म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित साहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिवार बेनी नगरपालिका–१, रत्नेचौरमा एक समारोहबीच विविध कार्यक्रमसहित वार्षिक साधारणसभा सम्पन्न गरिएको हो ।
‘गरिब र निमुखालाई आहारा, सम्पूर्ण जनमानवको साहारा’ भन्ने मूल नारासहित आर्थिक वर्ष २०६८÷०६९ बाट सञ्चालित यस सहकारीमा गएको आर्थिक वर्ष ०८०÷८१ सम्म १ सय ४३ जना शेयर सदस्यहरुबाट कुल एक करोड ११ लाख २९ हजार चारसय ५० रुपैयाँ सङ्कलन भएको छ । यसैगरी संस्थाको बचततर्फ दुई करोड २० लाख ९५ हजार दुईसय ५५ र लगानीतर्फ दुई करोड ९१ लाख ३४ हजार चारसय ६१ रुपैयाँ रहेको छ ।
सहकारीले आम्दानीतर्फ ८६ लाख सातहजार एकसय ३८ रुपैयाँ र खर्चतर्फ ८१ लाख २० हजार नौसय ९१ रुपैयाँ भएको जनाएको छ । साधारणसभाको अवसरमा सहकारीमार्फत उत्कृष्ट कारोबार गर्न अमित श्रेष्ठलाई नगद आठहजार रुपैयाँसहित प्रमाणपत्रले सम्मान गरिएको छ ।
यसैगरी विष्णु शर्मा, जमुनादेवी शर्मा, प्रमिला शर्मा, नारायणदत्त सुवेदी, ज्ञानेन्द्र पौडेल, सीता शर्मा, विना शेरचन र घनश्याम सापकोटालाई जनही पाँचहजार रुपैयाँसहित प्रमाणपत्रले सम्मान गरिएको छ ।  त्यस्तै उत्कृष्ट कर्मचारीतर्फ सहकारीका प्रवन्धक प्रविन पौडेललाई पनि नगद पाँचहजार रुपैयाँसहित प्रमाणपत्रले पुरस्कृत गरिएको थियो ।
सोही अवसरमा विभिन्न तहको परीक्षामा उत्कृष्ट अङ्क ल्याउने संस्थामा आबद्ध शेयर सदस्यहरुका छोराछोरीलाई सम्मान गरिएको छ । गएको शैक्षिक सत्रमा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसइई)मा उत्कृष्ट अङ्कसहित जिल्ला प्रथम भएकी विदिसा सुवेदी, उत्कृष्ट अङ्कसहित उत्तीर्ण हुने विवश तिलिजा, नेलोश थापामगरलाई पनि नगद र प्रमाणपत्रले सम्मान गरिएको प्रवन्धक पौडेलले जानकारी दिनुभयो ।
कक्षा ११ र १२ को परीक्षामा उत्कृष्ट अङ्क ल्याउने आशिष गुरुङ, निशान घर्तीमगर, सुमित पाण्डे, नोबेल पौडेल, आयुष आचार्य र सुजता शर्मा तथा नित्य मिनाक्षी कम्प्युटर इञ्जिनियरङ कलेज व्याङलोर इन्डियाबाट स्नातक तह उत्तीर्ण हुने दिवस खत्रीलाई पनि नगदसहित प्रमाणपत्रले सम्मान गरिएको छ ।
साधारणसभाको उद्घाटन गर्दै बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले पछिल्लो समय सहकारी संस्थासँगै बैंकहरुमा पनि समस्या देखिन थालेको बताउनुभयो । उहाँले बेनी नगरपालिकामार्फत सहकारी संघसंस्थाहरुको नियमन र अनुगमनको कार्य भैरहेको बताउँदै सहकारीको बचत फिर्ता र ऋण उठाउन पहल गरिएको जानकारी दिनुभयो ।
बचतकर्ताको बचत फिर्ता नगर्ने सहकारीलाई आवश्यक कारवाही तथा कर्जा नतिर्ने ऋणीहरुलाई सरकारी सेवासुविधाबाट बञ्चित गरिने उहाँको भनाइ छ ।
साधारणसभाको उद्घाटनसत्रमा सहकारीका अध्यक्ष गोरखनाथ सुवेदीले प्रगति र कोषाध्यक्ष दिनेश शर्माले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा सहकारीका संस्थापक अध्यक्ष देवीप्रसाद शर्मा (डिपी), निवर्तमान अध्यक्ष दिनेश केसी र लेखा तथा सुपरीवेक्षण समिति संयोजक विनोद केसीले मन्तव्य व्यक्त गर्नुभएको थियो ।  सहकारीका अध्यक्ष सुवेदीको अध्यक्षता र सचिव उमानाथ शर्माको सञ्चालनमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष रवीप्रसाद शर्माले स्वागत गर्नुभएको थियो ।

Leave a Reply