म्याग्दी बहुमुखी क्याम्पस र गण्डकी प्रदेशकै उत्कृष्ट क्याम्पस गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस पोखरा बीच संस्थागत सहकार्यको सम्झौता भएको छ ।
म्याग्दी बहुमुखी क्याम्पसका अध्यक्ष सोमनाथ ढुङ्गना, गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस प्रमुख धर्मराज बराल र म्याग्दी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख श्रीधर सुवेदीले बिच सम्झौतामा हस्ताक्षर भएको हो । अनुसन्धान कार्यमा सहकार्य गर्ने, विद्यार्थी, शिक्षक तथा कर्मचारीका अनुभवहरु साटासाट गर्ने, शैक्षिक गुणस्तर वृद्धि गर्नका लागि विभिन्न सहकार्य गर्ने जस्ता विषयको सम्झौता पत्रमा हस्ताक्षर गरिएको थियो ।
क्याम्पसको शैक्षिक तथा विविध ज्ञानसीप हस्तान्तरण, समस्या समाधान सहित प्राध्यापक,विद्यार्थी विचको सुमुधुर सम्बन्ध स्थापित गर्न,संयुक्त गोष्ठी, सभा,भेला प्रदर्शनी तथा बैठकको सह-आयोजना गरिने छ । यसका अतिरिक्त सम्झौतामाप्राज्ञिक अनुसन्धान, शैक्षिक सूचना तथा प्रकाशन, कला तथा संस्कृतिका क्षेत्रहरूमा दुई क्याम्पस बीच सहकार्य गर्ने उल्लेख गरिएको छ ।
म्याग्दी बहुमुखी क्याम्पसले शैक्षिक, प्रयोगात्मक तथा उत्पादनमुखी क्षेत्रमा विद्यार्थीलाई लक्षित गरी विभिन्न तालिम सञ्चालन गरिरहेको अवस्थामा क्याम्पसहरुसँग समेत सम्बन्ध स्थापित गर्ने उदेश्य रहेको क्याम्पस प्रमुख श्रीधर सुबेदीको भनाई छ । उक्त कार्यक्रममा गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसका कोषाध्यक्ष युवराज लामिछाने, आइक्यूएसी। प्रमुख राजकुमार सुवेदी लगायतको उपस्थिती रहेको थियो ।
क्याम्पसमा कार्यरत शिक्षक तथा कर्मचारीका एवम् विद्यार्थीहरुका अनुभवहरु आदान–प्रदान गर्ने, अनुसन्धान कार्यमा सहकार्य गर्ने जस्ता क्रियाकलापले क्याम्पसको गुणस्तरीय शिक्षामा थप बल पुग्ने भएकाले नेपालभित्रका अन्य उत्कृष्ट क्याम्पसँग सहकार्यको तयारी भइरहेको सहायक क्याम्पस प्रमुख एवम् सूचना अधिकारी नारायणप्रसाद सुबेदीले बताउनुभयो । यसअगाडी क्याम्पसले तनहुँको व्यास नगरपालिका वडा–१ विज्ञानचौरमा रहेको आदिकवि भानुभक्त क्याम्पससँग समेत संस्थागत सहकार्यको सम्झौता गरेको थियो ।