ग्रामीण भेगका महिलाहरुलाई पेशा तथा व्यवसायसँग जोडेर आत्मनिर्भर बनाउनको लागि सौन्दर्यकला सम्बन्धी डिप्लोमा तालिम सुरु भएको छ । शिवालय सामुदायिक सिकाइ केन्द्रको १२औं वार्षिक साधारणसभाको अवसर पारेर सौन्दर्यकला सम्बन्धी ४५ दिने डिप्लोमा तालिम सञ्चालन गरिएको हो ।

म्याग्दीको बेनी नगरपालिका–४ नम्बर वडा कार्यालयको समन्वय तथा सहजीकरणमा सिङ्गाको शिवालय सामुदायिक सिकाइ केन्द्रको आयोजनामा तालिम सञ्चालन भएको छ । तालिमको उद्घाटन गर्दै बेनी नगरपालिकाको शिक्षा अधिकृत कमलप्रसाद ढकालले तालिमपश्चात् सिप सिकेर आत्मनिर्भर बन्न महिलाहरुलाई सुझाव दिनुभयो । उहाँले निरक्षरलाई साक्षर बनाउने तथा साक्षरलाई श्रम र सिपसँगै स्वरोजगार बनाउने सामुदायिक सिकाइ केन्द्रको उद्देश्य रहेको बताउनुभयो ।

बेनी नगरपालिका ४ नम्बर वडाका वडा अध्यक्ष अणबहादुर खड्का (भगवान)ले महिला दिदीबहिनीहरुलाई लक्षित गरेर वडा कार्यालय र नगरपालिकाले आयआर्जन तथा सिपमूलक सम्बन्धी विभिन्न किसिमका तालिम तथा कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको बताउनुभयो । उहाँले तालिममा सहभागी महिलाहरुले प्रभावकारी रुपमा तालिम लिएर पेशा तथा व्यवसाय सञ्चालन गरी आफू आत्मनिर्भर बन्नुपर्ने बताउँदै सौन्दर्यकला सम्बन्धी तालिमलाई भरपुर रुपमा उपयोग गर्न सुझाव दिनुभयो।

साधारणसभाको अवसरमा शिवालय सामुदायिक सिकाइ केन्द्रका सदस्य रामप्रसाद शर्माले केन्द्रको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा बेनी नगरपालिका ४ नम्बर वडाका वडा सदस्य केन खत्री र तालिमका प्रशिक्षक सौन्दर्यकला व्यवसायी संघका अध्यक्ष एवं प्रजिया व्युटीपार्लर एण्ड टे«निङ सेन्टरका सञ्चालक गंगा थापा कार्कीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम शिवालय सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष भरतप्रसाद शर्माको अध्यक्षता, सदस्य सन्दीपा शर्माको स्वागत र सामाजिक परिचालक सीता थापा कुँबरको सञ्चालनमा सम्पन्न भएको थियो । सौन्दर्यकला सम्बन्धी तालिममा ४ नम्बर वडाका ३० जना महिलाहरुको सहभागिता रहेको छ भने गतवर्ष आधारभूत तालिममा सहभागी भएका महिलाहरुलाई यसवर्ष सौन्दर्यकला सम्बन्धी डिप्लोमाको तालिम सञ्चालन गरिएको आयोजकले जनाएको छ ।

Leave a Reply