आगामी सातादेखि म्याग्दीको सदरमुकाम बेनीमा सुरू हुनेआठौं म्याग्दी महोत्सवमा जिल्लाभित्र उत्पादन हुने स्थानीय उत्पादनहरुलाई निःशुल्क रुपमा स्टल सहित प्रोत्साहन गरिने भएको छ ।

पुस २८ देखि माघ ८ गतेसम्म चल्ने म्याग्दी महोत्सव एवम् माघेसङ्क्रान्ति मेला तथा प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेलामा वस्तुको बिक्री र प्रदर्शनी गर्न निःशुल्क स्टलमा पहिलो प्राथमिकता दिइएको म्याग्दी महोत्सवका मूल संयोजक एवं म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले बताउनुभयो ।

महोत्सवस्थलमा २० वटा स्थानीय उत्पादनको स्टल राखिने छ भने म्याग्दीभित्रको उत्पादनलाई थप प्रोत्साहन दिन स्टेजबाट समेत प्रचारप्रसार विगतमा भन्दा धेरै गरिने अध्यक्ष श्रेष्ठको भनाई छ । म्याग्दी जिल्लामा उत्पादित कृषिजन्य उत्पादन, जडिबुटी, लघु तथा घरेलु उद्योगका सामानहरु बिक्री, वितरण गर्नुका साथै प्रदर्शनीका साथे पुरस्कार समेत वितरण गरिने छ।

म्याग्दीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने र उत्पादन भएका स्थानीय उत्पादन र वस्तुहरुको बिक्री, वितरण गर्नको लागि स्टलहरु स्थानीय तह तथा अन्य संघसंस्थालाई दिइएको छ । जिल्लाको ६ वटै स्थानीय तहमा उत्पादन हुने कृषि, हस्तकलालगायत साना तथा मझौला उद्यमीहरुले निर्माण गरेका सामग्रीहरुको बिक्री तथा प्रदर्शनीका साथै उचित पुरस्कारले समेत उद्यमीहरुमा उत्साह देखिएको छ ।

यसपटक म्याग्दीका सबै स्थानीय तहले स्टलमार्फत आफ्नो पालिकाको स्थानीय उत्पादनको बजार प्रर्वद्धन, कला र संस्कृतिको संरक्षण, पर्यटन प्रवद्र्धन, कृषि, जलविद्युत, खनिज र पशुपालनका क्षेत्रको सम्भावनाहरु उजागर गर्ने तयारीमा जुटेको संघका महासचिव नारायण जिसीले बताउनुभयो । स्थानीय उत्पादनको बिक्री नभएमा मुल आयोजकमार्फत प्रर्बधनमा समेत सघाउने बताउनुभयो ।

महोत्सवका लागि कुल एक करोड ३४ लाख २९ हजार आम्दानी र एक करोड २९ लाख १८ हजार नौसय १४ रुपैयाँ खर्च हुने तथा विभिन्न संघसंस्थालाई समेत टिकटको आम्दानी वितरण गरिने छ । महोत्सव अवधिभरमा म्याग्दी क्षेत्रभित्र झण्डै १० करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने अनुमान छ ।

Leave a Reply