म्याग्दीको बेनी नगरपालिका-५,उपल्लाचौरका एक दम्पत्तीको मृत्यु भएपछि परिवारलाई काजकिरिया उम्काउन सकस परेको छ ।चरम गरिबीकै कारण करिब ५ महिना अगाडी नदीमा हाम फालेर बेपत्ता भएकी मायाँ किसान र एक साता अगाडी श्रीमान शिव किसानको मृत्यु भएपछि परिवारलाई काजकिरिया उम्काउन धौ-धौ भएको हो ।
आफ्नो घर नभएपछि छिमेकीको घरमा बस्दै आएका शिव दम्पत्तीको मृत्युसँगै छोराछोरीले खुल्ला आकाशमुनि अर्काको बारीमा पाल टाँगेर  काजकिरिया गरिरहेका छन् ।
दुई छोरा र एक छोरीलाई गाउँमा मजदुरी गरी गुजारा चलाउँदै आएकोमा मृत्यु भएपछि छोराछोरीको बिचल्ली भएको छ। ’बस्नलाई बास छैन्,उनीहरूको नाममा कतै पनि टुक्रा जग्गा छैन्। चिसोमा कठ्याङ्ग्रिदै काजकिरिया गर्नुपर्ने बाध्यता छ’स्थानीय शान्ति शर्मा रेग्मीले भनिन् ।
उनका अनुसार बुबाआमा दुबैको एकैपटक काजकिरियामा बस्नुपरेपछि छरछिमेकीले बेनी नगरपालिका, नेपाल रेडक्रस पुलाचौर शाखाबाट पाल सहित साम्रागी जुटाएर जेनतेन गरी बारीमै किरिया बस्न मिल्ने गरी ओत लाग्ने ठाउँ बनाइदिएका थिए।‘किरिया बस्दा राम्रोसँग ओत लाग्ने पालसम्म छैन,‘एक छाक खानेकुरा पनि थिएन’मृतकका आफन्त टिका सार्कीले बताइन् ।
उनले काजकिरियामा अनेक समस्या भएपनि समुदायले तत्काल सहयोग गरेको बताइन्। उनले गरिबीकै कारण जेठो छोरा शिव र कान्छी बहिनी पुजाले पढाइ छोडेर मजदुरी गर्ने गरेको बताइन् । अर्का छोरा लक्ष्मण किसान जनकल्याण माविमा कक्षा १० मा अध्ययनरत छन्। नेपाली सेनाको एनसिसी तालिम समेत लिएका उनी पढाइमा पनि अब्बल विद्यार्थीको रुपमा चिनिन्छन् ।
‘दिन त जसोतसो बितिरहेको छ,रातमा कठ्याग्रिदो जाडोमा पालबाट छिरेको सिरेटोले लुकलुक मुटु कमाउँछ’ किरियापुत्री सुजनले भने । उनले काजकिरिया सकिएपछि बस्ने बासको समस्या रहेको बताए ।
मृतक शिव र मायाँ मदिरा सेवन गर्ने भएपनि समुदायमा मजदुरी गर्ने गरेकाले अहिले पुलाचौरका विभिन्न बस्तीबाट सहयोग जुटाएर दिन थालिएको छ ।
काजकिरियाका लागि सहयोग जुटेको र बाँकी रहेको आर्थिकबाट छिमेकीको जग्गामा घर बनाएर सहज जिवनयापन गर्ने चाहना रहेको बताउँदै थप सहयोगका लागि स्थानीयबासीले समेत अनुरोध गरेका छन् ।
सोमबार नेपाली कांग्रेसका पूर्व सभापति एवम् संविधानसभा सदस्य रेशमबहादुर बानियाँको नेतृत्वमा गएको टोलीले  ११ हजार ७ सय आर्थिक सहयोग गदैं घर तथा जग्गाजमिनका लागि समेत आवश्यक सहयोग जुटाउन पहल गर्ने प्रतिबद्धता जनाए । ‘गरिबलाई काजकिरिया गर्न समेत मुस्किल छ, यो अवस्थामा सबैको सहयोग आवश्यक छ’ संविधासभा सदस्य बानियाँले भने ।
विपन्न तथा अभिभावकविहिनलाई सहज जिवनयापनका लागि समुदायबाट भएको प्रयासका प्रशंसा गदैं यूवा नेता बिक्रम बोगटी, बेनी नगरकार्यपालिका सदस्य मनकुमारी विक, पूर्व स्रोतब्यक्ति दुर्गाराम सुबेदी लगायतले उच्च शिक्षाका लागि लक्ष्मण विकलाई शैक्षिक साम्रागी सहित आगामी दिनमा बस्ने बासको सहजताका लागि समेत सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।
यसैबीच पुलाचौरको दलित बस्ती  रहेका पुरुन्डी आमा समुहले ५ हजार ५५ र पुरुन्डी यूवा क्लवले १० हजार १५ रुपैयाँ सहयोग गरेको यूवा क्लवका बिमलराज परियारले जानकारी दिए ।
थप जानकारी र सहयोगका लागि
शान्ति शर्मा ९८४७६२६५३४
टंकनाथ शर्मा ९८४७६५०७३८

Leave a Reply