नारी जागृति महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको शनिवार २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । महिलाहरुको आफ्नै व्यवस्थापनमा म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित नारी जागृति सहकारीको विविध कार्यक्रमसहित साधारणसभा सम्पन्न गरिएको हो ।
वि.सं. २०५७ सालमा स्थापना भएको यस सहकारीमा हालसम्म कुल शेयर सदस्य ५ सय ८ जना रहेका छन् । सहकारीको शेयर पुँजी ९२ लाख ३२ हजार रुपैयाँ, जगेडा कोष पाँचलाख ९४ हजार ३१, अन्य कोष दुईलाख १४ हजार पाँचसय ६१, बचत एक करोड ४८ लाख २१ हजार छ सय एक, लगानी एक करोड ४३ लाख चारसय ९९ र तरलता ६८ लाख ११ हजार आठसय ६४ रुपैयाँ रहेको छ ।
साधारणसभामा संस्थाका अध्यक्ष चिना बानियाँले अध्यक्षको प्रतिवेदन, सचिव दुर्गा केसीले प्रगति, कोषाध्यक्ष जमुना पूर्जा पुनले आर्थिक र लेखा तथा सुपरिवेक्षण समिति संयोजक पशुपति शाहीले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साधारणसभाको अवसरमा उत्कृष्ट कारोबारतर्फ दैनिक बचतमा पुष्पा घिमिरे, मासिक बचतमा रेवती शर्मा, नारी बचतमा सरस्वती पौडेल सुवेदी, आवधिक बचतमा चेतकुमारी पौडेल र असल ऋणी राममाया नौवागलाई मायाको चिनोसहित सम्मान गरिएको थियो ।
साधारणसभाको सहकारीका ज्येष्ठ शेयर सदस्य रुक्मिणी शर्माले एक समारोहबीच उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा बेनी नगरपालिका–६ नम्बर वडाका वडा सदस्य शारदा राना, ८ नम्बर वडा सदस्य नरु थजाली, संस्थाको पूर्व अध्यक्ष अमृतदेवी बानियाँ, सल्लाहकार जमुना आचार्य, रेखाकौशल रेग्मी र सम्मानित व्यक्तित्व रेवती शर्माले नारी जागृतिले महिलालाई बचत गर्ने बानीको विकास तथा विभिन्न आयमुलक क्षेत्रमा लगानीको वातावरण बनाएर आर्थिक रुपमा बलियो बनाएको बताउनुभएको थियो ।
सहकारीमा महिलाको आवद्धताले परिवारका अन्य सदस्यमा आर्थिक निर्भरता समेत घटेको बताउँदै महिलामैत्री सहकारीलाई थप फराकिलो बनाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रम सहकारीका अध्यक्ष चिना बानियाँको अध्यक्षता, उपाध्यक्ष दिलमाया बिटालुको स्वागत र सचिव दुर्गा केसीको सञ्चालनमा सम्पन्न भएको थियो ।

Leave a Reply