गण्डकी प्रदेशको लाइफलाइन मानिएको बेनी–जोमसोम–कोरला सडकखण्डमा स्तरोन्नति र कालोपत्रे भएपनि सवारीसाधनको भाडा दर घटेको छैन । म्याग्दीको सदरमुकाम बेनीबजारबाट उत्तरी क्षेत्र हुँदै जोमसोमसम्मको ७६ किमी दूरीको सडकको कालोपत्रे र स्तरोन्नति हुदाँ पनि यात्रुहरू कच्ची सडककै भाडा तिर्न बाध्य छन् ।
बेनीदेखि जोमसोमसम्म यात्रुबाहक बसमा ११ रुपैयाँ भाडा लिने गरिएको छ भने निजी जीप र अन्य भाडाका सवारीसाधनमा पनि पूरानै भाडादर भएपनि घटाउन सरोकारवाला निकायले समेत चासो देखाएका छैनन् ।
बेनी–जोमसोम सडकखण्डको म्याग्दीतर्फ काभ्रेभिर बाहेक अन्य स्थानमा हिउँदको समयमा सहज यात्रा गर्न सकिन्छ भने मुस्ताङखण्ड कालोपत्रे छ ।
कालोपत्रे सडक हुदाँ पनि कच्चीकै भाडा लिदाँ यात्रुलाई मर्का परेको गुनासो चौतर्फी आउने थालेपछि अब भाडा ‘घटाउनुपर्ने नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका प्रबक्ता प्रकाश पौडेलको भनाई छ ।
‘सडक पक्की हुदाँ पनि कच्चीको भाडा लिने कार्य बन्द हुनुपर्छ, बैज्ञानिक भाडादर कायम गर्न हाम्रो दबाब हुन्छ’ प्रबक्ता पौडेलले सामाजिक सञ्जाल फेसबुकमार्फत सम्बन्धित निकायको ध्यानार्कषण गराउनुभएको छ । बेनी–जोमसोम सडकखण्डस बाहेक ग्रामिण सडकहरुमा पनि अब भाडादर हेरफेर गर्नुपर्ने यात्रुको समेत गुनासो छ ।
पश्चिम म्याग्दी जोड्ने बेनी–दरबाङ सडकखण्ड, बेनी–अर्थुङे–घतान, बेनी–पुलाचौर लगायत कालोपत्रे र ढलान भएको सडकमा समेत पूरानै भाडादर कायम भएको भन्दै तत्काल समायोजन गर्न गरिएको माग सुनुवाई भएको छैन ।
यता म्याग्दीका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले पक्की सडकको भाडदर कायमका बारेमा गुनासो आएको बताउँदै थप छलफल गरेपछि मात्रै निर्णय हुने बताउनुभयो ।
यता यातायात ब्यवसायीले पेट्रोलियम पर्दाथको मुल्य बढिरहेको अवस्थामा सवारी साधनको भाडा दर घटाउन नसकिने अडान राख्दै आएका छन् । म्याग्दी जिल्लाभित्रका सडकको अध्ययन टोली बनाएर कच्चीबाट पक्की बनेका सडकमा तत्काल भाडा घटाउन जनप्रतिनिधिको समेत दवाब छ ।