म्याग्दीको सदरमुकाम बेनीमा आजदेखि आठौं संस्करणको म्याग्दी महोत्सव सुरु हुँदैछ । म्याग्दी उद्योग वाणिज्य संघको मूल आयोजनामा आठौं म्याग्दी महोत्सव एवं माघेसङ्क्रान्ति मेला तथा प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला–२०८१ आयोजना गरिएको हो ।
म्याग्दीको सदरमुकाम बेनीबजारस्थित खुलामञ्चमा आयोजित आठौं म्याग्दी महोत्सवको पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एक समारोहबीच उद्घाटन गर्ने कार्यक्रम रहेको मूल आयोजक संस्था म्याग्दी उद्योग वाणिज्य संघले जनाएको छ । वि.सं. २०६० सालबाट म्याग्दी महोत्सव आयोजना गर्न थालिएकोमा हरेक तीन वर्षको अन्तरालमा महोत्सव आयोजना गरिँदै आइएको छ ।
गतवर्ष म्याग्दी उद्योग वाणिज्य संघअन्तर्गत रहेको महिला उद्यम विकास समितिको मूल आयोजनामा तीन दिनसम्म माघेसङ्क्रान्ति मेला आयोजना गरिएको थियो । जिल्लाको कला, संस्कृति र भेषभूषाको पहिचानको साथमा प्रदर्शनी तथा कृषिजन्य स्थानीय एवं अर्गानिक उत्पादनहरुको प्रदर्शन, बिक्री, वितरणसहित बजारीकरण गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष एवं मूल संयोजक सुविन श्रेष्ठले जानकारी दिनुभयो । महोत्सवमार्फत म्याग्दी जिल्लाको सम्भावनाहरुलाई उजागर गर्ने समेत उद्देश्य रहेको छ ।
बेनीको खुलामञ्चमा आजदेखि माघ ८ गते (१० दिन)सम्म आयोजना हुने म्याग्दी महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारहरुले आ–आफ्नो प्रस्तुती दिनेछन् । महोत्सवमा खुल्ला लोकदोहोरीगीत प्रतियोगिता, गण्डकी प्रदेशको पालिकास्तरीय पुरुष तथा खुल्ला महिला भलिबल, बास्केटबल तथा व्याडमिन्टन, खुल्ला रत्यौली, पुख्र्यौली नृत्य, भजन प्रतियोगिता, म्याग्दी आईडल एकल लोकनृत्य प्रतियोगिता, विभिन्न जातजाति तथा जनजातिहरुको उत्कृष्ट भेषभूषा प्रदर्शनी, झाँकी प्रदर्शन, बजार सजावट प्रतियोगिता, महिला–पुरुष छेलो फ्याँक्ने, लठो तान्ने, स्थानीय उत्पादनहरुको उत्कृष्ट स्टल प्रतियोगितालगायत रहेको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
यसैगरी महोत्सवमा विद्यालयस्तरीय परम्परागत हस्तकला तथा विज्ञान र नवप्रवर्तन प्रविधि प्रदर्शनी, कृषि उपजहरुको प्रदर्शन र प्रतिस्पर्धा, कालीगण्डकी नदीमा ¥याफ्टिङ, वनपैदावरको प्रदर्शनी तथा हेली शेयर एवं लभ्लीहिलसम्म घोडा सयरलगायत प्रतियोगिताहरु र कार्यक्रम मुख्य आकर्षणको रुपमा रहेका छन् । म्याग्दी जिल्लामा उत्पादित स्थानीय उत्पादनहरुको प्रदर्शनी तथा बिक्री वितरण गर्नका लागि पालिकास्तरीय छुट्टाछुट्टै निःशुल्क रुपमा स्टल उपलब्ध गराइएको म्याग्दी उद्योग वाणिज्य संघका महासचिव नारायण जिसीले बताउनुभयो ।
‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नाराको साथमा ‘बेनीबजार जाऔं महोत्सवमा रमाऔं, आन्तरिक तथा बाह्य पर्यटनको प्रवद्र्धन गरौं’ भन्ने थप नारा बनाइएको महोत्सवको मुख्य प्रायोजकको रुपमा प्रभु बैंक लिमिटेड रहेको छ । महोत्सव अवलोकनका लागि पहिलो दिन निःशुल्क प्रवेश रहेपनि दोस्रो दिन अर्थात् पुस २९ गतेदेखि भने प्रवेशका लागि टिकट लिनुपर्ने व्यवस्था गरिएको छ ।
म्याग्दी उद्योग वाणिज्य संघले आयोजना गर्दै आइरहेको हरेक पटकका मेला, महोत्सवले जिल्लाको धार्मिक, ऐतिहासिक, पर्यटकीय क्षेत्र र जिल्लाको सम्भावनाहरुको उजागर गर्न महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ । यसका साथै महोत्सव उद्घाटनको लागि पूर्वप्रधानमन्त्रीको आगमनलाई समेत निकै महत्वका साथ हेरिएको छ ।

Leave a Reply