विद्यालय तहको आधारभूत शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहको शिक्षा निःशुल्क उपलब्ध गराउने कानुनी व्यवस्था कार्यान्वयन हुन नसकेको अवस्थामा शिक्षा मन्त्रालयले विद्यालय तहको रजिस्ट्रेसन निःशुल्क गरेको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निःशुल्क शिक्षाको व्यवस्था कार्यान्वयनमा ल्याउन विद्यालय तहको रजिस्ट्रेसन निःशुल्क गर्ने निर्णय गरेको हो।शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले अबदेखि माध्यमिक तहका विद्यार्थीले रजिस्ट्रेसन शुल्क तिर्नु नपर्ने व्यवस्था मन्त्रालयले गरेको बताउनुभयो ।

मन्त्री भट्टराईले बिहीबार काठमाडौंमा शिक्षा पत्रकार सञ्जाल नेपाल (इजोन) ले आयोजना गरेको अन्तरक्रियामा अब विद्यार्थीले कक्षा ९ र कक्षा ११ मा विद्यार्थीले रजिस्ट्रेसन शुल्क तिर्नुनपर्ने निर्णय मन्त्रालयले गरेको बताउनुभयो । अहिले विद्यार्थीले विद्यालय तहमै दुईपटक कक्षा ९ र ११ मा रजिस्ट्रेसनवापत शुल्क तिर्दै आएका छन्।

यो शुल्क सरकारको खातामा राजस्वका रुपमा जम्मा हुन्छ। राष्ट्रिय परीक्षा बोर्डले रजिस्ट्रेसन शुल्क उठाउँदै आएको छ। यसले सरकारको निःशुल्क शिक्षासम्बन्धी कानुन कार्यान्वयनलाई नै चुनौति दिएको छ। संविधानले शिक्षालाई मौलिक हकका रुपमा स्वीकार गरेको छ। कक्षा ९ मा विद्यार्थीबाट रजिस्ट्रेसनवापत शुल्क उठाउन नपाउने निर्णय भएको मन्त्री भट्टराईले बताउनुभयो । कक्षा १० को परीक्षा प्रदेश र कक्षा १२ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले लिने समेत बताउनुभयो ।

Leave a Reply