धर्तीमा पाइला टेकेको दिन अर्थात् आफ्नो जन्मदिनलाई महङ्गो खर्च गरेर मनाउने प्रचलन छ । जन्मदिन मनाउनको लागि पार्टी तथा प्यालेसमा साथीभाइलाई निमन्त्रणा गरी भव्य तरिकाले भोज दिने गरिन्छ । तर फजुल खर्च गरेर जन्मदिनलाई उत्सवको रुपमा मनाउनेहरुको बीचमा एक शिक्षकले भने विपन्न विद्यार्थीलाई आर्थिक सहयोग गरेर जन्मदिन मनाउनुभएको छ ।
म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरमा सञ्चालित जनकल्याण माध्यमिक विद्यालयका शिक्षक शिव बानियाँले आफ्नो जन्मदिनमा विपन्न तथा अभिभावकविहिन विद्यार्थीलाई आर्थिक सहयोग गर्नुभएको छ ।
आइतबार परेको आफ्नो जन्मदिनमा उहाँले सोही विद्यालयको कक्षा १० मा अध्ययनरत लक्ष्मण किसानलाई नगद पाँचहजार पाँचसय ५५ रुपैयाँ सहयोग हस्तान्तरण गर्नुभएको हो । जन्मदिनमा फजुल खर्च गर्नुभन्दा सानो भए पनि विपन्न विद्यार्थीको पढाइमा सहयोग पुगोस् भनेर आफूले नगद सहयोग गरेको शिक्षक बानियाँले बताउनुभयो । उक्त रकम विद्यार्थी किसानको दिदी पुजा किसानलाई हस्तान्तरण गरिएको विद्यालयले जनाएको छ ।
हरेक वर्ष पर्ने आफ्नो जन्मदिनको अवसरमा आर्थिक सहयोग गर्दै आउनुभएका शिक्षक बानियाँले यसवर्ष पनि सहयोगलाई निरन्तरता दिएको जानकारी दिनुभयो । सहयोग रकम हस्तान्तरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलकप्रसाद श्रेष्ठ, प्रधानाध्यापक कमलप्रसाद पौडेल, विद्यालयका अन्य शिक्षकहरु, कक्षा १० मा अध्ययनरत विद्यार्थीहरु लगायतको उपस्थिति रहेको थियो ।
जनकल्याण मावि पुलाचौरको पूर्व सहायक प्रधानाध्यापक तथा बिहानीसत्रमा सञ्चालित प्लस टु संयोजक समेत रहनुभएका बानियाँले यसअघि विभिन्न सन्दर्भमा जिल्लाको दूरदराजमा रहेको विद्यालय जनकल्याण मावि गूर्जा, सामाजिक संस्था रेडक्रस, स्वास्थ्यचौकीसहित विभिन्न क्षेत्रमा सहयोग गर्नुभएको थियो ।
बेनी नगरपालिका–५, पुलाचौरको उपल्लाचौर घर भएका कक्षा १० मा अध्ययनरत किसान हालै बुबाआमा गुमाएका विपन्न परिवारका सदस्य हुन् । दाजु गोरे किसानसँगै उनी अहिले बुबाआमाको संयुक्त शोकमा रहेको बेला कोरामा पुगेर नगद हस्तारन्तरण गरिएको थियो । नेपाली सेनाको एनसिसी तालिम समेत लिएका उनी पढाइमा पनि अब्बल विद्यार्थीको रुपमा चिनिन्छन् । घर तथा जग्गाजमिन नभएका किसानलाई थप सहयोग आवश्यक परेको छ ।