अनलाइन भिडियो गेम पब्जीका कारण म्याग्दीमा एक किशोरले ज्यान गुमाएका छन् । बिहान, बेलुकी र रातीसमेत मोबाइल फोन हात पर्दा पब्जी र फ्रिफायरको लतमा फसेका किशोरले आबेगमा आफ्नो ज्यान आफैं फाले । यो अकल्पिनीय घटनाबाट परिवारमात्रै नभई समाज नै स्तब्ध भएको छ ।

पढाइमा अब्बल, मिलनसार तथा विद्यालयकै एक अनुशासित किशोरलाई डिजिटल कुलतकै कारण ज्यान गुमाउनुपरेको छ। लगातार पब्जी र फ्रिफायर जस्तो गेम खेल्ने गरेका किशोरजस्ता धेरै बालबालिका अहिले पढाइभन्दा अनलाइन गेममा ध्यान दिदाँ परिवार र विद्यालयका लागि समेत टाउको दुखाईको बिषय बनेको छ ।

‘मेहनती विद्यार्थीलाई समेत गेमिङमा फसेको देखिन्छ, अब समाजमै यस्ता जनचेतनामुलक अभियान सञ्चालनको आवश्यकता छ’ शैक्षिक ब्यक्ति दुर्गाराम सुबेदीले भने ।उनले समाजलाई सकारात्मक सन्देश प्रवाह गर्ने, विद्यार्थीमा अनलाइन खेलबाट पर्ने असरका बारेमा जानकारी गराउन समयसमयमा कक्षा सञ्चालन गर्नुपर्ने बताए।

कलिलै उमेरमा अनलाइन खेल, सामाजिक सञ्जाल, टिकटक लगायतका खेलहरुमा ब्यस्त हुदाँ घरपरिवार बाहेक समाजमा पनि अराजकता फैलिएको छ ।पछिल्लो तथ्याङ्कमा लागुऔषधको प्रयोगकर्तामा किशोरको संलग्नता अत्याधिक देखिएको छ।

लागु्औषधको प्रयोगकर्ताको अर्को कुलत भनेको अनलाइन गेम समेत भएकाले दुबै किसिमका कुलत समाजका लागि डरलाग्दो विषय भएको प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठ बताउँछन् । ‘यो दुबै किसिमका कुलतबाट यूवापुस्ता नराम्रोसँग बिग्रिएको छ, हामीले सचेतनामुलक अभियानलाई अब थप ब्यापक बनाउनुपर्छ’ प्रनाउ श्रेष्ठले भने ।

बेनीबजारमा चोरीमा संलग्न किशोरको मोवाइलमा समेत पब्जि भेटिएको र नयाँ मोवाइल चोरीको क्रममा पटकपटक भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कुलतमा फसेका बालबालिका, यूवाहरूलाई समयमै नियन्त्रण गर्न नसकिए पछि परिवारको मात्रै नभई समाजकै समस्या हुने भएकाले अब जिल्लाका सबै स्थानीय तह, सरोकारवाला निकायले विद्यालयमार्फत समुदायस्तरमा समेत अभियान सञ्चालनमा ध्यान दिनुपर्ने गैरसरकारी संस्था महासंघका अध्यक्ष दिपक पौडेलको भनाई छ । ‘अब धेरै कार्यक्रमहरू विद्यार्थी केन्द्रित हुनुपर्छ, बालबालिकालाई पर्ने नकारात्मक सन्देशहरूका बारेमा जानकारी भए न्यूनिकरणमा सघाउ पुग्छ’ अध्यक्ष पौडेलले भने ।

नियमित मोवाइलमा भेटिने बालबालिकाको पढाइको स्तर खस्किएको छ भने विद्यार्थीमा पठन संस्कृतिको ह्रास आउनुको मुख्य कारण नै सामाजिक सञ्जाल र मोवाइल खेल भएको विद्यालयका प्रधानाध्यापकहरूको समेत भनाई छ । मोबाइलका गेमहरुको नराम्रो लतका कारण विद्यालय नियमित नजाने, परिवारमा झगडा हुने लगायतका घटनाहरू भइरहेको भन्दै विद्यालयले समेत शैक्षिक क्यालेन्डरमा डिजिटल साक्षरता अभियान सञ्चालन गर्ने जनाएको छ ।

सहरदेखि दुर्गम बस्तीसम्मका बालबालिका डिजिटल र लागुपदार्थको सेवनमा फसेपछि उम्किन मुस्किल हुने भएकाले विद्यालयमा पाठ्यक्रम बाहेक सचेतनामुलक कार्यक्रमहरू नियमित गर्नुपर्ने बेनी अस्पतालका मेडिकल अधिकृत डा.गोविन्द पोख्रेलले बताए । उनले घरपरिवारका कसैसँग संवाद नै नगरी लामो समय बन्द कोठामा इन्टरनेट गेममा भुलिरहने, एकान्तमा बस्न मन पराउने तथा अलग्गै कोठामा झ्याल ढोका लगाएर बस्ने बालबालिकाका बारेमा अभिभावक सचेत हुनुपर्ने बताए । पब्जी गेममाथि प्रतिबन्ध लगाउनुपर्ने भन्दै खासगरी विद्यार्थीका अभिभावकहरुले चर्को माग गरिरहेका छन् ।

खासगरी बालबालिका र किशोर किशोरीहरुमा यो गेमका कारण परेको नकारात्मक असर तथा बसेको कुलतका कारण यो अनलाइन गेममाथि प्रतिबन्ध लगाउनुपर्ने आवाज नेपालको सांसदमा लागेपनि अहिले बहस हुन छोडेको छ भने स्थानीय सरकारले समेत यो कार्यका बारेमा खासै चासो देखाएका छैनन् ।

मोवाइल गेमका नकारात्मक असरहरु :
वास्तवमा यो खेलले समाजमा एक प्रकारको चुनौती सिर्जना गरेको छ जसका कारणले समाजमा थुप्रै प्रकारका समस्याहरु सिर्जना भइरहेका छन् । कलिलो मस्तिष्क भएका बालबालिकामा यस खेलले नकारात्मक असर पारिरहेको छ । यहाँ सम्मकी विश्वका बिभिन्न देशहरुमा पब्जि खेलेर ज्यान गुमाउनेको संख्या पनि क्रमसः बृद्धि भईरहेको छ । पब्जिले शारिरीक र मानसिक समस्या निम्त्याईरहेको छ ।

पब्जि खेल्ने मानसिहरुलाई समय बितेको पत्तो हुँदैन । यसले समयको बर्बादी समेत पारिरहेको छ । १० देखि १५ वर्षसम्मका बालबालिकाहरू इन्टरनेटको माध्यमबाट खेलिरहेको खेलबाहेक अन्य कुनै कुराको ध्यान नहुने यहाँसम्म कि समयमा खाना समेत नखाने, अभिभावकले खाना खान बोलाउँदासमेत झर्किने, अभिभावकसँग झगडा गर्ने स्वभाव बढ्दै गएको छ ।

आजकाल बिद्यालय जाने समयका बालबालिबकाले मोवाईल वा ट्याव मार्फत पब्जि खेल्न नपाएमा पारिवारिक कलह नै हुने गरेको पब्जि खेल्ने लत लागेका बच्चाका अभिभावकहरु बताउँछन् । स्कुले बालबालिकाले आफ्ना साथीहरुसँग स्कूलमा पढाईको विषयमा भन्दा बढी पब्जि खेलको बारेमा छलफल गरेको तथ्य समेत फेला परेको छ ।पब्जि लगातार खेल्नाले कतिपय बालबालिकाले ज्यान समेत खेर फालिसकेका छन् ।

यो खेल्न बसेपछि यसमा नै लगातार ध्यान दिएको कारणले ज्यान गुमाएका उदाहरण प्रशस्त मात्रामा भेटिन थालेका छन् । यसले गर्दा आफ्नो बच्चाबच्चीले पनि कतै त्यस्तै खेलको सिको गरेर परिणाम सोही प्रकारको निस्कने हो की भनेर चिन्तित भएका अभिभावकहरु थुपै्र भेटिन्छन् ।

Leave a Reply