म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दानामा अवस्थित ज्ञानप्रकाश माध्यमिक विद्यालयबाट आधारभूत, मावि र उच्च माविमा उत्कृष्ट अंक ल्याउने ३ विद्यार्थीले २ लाख ३० हजार नगद पुरस्कार पाएका छन्। आरोही निर्मल पुर्जाले स्थापना गरेको ‘निम्स दाइ’ फर एजुकेसनले कक्षा १२ मा व्यवस्थापन सङ्कायतर्फ उत्कृष्ट नतिजा ल्याउने सन्तोष विकलाई नगद १ लाख नगदसहित सम्मान पत्रले सम्मान गरिएको छ।

पर्वतारोहणको क्षेत्रमा दर्जन कीर्तिमानी कायम गरेका पुर्जाले विद्यालयमा स्थापना गरेको ४० लाखको अक्षयकोषबाट गत वर्षको एसइईमा विद्यालय प्रथम हुने रिचा केसी ८० हजार र कक्षा ८ मा प्रथम हुने आगमन सोनामले नगद ५० हजार नगद र सम्मान पत्र प्राप्त गरेका छन्। उत्कृष्ट विद्यार्थीलाई म्याग्दीका प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा, अन्नपूर्ण गाउँपालिका उपाध्यक्ष दिवाकुमारी पुन तिलिजा, आरोही पूर्जाका दाजु जितबहादुर पुर्जा, फाउण्डेशनका कर्मचारी गोविन्द बरुवालले पुरस्कार वितरण गरेका थिए। सोही अवसरमा दानामा रहेका सरस्वती उमावि, ज्योति उमावि, सुवा उमावि, जनकल्याण उमाविमा रहेका विद्यार्थी अनुसार नगद र ज्ञानप्रकाश माविको शैक्षिक विकासका लागि १ लाख ४९ हजार सहयोग गरिएको थियो।

पर्वतारोहणका क्षेत्रमा काम गर्ने विभिन्न कम्पनीको सामाजिक उत्तरदाहित्व अन्तरगत शिक्षा क्षेत्रमा सहयोग गर्ने गरी विद्यालयमा स्थापना भएको कोषबाट हरेक वर्ष उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण गरिने विद्यालयका प्रधानाध्यापक शान्तबहादुर नेपालीले बताए। पुरस्कार तथा सहयोग वितरण कार्यक्रममा नेपाल शिक्षक महासङ्घ म्याग्दीका अध्यक्ष जयराम सुबेदी, शिक्षा विकास कोषका अध्यक्ष कृष्ण तुलाचन, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर पूर्जाले उक्त पुरस्कारले विद्यार्थीको पढाइमा प्रतिस्पर्धा हुने र उच्च शिक्षामा समेत सहज हुने बताएका थिए।

‘निम्स दाइ’ फर एजुकेसनका संस्थापक आरोही पुर्जाले आफ्ना कम्पनीको आम्दानीबाट शिक्षा, स्वास्थ्य, सामाजिक एवम् मानवीय सेवाका क्षेत्रमा सहयोग गर्ने गरेको बताए। वार्षिक आकर्षक नगद सहितको सम्मानले विद्यालयमा विद्यार्थीको पहुँच बनाउन र उच्च शिक्षा हासिल गर्न विद्यालयमा आकर्षित गराउने विद्यालयका उच्च शिक्षा संयोजक बाबुराम पौडेलको भनाई छ। अन्नपूर्ण–३ दानामा जन्मिएका पूर्जाले विश्वका ८ हजार मिटरभन्दा अग्ला संसारका १४ वटा हिमालमा अक्सिजन र विना अक्सिजनको सहायतामा ४८ पटक आरोहण गरेका छन् । विश्वका सातै महादेशमा रहेका अग्ला हिमालको आरोहण गरेका आरोही पूर्जाले फाउण्डेशनमार्फत नेपाल तथा विश्वका विभिन्न देशमा सहयोग गर्ने गरेका छन्।

Leave a Reply