काठमाडौंकी ३२ वर्षीया रिना शर्मा (नामथर परिवर्तन) आफैं राम्रोसँग सामाजिक सञ्जाल चलाउन जान्ने महिला हैनन्। डेढ वर्षअघिको कुरा हो, एक दिन उनको छोराको फेसबुक अकाउन्टबाट उनको अनुहारसहितको अश्लील तस्बिर पोस्ट भयो, जुन तस्बिरमा अश्लील क्याप्सन पनि राखिएको थियो तर यो तस्बिर न उनले पोस्ट गरेकी थिइन् न त उनका छोराले। उनको फेसबुकबाट उनको अश्लील तस्बिर पोस्ट भएको कुरा उनको छोराले स्कुलको प्रिन्सिलपलबाट थाहा पाए।

यो घटनाले उनी आकाशबाट खसे झैं भए। घटनापछि उनी तीन दिनसम्म घरै गएनन्। आमाको चरित्र हत्या भएको घटनाले उनी घर फर्किन सकेका थिएनन्। खोजी गर्दा उनको अश्लील फोटो छोराले नभई उनकै पतिले पोस्ट गरेको पत्ता लाग्यो। त्यसपछि उनी राष्ट्रिय महिला आयोगमा पुगिन्।

आयोगले घटनाको दोषीउपर कारबाही गर्न साइबर ब्युरोमा रेफर गर्‍यो। अहिले त्यो जिल्ला अदालतमा विचाराधीन रूपमा रहेको राष्ट्रिय महिला आयोगले जनाएको छ। आयोगका अनुसार पत्नीको चरित्रहत्या गरी आफैं घर छाड्न बाध्य बनाउने उद्देश्यले सामाजिक सञ्जालमा पत्नीको अश्लील फोटो पोस्ट गरेका थिए।

गत वैशाखमा रामेछापकी २८ वर्षीया महिला राष्ट्रिय महिला आयोग पुगिन्। उनको पनि आफ्नै पतिले उनको अनुहार र शरीरचाहिँ अरूको जोडेर अश्लील तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेका थिए। चरित्रहत्या भएपछि उनी कारबाहीको खोजीमा राष्ट्रिय महिला आयोग पुगेकी थिइन्। आयोगले उनलाई पनि अनुसन्धान र कारबाहीका लागि साइबर ब्युरोमा सिफारिस गरेको थियो।

तेस्रो घटना, काठमाडौं बस्दै आएका उपत्यकाबाहिरका एक जोडीको हो। पति जागिरे थिए। पत्नी घरमै बस्थिन्। जब जागिरबाट फर्किन्थे तब उनी पत्नीलाई यो या त्यो बहानामा गाली गर्थे। खाना मिठो नपकाएको, दिनभर केही काम नगरी बसेको र दिनभर अरू केटासँग फोनमा बोलेको आरोपमा उनलाई हरेक दिन गालीगलोज गर्थे। यी गालीगलोजले आजित बनेपछि पत्नी गत वैशाखमा राष्ट्रिय महिला आयोगमा उजुरी दिइन्।

छलफलका क्रममा पत्नीले आफूलाई सही नसक्नु पीडा भएको बताएकी थिइन्, तर पतिले कुटपिट नगरेको, घरनिकाला नगरेकाले आफूबाट कुनै हिंसा नभएको दाबी गरेका थिए। आयोगको अध्ययनमा उनलाई पतिले मानसिक यातना दिएर छाड्न चाहन्थे।

आयोगमा आउने महिला हिंसाका उजुरीको छलफल र अनुसन्धानमा सहभागी राष्ट्रिय महिला आयोगकी अधिवक्ता उषा गजमेरका अनुसार यी तीनवटै घटना घरेलु हिंसाका नयाँ स्वरूप हुन्।

अहिले पहिलाको जस्तो सिधा कुटपिट र घर निकालाको सट्टामा डिजिटल हिंसा, गालीगलोज र अन्य खालका मानसिक तथा आर्थिक यातना दिने गरिन्छ, जुन हिंसामा पति, सासू, ससुरा तथा परिवारका आफन्त सहभागी हुन्छन्। ‘पहिला कुटपिट गरेर निलडाम लिएर आउँथे, अहिले मानसिक यातनाले थाकेर आउँछन्’, उनले भनिन्।

पछिल्लो सयम आर्थिक हिंसा, मानसिक हिंसा, डिजिटल हिंसा र यौनजन्य हिंसाका उजुरी बढी आउने गरेको राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुली बताउँछिन्।

विवाहित पुरुषले घरबाहिर विवाहको प्रलोभन देखाई लिभिङ टुगेदरमा बस्ने, महिलालाई गर्भवती बनाएर विदेश जाने र सम्पर्कविहीन हुने, त्यसरी जन्मिएका बालबालिकाको जन्मदर्ता नहुने समस्याले थप प्रताडित बन्ने नयाँ स्वरूपका हिंसा हुने गरेका छन्।

नेपाल प्रहरीकै तथ्यांकअनुसार आर्थिक वर्ष २०८०/८१ मा दर्ता भएका कुल साइबर अपराधका घटनामध्ये सबैभन्दा बढी महिला पीडित छन्। कुल १९ हजार सात सय ३० वटा साइबर अपराधका घटनामा महिला मात्र आठ हजार चार सय ४३ जना र बालिका २ सय ५३ जना पीडित बनेको तथ्यांक छ। यो समाचार नागरिक दैनिकमा प्रकाशित छ । यो समाचार नागरिक दैनिकमा प्रकाशित छ । 

Leave a Reply