म्याग्दी जिल्लामा रहेको अन्नपूर्ण हिमाल आरोहण गर्न शिशिर ऋतुमा पनि पर्वतारोही आएका छन्। मङ्सिर–पुसको शिशिर ऋतुलाई हिमाल आरोहण र उच्च हिमाली क्षेत्रको पदयात्राका लागि प्रतिकूल मानिन्छ। वसन्त र शरद ऋतु आरोहण र पदयात्राका लागि उपयुक्त याम हुन्।
अन्नपूर्ण आधार शिविर जोड्ने मौरिस हर्गोज पदमार्गका अभियन्ता तेज गुरुङले सेभेन समिट ट्रेकिङ कम्पनीबाट आएका ४ आरोही आज नारच्याङबाट आधार शिविरतर्फ प्रस्थान गरेको बताए।
“नारच्याङबाट गाडीमा हुमखोला पुगेका स्पेन, इटली र इराकका ४ जना पर्वतारोही त्यहाँबाट पैदलयात्रामार्फत आधार शिविरतर्फ गएका जानकारी आएको छ”, उनले भने, “शिशिर ऋतुमा अन्नपूर्ण आरोहणका लागि आरोही आएको यसअघि थाहा छैन।”
नेपाली सहयोगी र शेर्पासहित आएका पर्वतारोही केही दिन आधार शिविरमा बस्ने र अन्नपूर्ण आरोहण गरेर फर्कने गुरुङले जानकारी दिए।
८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल र आरोहण गर्न जाने आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको भूगोलमा पर्छ।
समुन्द्री सतहबाट ४ हजार १ सय मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविर पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्ने गरेको पदमार्गका अभियन्ता गुरुङले बताए।
दशैँ, तिहारको समयमा करिब ५ हजार पर्यटकले आधार शिविर क्षेत्रको भ्रमण गरेका उल्लेख गर्दै उनले चिसो बढेसँगै आधार शिविर र पदमार्गका खोला, तालमा हिउँ जम्न थालेपछि पर्यटकको आगमन घट्ने गरेको जानकारी दिए।