आज (आइतबार) देखि म्याग्दीको सदरमुकाम बेनीबजारको खुलामञ्चमा आठौँ म्याग्दी महोत्सव,माघे सङ्क्रान्ति मेला तथा प्रदेश स्तरीय कृषि,पर्यटन,औधोगिक,व्यापार मेला २०८१ सुरु हुँदै छ ।
नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने तय भएको महोत्सवका लागि सदरमुकाम बेनीबजार दुलही जस्तै सिंगारिएको छ ।
परम्परागतरुपमा बेनीमा लाग्दै आएको माघे सङ्क्रान्ति मेलालाई विस्तार गरी जिल्लाकै पहिचान झल्काउने र सम्भावनाहरुको खोजि गर्ने उद्धेश्यले २०६० सालदेखि सुरु भएको म्याग्दी महोत्सवको सातौँ श्रृङ्खलाहरु सम्पन्न भइसकेका छन् ।
अहिले आठौँ श्रृङ्खला सुरु हुँदै गर्दा मूल आयोजक म्याग्दी उद्योग वाणिज्य संघले २१ वर्षको उपलव्धी र चुनौतिहरुलाई प्रकाशमा त ल्याउला नै ।
तर,जनस्तरमा उठ्ने गरेका कैयौँ प्रश्नहरुको चित्तवुझ्दो जवाफ सहित आगामी कार्ययोजना पनि प्रस्तुत गर्न सक्यो भने सुनमा सुगन्ध हुने थियो । महोत्सवको मूल आयोजक उद्योग वाणिज्य संघ जिल्लाका उद्योगी,व्यावसायी,व्यापारी तथा पैसा लगानी गरेर मुनाफा कमाउनेहरुको संस्था हो ।
यस्तो संस्थाको उद्धेश्य स्वभाविकरुपमा पैसा र समय लगानी गरिसकेपछि मुनाफा आर्जन गर्नु हुन्छ नै । त्यो मुनाफा संस्थागत मुनाफा नभएर समग्र जिल्लाको लागि नै उपयोगी हुनसक्यो भने मात्र मेला,महोत्सवप्रति जनताको अपनत्व रहन्छ । र, आयोजक संस्थाको सामाजिक उत्तरदायित्व पनि पूरा हुन्छ ।
त्यसका साथै अन्य क्षेत्रमा लगानी र मुनाफा बृद्धिको सम्भावना पनि बढ्दै जान्छ । म्याग्दीको परिचय लाहुरेहरुको जिल्लाबाट सुरु भएर प्रकृति, पौरखी र प्रतिभावानहरुको संगम भएको ठाउँ भनेर चिनिने अवस्थासम्म आइपुग्नुमा म्याग्दी उद्योग वाणिज्य संघ लगाएतका धेरै संघसंस्थाहरुको महत्वपूर्ण योगदान रहेको छ भनेर निर्धक्कसँग भन्न सकिने अवस्था छ ।
पौराणिक कालदेखि नै तपस्थल,धर्मस्थल,व्यापारस्थल र आवागमनस्थलको रुपमा परिचित म्याग्दीको भूगोल अनेकौं प्राकृतिक सुन्दरता,कृषि उर्वरता र खनिज सम्पदाले युक्त सम्भावनै सम्भावनाको नेपथ्यप्रधान रङ्गशाला हो ।
रङ्गशालाको (मनोरञ्जन स्थल) अग्रभागलाई कलाकारितामय बनाउनको लागि नेपथ्यमा रहने व्यक्ति तथा सरसामाग्रीको महत्वलाई वेवास्ता गर्न नसकिए झैं जिल्लाको पहिचानलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा उजागर गर्नका लागि म्याग्दीको भूगर्भमा रहेका खनिज,लोक संस्कृति,रैथाने सीप,कृषि उत्पादन,घरेलु तथा कुटिर उद्योग,ऐतिहासिक,प्राकृतिक र जैविक स्थान परिचय र यी सवै कुराहरुलाई पर्यटनसँग जोड्ने पूर्वाधार पहिलो र एकमात्र आवश्यकता हो । पूर्वाधार निर्माण उद्योग वाणिज्य संघ वा अन्य कुनै संघसंस्थाको एकल प्रयासले मात्रै हुने कुरा होइन । पूर्वाधार निर्माण विकासको जग हो ।
विकास राजनीतिसँग सबैभन्दा निकट रहने विषय हो । राजनीतिक पहुँच र नेतृत्वसँगको बलियो पकड भएका जिल्लाहरु छोटो समयमा नै विकासको सोपान चढ्न सफल भएका छन् । उदाहरणको लागि छिमेकी जिल्ला पर्वतलाई लिन सकिन्छ । म्याग्दी जिल्लामा पनि पछिल्लो एक दशकयता विकासले गति लिदैगरेको हो कि जस्तो लाग्ने केही कामहरु भएका छन् ।
विशेषगरी सडक निर्माण र स्तरोन्नति,स्वास्थ्यचौकी र विद्यालय भवन,खानेपानी र सिंचाइ लगाएतका क्षेत्रमा विकासको गति अन्य क्षेत्रको तुलनामा बढी छ । तर,पर्यटकीय विकास र पर्यटनमैत्री पूर्वाधारमा भने जिल्ला अझै धेरै पछाडी छ । घोडेपानी,पुनहिल,हिमाल र तातोपानी कुण्डहरु प्राकृतिक उपहार हुन् । व्यवस्थापनमा स्थानीयवासीको बढी र स्थानीय सरकारको कमै भए पनि लगानी छ ।
गलेश्वर शिवालय लगाएत अन्य धार्मिक स्थल र पर्यटकीय स्थलहरुको व्यवस्थापन र संचालनमा संचालक समिति तथा व्यवस्थापन समितिहरु छन् । निर्मांणाधिन तथा निर्माण सम्पन्न भएका केही पदमार्गहरुमा स्थानीय तह र प्रदेश सरकारको लगानी छ ।
प्राकृतिक सम्पदा बाहेक मानव निर्मित पर्यटकीय पूर्वाधार वा पर्यटकलाई जिल्लामा भुलाउने माध्यम छैनन् । होटलहरुमा व्यवसायीक लगानी छ । स्तरीय होटलहरु निर्माण भएका छन् र पर्यटकहरुलाई सेवा पनि दिएका छन् । तर ती होटलहरु सुविधाका लागि हुन् । तिनलाई पर्यटकीय आकर्षणका पूर्वाधारहरु मान्न नसकिएला ।
उद्योग वाणिज्य संघ र यसमा आवद्ध उद्योगी,व्यापारी र व्यवसायीहरुले जिल्लामा उत्पादित कृषि उपजको व्यवस्थापन र बजारीकरणमा केही कामहरु भने गरेका छन् । टिम्मुरखेती विस्तार र बजारीकरण,अल्लोको कपडा उत्पादन र विक्री, होटल तथा व्यापार प्रयोजनका लागि केही रोजगारी र स्थानीय तथा पर्यटकहरुलाई सुविधाका लागि होटल तथा अन्य पूर्वाधारहरु निर्माण र संचालनका कामहरु भएका छन् ।
तर, उद्योगी व्यापारीहरु संगठित भएर पर्यटकीय आकर्षणका कुनै भौतिक पूर्वाधारहरु भने निर्माण हुन सकेका छैनन् । यतातर्फ उद्योग वाणिज्य संघ र यसमा आवद्ध सदस्यहरुको ध्यान जान आवश्यक छ । त्यसैगरी जिल्लामा रहेका तामा खानी,ढुङ्गा तथा स्लेट खानी,चुना खानी,पहरा तथा भीरहरुमा पाइने शिलाजित,वनौषधी,जटिबुटी,भीरमह लगाएतका प्रशस्तै प्राकृतिक सम्पदाहरु नीतिगत उल्झन र उत्खननमा उदासिनताका कारण खेर गइरहेका छन् ।
कैयौँ साना तथा कुटिर उद्योगहरु विस्थापित भएका छन् । आयातित सामाग्री प्रयोगको बढ्दो चलनले रैथाने सीप हराउँदै जान थालेको छ । मौलिक कला र संस्कृतिहरु विदेशिदै छन् । जैविक तथा आनुवांशिक श्रोतहरु लोपोन्मुख अवस्थामा पुगेका छन् । कृषि र पशुपालनमा जिल्लामा केही सुधारहरु देखिएको छ । फलफूल र तरकारी उत्पादन र विक्री गरेर मनग्गे आम्दानी गर्न सकिदोरहेछ भन्ने उदाहरण यहाँका केही कृषकहरु बनेका छन् ।
त्यसका लागि ढुक्क हुने वातावरणको आवश्यकता देखिएको छ । प्रकृति,भूगोल, परिवेश,पुराण र इतिहासका आधारमा म्याग्दी जिल्लाको अलग अलग परिचय र पहिचान बन्छ । तर ती परिचय र पहिचानहरु मात्र अव म्याग्देलीका लागि गर्बिला चिनारी बन्न सक्दैनन् । कुनै कालखण्डमा निकै महत्व राख्ने ती पहिचानलाई अब भने जिल्लाको एकिकृत पहिचान बनाउन आवश्यक छ ।
जिल्लाको समृद्धिसँग जोडेर आर्थिक उपार्जनका माध्यम बनाउन सकियो भने मात्र ती पहिचानहरुको आधुनिक महत्व झल्कन्छ । त्यसका लागि पर्यटन निर्विकल्प माध्यम बन्न सक्छ। पर्यटकको पहुँच ती क्षेत्रहरुसम्म पु¥याउनका लागि महोत्सव सूत्राधार माध्यम बन्न सक्छ ।
महोत्सवको उद्घाटनका लागि जिल्लामा बोलाइने प्रमुख अतिथि लगाएत विशिष्ट राजनीतिक व्यक्तित्वहरुको अनुहार मात्र जिल्लावासीलाई देखाएर,‘यी हामीले यस्ता नेतालाई ल्यायौँ’ भनेर मात्र कुनै अर्थ छैन ।
यहाँ आउने राजनीतिक पार्टीका नेतृत्वकर्ता लगाएत सरोकारवाला पक्षहरुलाई यहाँका सम्भावनाहरुको बारेमा बुझाउन सक्नुपर्दछ । जिल्लाबाट नेतृत्व गरेर प्रदेश वा संघमा पुगेका सांसद र पार्टीका जिल्ला स्तरीय नेताहरुले मनैदेखि पहल गर्नसक्नुपर्दछ ।
जुन उद्धेश्यका साथ महोत्सव आयोजना गरिएको हो त्यो उद्धेश्यलाई केन्द्रमा राखेर अरु विषयहरुको यथोचित अस्तित्वबोध आयोजकले गर्न सक्नुपर्दछ । म्याग्दी महोत्सवमार्फत जिल्लाको पहिचानलाई व्यापक बनाउने र थप सम्भावनाहरुको खोजी सहित साविकका सम्भावनाहरुको सदुपयोग गरी जिल्लालाई समृद्धितर्फ अघि बढाउने उद्धेश्यले आयोजना गरिएको म्याग्दी महोत्सव उद्धेश्यमुताविक नै सम्पन्न भयो भने मात्र जिल्लाले लाभ लिन सक्दछ ।
मनोरञ्जनका अतिरिक्त लक्षित उद्धेश्य समेत राखिएको यस्ता मेला महोत्सवले जिल्लाको पहिचान र चिनारीलाई फराकिलो बनाउन र सम्भावनाहरुको उजागर गर्न महत्वपूर्ण भूमिका खेल्छन् र खेल्नुपर्छ । महोत्सवको उद्धेश्य जिल्लाका उद्योग,व्यापार र कलाको विकास गर्ने र त्यसैको माध्यमबाट संस्कृति संरक्षण गर्दै पर्यटन प्रर्बद्धन गर्ने हो भने सबैभन्दा पहिला जिल्लाको रैथाने सीप,प्रविधि,उत्पादन,जनजीवन,लोकसंस्कृति र जनशक्तिको सहीरुपमा सदुपयोग र तत्तत् क्षेत्रमा लागेका जनशक्तिलाई अवसर दिइनु पर्दछ ।
जिल्ला बनाउने र जिल्ला चिनाउने अभियानको रुपमा महोत्सवलाई लिइने हो भने आयातित प्रविधि,संस्कृति र जनशक्ति (कलाकारदेखि खेलाडीसम्म) लाई भन्दा बढी स्थानीय प्रविधि,संस्कृति र जनशक्तिलाई महत्व दिइनुपर्दछ ।
म्याग्दी महोत्सव सबै म्याग्देलीको साझा महोत्सव हो । यसले जिल्लाको पहिचानलाई फराकिलो बनाउँदै आर्थिक उपार्जनका सम्भावना र विकासको ढोका खोल्न सक्यो भने मात्र महोत्सव फलदायी बनेको अनुभूत गर्न सकिने छ। अन्यथा रसरङ र खानपानमै रमाउने मेला भन्दा म्याग्दी महोत्सवलाई अन्य अर्थमा बुझ्न नसकिने अवस्था उत्पन्न हुने छ । यसतर्फ सबैको ध्यान जान आवश्यक छ ।