छन्त्यालहरुको विशेष महत्व बोकेको माघे संक्रन्ति (छार म्हेङ) पर्वको अवसरमा जापान छन्त्याल संघले टोकियोमा कार्यक्रम गरी मनाएको छ । देश विदेशमा छन्त्यालहरुले विशेष चाडको रुपमा मनाउने पर्वको जापान छन्त्याल संघका अध्यक्ष गंग बहादुर छन्त्याल र बरिष्ठ सल्लाहकार जोन छन्त्यालले छन्त्यालहरुको १२ थरमा संयुक्त रुपमा दिप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गर्नुभयो ।
कार्यक्रममा जापान छन्त्याल संघका बरिष्ठ सल्लाहकार जोन छन्त्यालले जनसंख्यामा कम भएपनि हाम्रो सहकार्य, एकता र आफ्नो पहिचान जोगाउन हरेक क्षेत्रमा सक्रियतापूर्वक सहभागी हुने गरेको बताउनुभयो ।
जापान छन्त्याल संघका अध्यक्ष गंगबहादुरले नेपालका विभिन्न जिल्लामा बसोबास गर्ने छन्त्याल जातिले जस्तै विदेशमा समेत निरन्तर आफ्नो भाषा संस्कृति रितिरिवाजलाई जर्गेना गर्ने गरी सक्रियतापूर्वक सहभागि हुनुपर्नेमा जोड दिनुभयो । उक्त कार्यक्रमको अवसरमा विभिन्न सांस्कृतिक प्रस्तुती पनि रहेको सचिव गणेश छन्त्यालले जानकारी दिनुभयो ।