केही वर्ष अघिसम्म रातो माटो र कृषि उत्पादनमा आश्रित म्याग्दीको बेनी नगरपालिका वडा नं १ मा पर्ने रत्नेचौर गाउँ अहिले जिल्लाकै प्रशिद्ध पर्यटकीय गाउँको रुपमा चिनिन थालेको छ ।
कार्तिकदेखि माघ महिनासम्म यहाँ आन्तरिक तथा वाह्य पर्यटकहरुको लर्को लाग्ने गर्दछ । कार्तिक–मंसिरमा रत्नेचौरको फाँटमा झुलेका धानसँगै पृष्ठभूमिमा धवलागिरि हिमाल, म्याग्दी, बागलुङ र पर्वतका ग्रामीण भेगहरुको दृश्यावलोकन तथा पुस–माघमा पहेंलै फुलेको तोरीको आकर्षक दृश्य हेर्दै रमाउन र बनभोज खानका लागि यहाँ पर्यटकहरुको भीड लाग्ने गर्दछ ।
सदरमुकाम बेनी र बागलुङको बिचमा रहेको भाइरल गाउँ रत्नेचौरको तोरी वारीमा रमाउँदै टिकटक र भिडियो बनाउन यतिबेला यहाँ थेगी नसक्नुको भीड छ । पुस लागे यता यहाँ रमाउन र बनभोज खानका लागि १२ हजार भन्दा बढी पर्यटकहरु आएका स्थानीय अगुवा भरत केसीले जानकारी दिनुभयो ।
उत्तरतिर हेर्दा चाँदी झैँ टल्किने सेता हिमशृङ्खला । पूर्वतर्फ मोहोडा भएको समथर फाँटमा पहेँलै भएर फुलिरहेको तोरी र फाँटको बीचमा चिटिक्कै परेको कालोपत्रे सडकमा रमाउन पुस महिना लागे यता दैनिक सयौं पर्यटकहरु आउने गरेका केसीले बताउनुभयो ।
अहिले पहेँलपुर तोरीबारीले रत्नेचौर झकिझकाउ बनेको छ । उत्तरतर्फ मनोरम धौलागिरि हिमशृङ्खलाको दृश्य, हरियाली फाँट र तोरी फुलेर बनेको पहेँलपुर वातावरणले यस क्षेत्रको प्राकृतिक सुन्दरतालाई थप निखार दिएको बुधबार यहाँ आउनुभएका पर्वत कुश्माका हरिश गौतमले बताउनुभयो ।
रत्नेचौरबाट संसारको सातौं अग्लो धौलागिरि हिमाल (८,१६७ मिटर) स्पष्ट देखिन्छ । यस्तै, समथर भू–भागमा फुलेका तोरीबारीसँगै बेनी–बागलुङ सडकखण्डको कालोपत्रे गरिएको चिल्लो सडकले थप आकर्षण प्रदान गरेको छ ।
तोरीबारीमा मौरी र भमराहरू रस चुस्दै गरेका रमाइला दृश्यले गाउँलाई जिवन्त बनाएको छ । तोरीको फूलमा बसेर भमरा र मौरीले रस चुसिरहेका छन् । बारीको छेउकुना तथा सडकको दायाँ बायाँ मानिसहरु तोरीबारी र हिमाल हेर्दै रमाइरहेका देखिन्छन् ।
पहेलै फुलेको तारीको विचविचमा हुर्कदै गरेको गहुँको हरियालीले यहाँ आउने सबैको ध्यान खिचेको छ । तोरी फुलेको खेतको फाँटमा कालोपत्र गरिएको चिल्लो सडकमा मानिसहरुको भीडभाडले भाइरल बनेको छ । रत्नेचौर फाँटमा गहुँ र तोरी झुलिरहेको छ ।
झुलिरहेको गहुँ र तोरीको सौन्दर्यमा युवायुवती र सर्वसाधारणहरु टिकटक बनाउन,नाच्दै रमाउन व्यस्त छन्
रत्नेचौर–अर्जम–ज्यामरुककोट सडकखण्डको कालोपत्र सडकको दायाँ र बायाँतर्फ लमतन्तै परेको खेतको फाँटमा फुलेको तोरी,खुलेको हिमाल र चिल्लो सडकलाई पृष्ठभूमीमा पारेर फोटो खिचाउन र टिकटक बनाउन यहाँ दैनिक सयौं पर्यटकहरु आउनेगरेको स्थानीयवासी समेत रहनुभएका नेपाली कांग्रेसका नेता नेत्रबहादुर महतले बताउनुभयो । उहाँले भन्नुभयो“रत्नेचौर पर्यापर्यटनको आकर्षक स्थल बनेको छ । रत्नेचौरको मौलिकतालाई जोगाएर कृषि पर्यटकीय गाउँ बनाउन यहाँका स्थानीय लागिपरेका छन् ।”
केही वर्ष अगाडिसम्म सुनसान रत्नेचौरको सडक कालोपत्रे भएपछि तोरीबारीमा बसेर फोटो, भिडियो खिच्न विभिन्न स्थानबाट सवारीसाधनको प्रयोग गरी आउने गरेका छन् । शुक्रबार, शनिबार र सार्वजनिक बिदा भएमा अन्य दिनमा बढी भिड लाग्ने गरेको छ । म्याग्दी, बागलुङ र पर्वतका विभिन्न क्षेत्रबाट एकैपटक घुम्न आउनेहरूको भीड व्यवस्थापन गर्नसमेत हम्मेहम्मे पर्ने गरेको स्थानीय सन्तोष महतले बताउनुभयो ।
उहाँका अनुसार तोरी उत्पादन हुने सिजनबाहेक पनि कालोपत्र सडकमा तस्बिर, भिडियो खिचेर सामाजिक सञ्जाल तथा टिकटकमा राख्ने मानिसहरू मोटरसाइकल र गाडी चढेरै आउने गरेका छन् । चारैतिर हरियाली पहाड, उत्तरतर्फ मुसुक्क मुस्कुराइरहेको संसारकै सातौँ अग्लो धौलागिरि हिमालको दृश्यसँगै समथर फाँटको पहेँलपुर तोरीले स्थानीयवासीको व्यापारमा समेत सघाएको छ ।
रत्नेचौर र बागलुङको कुडुले (फेदी) जोड्ने ३ सय ८८ मिटर लामो झोलुंगे पुल पनि यहाँ आउने पर्यटकहरुका लागि अर्को आकर्षण बनेको छ । “पुलमा खेल्न, तोरीमा रमाउन र वनभोज खानका लागि यहाँ बागलुङ,म्याग्दी र पर्वतका समेत मानिसहरु आउन थालेपछि थामिनसक्नुको भीड हुने गरेको छ” स्थानीय महतले बताउनुभयो ।
“तोरीबारी र कालोपत्र सडकले आन्तरिक पर्यटकलाई आकर्षित गरेको छ, घुम्न आउनेहरूको चहलपहललाई स्थानीयले राम्रो मानेका छन्,” महतले भन्नुभयो ।
वरिपरिको हरियाली तथा मुसुक्क मुस्कुराइरहेको धौलागिरि हिमालको दृश्यका साथै समथर फाँटको पहेँलपुर तोरीले पर्यटन प्रवद्र्धन गर्नुका साथै स्थानीयको व्यापारमा पनि सघाएको निवर्तमान वडा अध्यक्ष टेकबहादुर थापाले बताउनुभयो ।
तोरी उत्पादन क्षेत्र बनाएर राष्ट्रिय स्तरमै पर्यटकीय हिसाबले पनि अहिलेको मौसमको बेलामा प्रवद्र्धन गर्न सकिने हुँदा लोकल तोरीको पनि प्रवद्र्धन हुने र व्यापक रुपमा पर्यटकहरूलाई पनि भित्र्याउन सकिने थापाको भनाई छ ।