म्याग्दीको चित्र मात्रै बोलेको छैन । हरेक तस्वीरसँग म्याग्दीको पहिचान, संस्कार, सभ्यता, आत्मीयता सहित सम्भावना र दैनिकी झल्किरहेको छ।

१ नगरपालिका र ५ गाउँपालिका रहेको म्याग्दीलाई चिनाउने गरी अस्ट्रेलियामा रहेका म्याग्देलीको साझा संस्था मोना अष्टेलिया र म्याग्दी उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालित फोटो प्रर्दशनीमा विश्वको सातौं अग्लो धौलागिरी हिमालसँगै हिमश्रृंखला, धार्मिक तथा पर्यटकीयस्थल, कृषि,जातिय संस्कार सहित अनेक तस्वीहरू राखिएको छ ।

गत पुस २८ गतेदेखि सुरू भएको आठौं म्याग्दी महोत्सव, माघे संक्रान्ति मेला तथा कृषि, पर्यटन औद्योगिक व्यापार मेलामा आकर्षणको रुपमा रहेको फोटो प्रदर्शनीमा दैनिक भिड लाग्ने गरेको छ ।

म्याग्दीलाई फोटोबाट चिनाउन लगातार दुईपटक आर्कषक धनरासी सहित फोटो प्रतियोगिताको आयोजना गरेको मोना अस्ट्रेलियाको प्रतियोगितामा विजेता सहित उत्कृष्ट फोटोहरु देखिएको मोना अस्ट्रेलियाका सल्लाहकार मुक्ती रोकाले बताउनुभयो । फोटो प्रर्दशनीमा मोना अस्टेलियाका उपाध्यक्ष सुसन श्रेष्ठले समेत म्याग्दी चिनाउने अभियानमा सधै संस्थागत सहयोग हुने बताउनुभयो ।

महोत्सवमा प्राथमिकताको साथमा विशेष स्टल नै राखेर फोटो प्रर्दशनी गरिएपछि अहिले आफ्नै जिल्लाभित्रका विभिन्न स्थानको फोटो हेर्न बालबालिकादेखि बृद्धबृद्धासमम पुग्ने गरेका छन् ।

जिल्लाका प्राकृतिक,धार्मिक र पर्यटकीय स्थलहरु देख्न नपाए पनि फोटोमा हेरेर जिल्लाका राम्रा राम्रा ठाउँहरु चिन्ने अवसर पाएको भन्दै राम्रो प्रतिक्रिया आइरहेको फोटो प्रर्दशनी संयोजक भोजबहादुर रिजालको भनाई छ । म्याग्दी महोत्सव अवधिभर करिब १५ हजार दर्शकले फोटो प्रर्दशनीको अवलोकन गर्ने अनुमान गरिएको छ ।

 

Leave a Reply