मुस्ताङको कोरला नाका हुँदै भन्सार छलेर अबैध रुपमा ल्याएको झण्डै सात करोड रुपियाँ बराबरको सामग्री जिल्ला प्रहरी कार्यालय मुस्ताङको प्रहरीले नियन्त्रणमा लिएको छ ।
शुक्रबार राती ग१ख ६९९९ नम्बरको ट्रकमा भन्सार प्रज्ञापन पत्र र बिल बिजक बिना अबैध रुपमा सामान ल्याएको हुन सक्ने भन्ने गोप्य सुचनाको आधारमा प्रहरीले चेकजाँच गर्ने क्रममा छ करोड ८१ लाख २० हजार पाँच सय १० रुपियाँ मुल्य बराबरको सामग्री सहित ट्रक नियन्त्रणमा लिएको मुस्ताङका प्रहरी नायव उपरीक्षक सूर्यबहादुर बोगटीले जानकारी दिनुभयो।
तनहुँ जिल्लाको म्याग्दे गाउँपालिका ५ का ३५ वर्षिय विष्णुबहादुर थापाले चलाएको उक्त ट्रकलाई घरपझोङ गाउँपालिका ४ जोमसोम नजिक फेला पारी चेकजाँच गर्दा कुनै पनि आधिकारीक कागजातहरु बिना नै ल्याएको फेलापारेपछि आवश्यक मुचुल्का गरी नियन्त्रणमा लिएको प्रनाउ बोगटीले जानकारी दिनुभयो ।
उहाँका अनुसार गाडीका चालक थापा, गाडी मालिक लोमन्थाङ गाउँपालिका ३ फुवाका ४० वर्षिय घ्याचो गुरुङ, सोही गाडीमा रहेका लोमन्थाङ गाउँपालिका ३ का ४१ वर्षिय टसी आङ्गयाल गुरुङलाई कानुन अनुसार नियन्त्रणमा लिई आवश्यक अनुसन्धान र कार्वाहीका लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको प्रनाउ बोगटीले जानकारी दिनुभयो ।
उक्त गाडीमा प्रज्ञापन पत्र भएका दुई वटा सामग्री रहेको थियो । त्यस्तै अन्य विभिन्न ३१ प्रकारका सामानहरु प्रज्ञापनपत्र बिनाका रहेकोले नियन्त्रणमा लिएर राजश्व अनुसन्धानका लागि पठाइएको हो । उक्त ट्रकमा टिस्यु पेपस ३५ कार्टुन र ४५ कार्टुन चियापत्तीको प्रज्ञापन पत्र थियो ।
अन्य ३१ प्रकारका साम्रीहरु प्रज्ञापन पत्र बिनाका रहेको प्रहरीले जनाएको छ । उक्त ट्रकमा भेप, टिस्यु पेपर, चिया, चाइनिज ब्राण्डी, कम्ब्याड ज्याकेट, बख्खु टोपी, लेडिज स्वीटर, लगायतका सामानहरु नियन्त्रणमा लिएको हो ।
त्यस्तै चाइनिज मिठाइ, छुर्पी, बिस्कुट, जाडोका कपडाहरु, सोलार लाइट, कित्ली, वाटर प्रुफ कपडाहरु लगायतका सामानहरु रहेको थियो । त्यसैगरी जुता, थुप्पा चाउचाउ, चुइगम एवम् विभिन्न रंग तथा साइजका लेडिज जेन्स जुत्ताहरु पनि नियन्त्रणमा लिएर आवश्यक कार्वाहीका लागि पठाइएको प्रहरीले जनाएको छ ।