गाई भैंसीपालन तथा दुग्ध व्यवस्थापन सम्बन्धी विषयमा किसानहरुलाई लक्षित गरेर आइतबारदेखि म्याग्दी सदरमुकाम बेनीमा तालिम सुरु भएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीको आयोजनामा जिल्लाका किसानहरुका लागि तालिम सञ्चालन गरिएको हो ।
तालिमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै विज्ञ केन्द्र प्रमुख डाक्टर भरत रेग्मीले पछिल्लो समय बढ्दो महङ्गीको कारणले पशुजन्य व्यवसायलाई नाफामूलक बनाउन चुनौती थपिरहेको बताउनुभयो ।
उहाँले पशु स्वास्थ्य, पोषण (आहारविहार), गोठ व्यवस्थापन र उत्पादनको बजारीकरणसहित यी चारवटा विषयलाई राम्रो तरिकाले कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा तालिम लक्षित गरिएको जानकारी दिनुभयो ।
सोही कार्यक्रममा बेनी नगरपालिकाको पशु स्वास्थ्य शाखा प्रमुख डा. आशिष सापकोटाले व्यावसायिक पशुपालक किसानहरुले पशुजन्य उत्पादन वृद्धि गर्नेतर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।
तीन दिनसम्म सञ्चालन हुने तालिममा जिल्लाको धवलागिरि गाउँपालिकाबाहेक अन्य पाँचवटा स्थानीय तहबाट २१ जना किसानहरुले सहभागिता जनाएका छन् ।
तालिममा व्यावसायिक रुपमा गाई भैंसीपालन गरेका कृषक दाजुभाइ तथा दिदीबहिनीहरुको सहभागिता रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका अधिकृतस्तर छैटौं एवं सूचना अधिकारी सुभाष रेग्मीले जानकारी दिनुभयो ।
विशेष गरी पशुपालक किसानहरुको उत्पादन लागत घटाउने र पशुमा हुने औषधीको बढ्दो प्रयोग दरलाई पनि घटाउने उद्देश्यसहित गाई भैंसीपालन गरेका किसानहरुलाई तालिम सञ्चालन गरिएको हो ।
तालिममा सहभागी किसानलाई पशुमा लाग्ने रोग तथा संक्रमणको उपचार, औषधीको खपत, दानाको प्रयोग, घाँसको उपयोगिता, गाईभैंसीको जात एवं प्रकार, नश्ल सुधार, गाई भैंसीपालनको रणनीतिक योजनालगायत विषयहरुमा सहजीकरण भैरहेको छ ।
तालिमको विज्ञ केन्द्र म्याग्दीका प्रमुख डा. रेग्मी, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन एकाइ मुस्ताङका कार्यालय प्रमुख वरिष्ठ पशु विकास अधिकृत भरतराज गौतम, बेनी नगरपालिकाको पशु शाखा प्रमुख डा. आशिष सापकोटा, सहायक पशु चिकित्सक प्रदीप गौतम, विज्ञ केन्द्रका सूचना अधिकारी सुभाष रेग्मी र पशु सेवा प्राविधिक गणेशप्रसाद रिजालले सहजीकरण गरिरहनुभएको छ ।