बेनी नगरपालिका–९,तोरिपानीस्थित गलेश्वर माविको ‘विद्यार्थी पढाऔं सहयोग अभियान’ले दोस्रो वार्षिकोत्सव मनाएको छ । विपन्न तथा गरिब, अशक्त,अपाङ्ग, अभिभावक विहिन बालबालिकालाई सहज पठनपाठनका लागि स्थापित अभियानले आर्थिक तथा शैक्षिक साम्रागी सहयोग सहित आयोजित वार्षिकोत्सवको वडा अध्यक्ष एवम् बेनी नगरपालिकाका शिक्षा समितिका संयोजक चक्र केसीले उद्घाटन गर्नुभयो ।

प्रमुख अतिथि केसीले विद्यार्थीको शैक्षिक गतिविधिलाई निरन्तरता दिन तथा सहयोग आवश्यकता रहेका बालबालिकालाई सहज हुने गरी सञ्चालित अभियान हरेक विद्यालयमा हुनुपर्ने बताउनुभयो। ‘जसलाई आवश्यकता पर्छ, उसैलाई सहयोग गर्नुपर्छ, गरिबीकै कारण बालबालिका विद्यालयमा आउने अबस्थाको अन्त्यमा यो अभियानले बल पुगेको छ’ अध्यक्ष केसीले भन्नुभयो ।

आर्थिक अभावकै कारण विद्यालय जान बन्चित हुनुपर्ने अवस्थालाई मध्यनजर गरी ‘दानपेटिका विद्यालयमा हुनुपर्छ, मन्दिरमा होइन, किनकी पैसाको जरुरत विद्यार्थीलाई हुन्छ भगवानलाई होइन’ भन्ने नारा सहित सुरू भएको अभियान हालसम्म २ सयभन्दा बढीले सहयोग गर्नुभएको छ । हालसम्म कोषमा ७ लाख ३५ हजार २ सय रहेकोमा १० लाख संकलन भएमा संस्था दर्ता गरी सञ्चालन गरिने छ ।

अभियानमार्फत लक्षित विद्यार्थीलाई आर्थिक तथा शैक्षिक साम्रागी, अति विपन्न अभिभावकलाई आर्थिक सहयोग,खेलकुद तथा एसइईमा प्राविधिक तथा साधारणतर्फ उत्कृष्ट छात्रछात्रालाई नगद पुरस्कार सहित हरेक बर्ष बालबालिकालाई सहयोग गर्ने गरिएको अभियानका संयोजक दामोदर शर्माले बताउनुभयो ।

वार्षिकोत्सवमा गाउँका अति विपन्न अभिभावकलाई २५ सय नगद र दोसल्लाले सम्मान गरिएको थियो भने अति विपन्न ७ जना विद्यार्थीलाई ७ हजार समेत हस्तान्तरण गरिएको अध्यक्ष शर्माको भनाई छ ।

हालसम्म ७३ हजार १ सय ५४ रुपैयाँ खर्च भएको छ । वार्षिकोत्सवको सञ्चालन सचिव सन्दिप खत्री, स्वागत प्रअ गणेश बानियाँ, कोषाध्यक्षको प्रतिबेदन देबीप्रसाद शर्मा र शुभकामना मन्तब्य शिक्षक हरिप्रसाद सुबेदीले दिनुभएको थियो । ‘विद्यार्थी पढाऔं सहयोग अभियान’मा जन्मदिन, आफन्तको सम्झना सहित विभिन्न माध्यमबाट सहयोग गर्ने गरिन्छ ।

Leave a Reply