२२ औं अन्तरमावि म्याग्दी जेसीज कप फुटबल प्रतियोगिताको विजेता बने लगत्तै माउण्ट एभरेष्ट आवासीय माविका खेलाडीले सेलेब्रेसन खुसी मनाउदै गर्दा क्याप्टेन सनम विक मैदानमा देखिएनन् । आफ्ना साथीहरू र समर्थकले उनलाई मैदानमा खोजिरहेका थिए । पेनाल्टी सुटआउटमा आफ्नो टिमले जिते लगत्तै जन्मदिने बुबाको अन्तेष्टीमा सहभागि हुन कालिगण्डकी नदीमा पुगे ।

सिकिस्त बिरामी बुबा सले विकको मृत्युको खवरले भाबुक भएका सनमले शनिबार सदरमुकाम खुल्लामञ्चमा सम्पन्न भएको खेलमा माउण्ट एभरेष्ट आवासीय माविलाई ६ बर्षपछि पहिलोपटक विजेता बनाउन निर्णायक भूमिका खेलेका थिए ।

* खेलमैदानबाटै घाटमा गएर अन्त्येष्टी
* पुरस्कार जितेको पैसाले बुबाको उपचार गर्थे,
* चरम गरिबीसँग भिड्दै फुटबलमा

ज्यालामजदुरी गरी जिवन निर्वाह गर्ने गरेका सनमा बुबा विगत २ महिनादेखि उठ्नै नसक्ने गरी बिरामी परेका थिए । माउण्ट एभरेष्टमा कक्षा १० मा अध्ययनरत सनमले सिकिस्त बुबाको निधनको खवर सुन्दा उनी खेलमैदानमा थिए ।

उनले शोकको क्षणमा पनि फुटबल खेल्न भने छाडेनन् ।खेलमैदानमा बुबाको असामयिक निधनको पिडा भुलेर मैदान मानसिक रुपमा तयार भएर खेलेका सनमले फाइनल खेलमा उत्कृष्ट खेल प्रर्दशन गरे । पर्वतको जलजला गाउँपालिका–३ सुकुम्बासी टोलमा बस्ने सनमले फाइनल खेलका लागि मैदानमा प्रवेश गर्नु अगाडी आफन्तलाई फोन गरेका थिए ।

खेल चलिरहेको समयमा फोन चलाउन नपाइने भएपछि उनले निर्धारित समयमा १–१ बराबरीपछि पेनाल्टी सुटआउटमा पहिलो प्रहार गरेका थिए ।

उनलाई खेल सकिएलगत्तै कालिगण्डकी नदीमा जान हतार थियो ।उनले फाइनल खेल नखेल्दा अन्य साथीहरूको खेलको लय बिग्रने अवस्थामा पीडालाई समेत केही बेर भुलेर मैदानमा जाने निर्णय गरेको बताए ।

‘मैले गरेका सबै गोलहरू स्वर्गीय बुबाप्रति सर्मपित गरेको छु,‘दुखको क्षणमा साथीहरूलाई छोडेर मैदानबाट जान सकिन’ सनमको भनाई उद्धित गदैं प्रशिक्षक टिपेन पुनले भने ।

जन्मदिने बुबाको निधनको खवरका बाबजुद पनि सनमले मैदान उत्रिदै उत्कृष्ट प्रदर्शन गरेको बताए । उनी प्रतियोगितामा दुईपटक म्यान अफ दि म्याच घोषित भए भने उत्कृष्ट स्ट्राईकरको अवार्डबाट समेत सम्मानित भएका थिए । प्रशिक्षक पुनका अनुसार उनको बुबाका लागि पुरस्कार राशीको केही हिस्सा उपचारमा खर्च गर्ने योजना समेत बनाइएको थियो ।

चरम गरिबीसँग जुध्दै आएका सनमलाई विद्यालयले आवासीय सुविधा सहित निशुल्क पढाइरहेको छ । सनम सुकुम्बासी हुन भने उनी अहिले आमाले दोस्रो विवाह गरेको घरपरिवारसँगै बस्दै आएका छन् ।

‘बुबाको दुखद् खवर सुनेपछि हामीले पठाउन खोजेका थियौं, खेल र परिवार दुबै सम्हाल्नुपर्ने अवस्था आएको भन्दै खेललगत्तै घर जान्छु भनेका थिए’माउण्ट एभरेष्ट आवासीय माविका प्रिन्सिपल राजु केसीले भने।

रक्षापंक्तिका सबै पोजिसनसँगै मिडफिल्डमा समेत उत्कृष्ट खेल्ने सनमले सन् २०१६ मा १५ औं संस्करणको उपाधि जितेको माउण्टलाई पुनः उपाधि जित्नका लागि २२ औं संस्करण सम्म कुर्नुपरेको थियो ।

जन्मदिने बुबालाई गुमाउनु कुनैपनि सन्तानको लागि निकै दुःखद र पिडादायीय क्षण भएको अवस्थामा पनि खेलमैदानमा समालिएर खेल्नु खेलाडीको महानता भएको प्रतियोगिताका मुल संयोजक देबेन्द्र घिमिरेले बताए ।

‘यस्तो पीडादायी क्षण सायद जीवनमा अर्को हुँदैन, पिडा बोकेको अवस्थामा कुनै पनि खेलाडीले केहि समय पिडा बिर्सन खेलबाट विश्राम सकिन्छ’ घिमिरेले भने ।

उनले जस्तोसुकै परिस्थितीमा पनि सम्हालिनुपर्ने अवस्थाका लागि सनमले सन्देश दिएको बताए । फुटबल खेल्न देशका विभिन्न जिल्लामा समेत पुग्ने गरेका सनमले जितेको पुरस्कार घर खर्च चलाउन खर्चिने गरेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले बताए ।

इमान्दार र मेहनत विद्यार्थी भएको बताउँदै परिवारको आर्थिक अवस्था कमजोर भएपनि खेल क्षेत्रलाई निरन्तरता दिएको बताए । बेनपा–८, कालीपुलमा रहेको बालमन्दिर माविबाट बि.स २०७४ सालमा जुनियर फुटबल खेलमा सहभागि भएका थिए । म्याग्दीमा फुटबलमा चलेका खेलाडीको रुपमा स्थापित भएका सनमले फुटबल खेलेर जितेको पुरस्कार समेत घरखर्च चलाउन सघाउँछन् ।उनी विद्यालयस्तरीय खेलसँगै अनुभवी खेलाडीहरूसँग समेत खेल्छन् ।

Leave a Reply