समुद्री सतहदेखि दुईहजार चार सय मिटरको उचाइमा अवस्थित म्याग्दीको मालिका गाउँपालिका-७मा पर्ने प्रभुचेला धुरीमा शनिबार प्रथम विश्व ध्यान दिवसका दिन एकसय ८० जनाले सामुहिक ध्यान गरेका छन् । उक्त स्थानमा पहिलोपटक पुग्नुभएकी बेनी नगरपालिका–७, बिरेन्द्रचोककी प्रतिक्षा श्रेष्ठ निकै उत्साहित हुनुभयो ।

नियमित योगसाधनमा सक्रिय प्रशिक्षक समेत रहनुभएकी श्रेष्ठले बस्तीबाट टाढा र जङ्गलका बीचमा शान्त हावापानी र वातावरणमा योग ध्यान गर्नका लागि प्रभुचेला उपयुक्त ठाउँ भएकोे बताउनुभयो ।

बिम गाउँको शिर र माथिल्लो क्षेत्रमा मालिकाधुरी रहेको धना जगलमा अवस्थित उक्त स्थानको जंगल आसपासका क्षेत्र समेत ध्यानका लागी उत्तम रहेको योगीहरूको भनाई छ । प्राकृतिक सौन्दर्यले युक्त यस ठाउँमा परापूर्वकालमा ऋषिमुनिहरुले तपस्या गरेर ज्ञान आर्जन गरेका तथ्यहरु यहाँ अहिलेसम्म पनि देख्न सकिन्छ ।

परापूर्वकालमा ऋषिमुनिहरुले तपस्या गरेर ज्ञान आर्जन गरेको प्रभुचेलालाई तनाव व्यवस्थापन, मानसिक र शारीरिक स्वास्थ्यका लागि उपयोगी मानिएका मेडिटेसन गर्ने स्थलका रुपमा विकासमा स्थानीय जुटेपछि अहिले चिटिक्कको संरचना बनेको छ ।

प्रभुचेला धुरी प्रवर्द्धन समाजका अध्यक्ष टीकाबहादुर जुग्जाली (नवीन) ले गण्डकी प्रदेश सरकारको ५० लाख र प्रवासमा रहेका यहाँका स्थानीयको २५ लाख सहयोगमा मेडिटेसनस्थलका पूर्वाधार निर्माण भएको छ । ध्यान केन्द्र स्थल वरपर घेराबार गर्ने, सार्वजनिक शौचालय, हवन कुण्ड र पक्की पर्खालको काम भएको छ ।

प्रवासमा रहेका बिमवासीले जुटाएको २५ लाखबाट गोलो आकारको ध्यान गर्ने भवन निर्माणले आउने तपस्वी, भक्तजन र पर्यटकलाई आर्कषित गरेको छ । प्रभुचेला धुरीमा करिब एक सय वर्षअघिसम्म ऋषिमुनिका लागि तपस्या स्थल थियो । स्वर्गद्वारी महाप्रभुका उत्तराधिकारी कपिलानन्द स्वामीले वि.सं.१९७० देखि १९७५ सम्म यही ठाउँमा तपस्या गर्नुभएको थियो।

कपिलानन्द स्वामीले तपस्या गर्ने क्रममा बनाएको कुटी, साधना स्थल र हवन कुण्डको भग्नावशेष अझै रहेको छ । ध्यान केन्द्र आसपासमा रहेको गुराँसे जंगललाई समेत प्रकृतिमा रमाउने केन्द्रको रुपमा विकास गर्न सकिने स्थानीय अगुवा छकप्रसाद पाइजाको भनाई छ । यस क्षेत्रलाई मालिका गाउँपालिकाले समेत प्राथमिकताका साथ सहयोग गरिरहेको छ ।

यहाँबाट धवलागिरि र गुर्जा हिमशृङ्खला अवलोकन गर्न पाइन्छ । बिमको सेराङबाट प्रभुचेला धुरीसम्म सडक जोडिएको छ। म्याग्दीको सदरमुकाम बेनीदेखि सवारीसाधनमार्फत करिव चारघण्टामा प्रभुचेला धुरीमा पुग्न सकिन्छ ।

Leave a Reply