म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा अवस्थित नर्थ अन्नपूर्ण आधार शिविरमा १ करोडको लागतमा भौतिक संरचना बन्ने भएको छ । म्याग्दीको प्रमुख पर्यटकीयस्थल बन्दै गएको बेसक्याम्पमा जाने स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गरी चालु आर्थिक बर्षमा सेल्टर, शौचालय, खानेपानी, चौतारी, टि–सप र खुल्ला म्यूजियम बनाउने गरी बजेट विनियोजन भएको छ ।

गाउँपालिकाले दुई वटा सेल्टर लज सन्धिखर्क, भुसकेटमेला, शौचालय र खानेपानी हुमखोला, फुतफुते, गुफाफाँट, भुसकेटमेलामा बनाउने गाउँपालिका अध्यक्ष भारतकुमार पुनले बताए ।

‘अहिले अस्थायी प्रकृतिका संरचना बनाइने छ, अब पूर्वाधारमा प्राथमिकता दिएर बजेट बिनियोजन हुन्छ’ गाउँपालिका अध्यक्ष पुनले भने । उनका अनुसार सडक सञ्जाल जोडेर पदमार्गअन्तर्गत पर्ने फुतफुते झरना सहित पर्यटकको आश्रयस्थल रहेका स्थानमा टि–सप समेत बनाइने छ ।

‘अब टेन्ट र खानाबस्नको समस्या नहुने गरी नै संरचना थपिदैछ, पर्यटकलाई कुनैपनि समस्या हुन नदिने गरी पूर्वाधारमा प्राथमिकता दिएका छौ’ अध्यक्ष पुनले भन पदमार्गमा ब्यवसाय गर्नेहरूलाई फोहोर ब्यवस्थापन सहित विभिन्न सर्तहरू समेत गाउँपालिकाले राखेको छ ।

पर्यटकहरूलाई आकस्मिक आश्रयस्थलको आवश्यकता परेका अन्य क्षेत्रहरूमा समेत अस्थायी प्रकृतिका संरचनाका लागि समेत गाउँपालिकाको सर्वे टोलीले थप अध्ययन गर्ने प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्मा कँडेलले बताए। ‘सुविधा थपिदैं जान्छ,अहिलेका संरचनाहरूलाई दिगो बनाउन आवश्यक छ’ अधिकृत कँडेलले भने ।

गाउँपालिकाले फ्रान्सेली हिमाल आरोही मौरिस हर्जोग र लुइस लचेनलले अन्नपूर्ण प्रथममा पहिलो आरोहण गरेर इतिहास रचेको स्थानमा रहेका प्रमाणहरूको संरक्षणका लागि खुल्ला म्यूजियम समेत बनाउने बताइएको छ। आरोहण दलको नेतृत्व मौरिस हर्जोगले बेसक्याम्पमा छोडेका प्रमाणको संरक्षणका लागि परिवारले समेत सघाउने प्रतिबद्धता जनाएका छन् ।

नारच्याङदेखि कुल ४२ किलोमिटरको दूरीमा रहेको नर्थ अन्नपूर्ण आधार शिविर पुग्नका लागि हुमखोलासम्मको २० किलोमिटर दूरीको बाटो सडक सञ्जाल जोडिएकाले पर्यटकलाई सहज छ। हुमखोलादेखि आधार शिविरसम्मको २२ किलोमिटर दूरीमा ‘मौरिस हर्जोग’ पदमार्गस्थलको यात्रालाई थप अविस्मरणीय बनाउन आर्कषक पूर्वाधारलाई प्राथमिकता दिनुपर्ने पर्यटन ब्यवसायीको भनाई छ ।

नर्थ अन्नपूर्ण हिमालको मुख्य आधार शिविर चार हजार ३०५ मिटर उचाइमा पर्छ भने अन्नपूर्ण फ्रेन्क, तिलिचो पिक, वराहशिखर र नीलगिरि साउथ हिमालले घेरिएको समथर फाँटबाट दर्जनौँ हिमशृंखलाको अवलोकन तथा विशाल पञ्चकुण्ड ताल यहाँको थप आकर्षण हो । विश्वको दसौँ र नेपालको आठौँ अग्लो अन्नपूर्ण प्रथमको नर्थ हिमालबाटै सुरु गरेका म्याग्दीमा जन्मिएका पर्वतारोही निर्मल पूर्जाले विश्व किर्तीमानी कायम गरेका थिए ।

Leave a Reply