लायन्स क्लव अफ वाल्टिमोर नेप्लिज अमेरिकाले च्यारेटी डिनर गरी बेनी नगरपालिकाको दुई सामुदायिक विद्यालयलाई ६ लाखभन्दा बढीको सहयोग गरिएको छ ।

अमेरिकाको बाल्टिमोरमा बसोबास गर्ने नेपाली समुदायले स्थापना गरेका क्लवले बेनी नगरपालिका–८,कालीपुलको बालमन्दिर मावि र बेनपा–२ बगरफाँटमा रहेको सरस्वती आधारभुत विद्यालयलाई शुक्रबार एक समारोहका बिच सहयोग गरिएको हो ।

लायन्स क्लव अफ लभ्लीहिलको स्थानीय ब्यवस्थापनमा बेनी नगरपालिकाका मेयर सुरत केसी, लायन्स क्लव अफ वाल्टिमोर नेप्लिजका चार्टर प्रेसीडेन्ट बैकुण्ठमान श्रेष्ठले बालमन्दिर माविमा ९ थान कम्प्यूटर, इन्टरनेट जडान, पूरानो कम्प्यूटर तथा विद्युत मर्मत, रङरोगन र सन्देशमुलक आर्ट गरी कुल ५ लाख ५० हजार बराबरको सहयोग गरेका छन् ।

सहयोग हस्तान्तरणमा बोल्दै बेनी नगरपालिकाका मेयर सुरत केसीले सामुदायिक विद्यालयमा कम्प्यूटर ल्याव सञ्चालन गरेपनि प्रभावकारी रुपमा सञ्चालन नहुने समस्या रहेको बताए ।‘कतिपय कम्प्यूटर कक्ष माकुराले जाल लगाइरहेको अवस्थामा समेत भेटिएको छ, अहिले कम्प्यूटर सीप अति आवश्यक छ’ मेयर केसीले भने ।

उनका अनुसार कम्प्यूटरको दक्ष जनशक्तीको अभाव अझै पनि रहेको बताए । सोही अवसरमा सहयोगदाता लायन्स क्लव अफ वाल्टिमोर नेप्लिजका चार्टर प्रेसीडेन्ट बैकुण्ठमान श्रेष्ठले नियमित कक्षा सञ्चालनका लागी मर्मत कोष समेत आवश्यकता रहेको बताए ।

‘यहाँको अवस्था भिडियोमा हेर्दा भाबुक भएका थियौं, अवका दिनमा पनि सहयोग गर्नेछौ’ संस्थापक श्रेष्ठले भने । कार्यक्रममा बेनपा–८ का वडा अध्यक्ष उत्तमकुमार कर्माचार्य, बालमन्दिर माविका पूर्व विब्यस अध्यक्ष मनबहादुर चर्माकार, प्रधानाध्यापक सुरेन्द्र केसी, नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष हरिकृष्ण गौतम र विद्यार्थी रेविका परियारले मन्तब्य राखेका थिए ।

त्यसैगरी बेनपा–२ बगरफाँटको सरस्वती आमाविलाई एक लाख बराबरको दुई थान कम्प्यूटर र एक थान कलर प्रिन्टर सहयोग हस्तान्तरण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक छेमबहादुर गर्बुजाले सहयोगबाट नियमित पठनपाठन र प्रशासनीक काममा सहज भएको बताए ।

यसैबिच च्यारेटी डिनरका लागि तयार पारिएको भिडियोमा प्रस्तुत गरिएकी सरस्वती आमाविकी कक्षा ६ मा अध्ययनरत छात्रा सृष्टि विकलाई ३० हजार, बालमन्दिर माविमा कक्षा ८ का रिजन विक र कक्षा ५ की सोनिया क्षत्रीको पठनपाठनका लाई प्रति विद्यार्थी ३० हजार सहयोग हस्तान्तरण गरिएको थियो ।

स्थानीय आयोजक लायन्स क्लव अफ लभ्लीहिलका अध्यक्ष सोहन श्रेष्ठले अमेरिकामा रहेका कालिपुलका यूवा प्रेम सिकेको सहयोगमा उक्त कार्यक्रमका लागि अवसर मिलेको बताउँदै आगामी दिनमा लायन्स क्लव अफ वाल्टिमोरसँग सहकार्यका लागि प्रतिबद्ध रहेको बताउनुभयो । सहयोग हस्तान्तण कार्यक्रमको सञ्चालन क्लवका सचिव ओमप्रसाद शर्माले गरेका थिए।

च्यारिटी डिनरमा दुबै विद्यालयको डकुमेन्टी प्रस्तुत गरिएकोमा ६४ जनाले १ सय डलर तथा म्याग्देली सहित अन्य संघसंस्थाले समेत सहयोग गरेकोमा खर्च कटाएर बाँकी सहयोग गरिएको संयोजनकर्ता यूवा समाजसेवी प्रेम सिकेले बताए । विद्यालयमा कम्प्यूटर कक्षा सञ्चालनमा समस्या भइरहेको अवस्थामा उक्त सहयोगले निकै राहत भएको छ ।

Leave a Reply