म्याग्दीको धवलागिरि गाउँपालिका-३,मुना बन्चरेडाँडाको गुराँसे जंगलमा पहिलोपटक विश्वमै दुर्लभ मानिएको स्तनधारी वन्यजन्तु रेडपाण्डा (हाब्रे) भेटिएको छ ।
पर्यटकीयस्थल मालिकाबाट फर्किदै गरेको अवस्थामा धवलागिरी गाउँपालिकाका कर्मचारी तेजिन्द्र मगरले गुराँसको रुखमा रमाइरहेको अवस्थामा लालीगुराँसको रुखमा बसेको अवस्थामा रेडपाण्डाको तस्बिर र भिडियो खिच्नुभएको थियो ।
समुन्द्री सतहदेखि ३ हजार १ सय मिटर उचाईमा भेटिएको रेडपाण्डा बच्चा जस्तै देखिन्छ । उक्त स्थानमा रेडपाण्डा भेटिएपछि टोलीमै जानुभएका गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनले थप संरक्षणका लागि आसपासका स्थानीयलाई जानकारी गराइएको बताउनुभयो ।
‘यो ठाउँमा पहिलोपटक भेटियो, चोरीसिकारीबाट जोगाउन समुदायस्तरबाटै अभियान सञ्चालनको योजना बनाउँछौ’ अध्यक्ष पुनले भन्नुभयो । लजालु स्वभाव रहेको रेडपाण्डाले पैदल यात्रामा रहेका सर्वसाधारणलाई देखेर रमाइरहेकोे देखिन्छ । यसअगाडी म्याग्दीको धवलागिरी गाउँपालिका वडा नं १ गुर्जा, वडा नं २ लुलाङमा प्रत्यक्ष देखिएको थियो भने वडा नं ४ मुदीमा बासस्थान भेटिएको थियो ।
एकदशक अगाडी अनुसन्धानकर्ता बन्द्री पाण्डेल लुलाङको मरेनी सामुदायिक वन, ढोरपाटन सिकार आरक्षको जलजला, गुर्जा र मुदीको जङ्गलमा हलुका रातो, सेतो र कालो रङको रेडपाण्डाको वासस्थान रहेको पुष्टी गरेपनि त्यसयता समुदायस्तरबाट संरक्षण तथा सम्भाव्यता अध्ययन सम्म हुन सकेको छैन ।
शिकारीलाई सहज हुने गरी बस्ने रेडपाण्डाको महत्वका बारेमा समुदायस्तरमा जानकारी गराउन डिभिजन बन कार्यालय, स्थानीय गाउँपालिका चुकेको छ । रातका समयमा रूखको टोड्कामा बास लिने र दिउँसोको लागि रूखका हाँगा बसी आराम गर्ने, भोक लागेको बेला निगालोको टुसा लगायत झारपात खान भुईँमा झर्छ ।
धवलागिरी गाउँपालिका भित्र फरक फरक ठाउँमा भेटिएकाले रेडपाण्डाको गणना नभए पनि प्रशस्तै रहेको अनुमान गरिएको छ। ‘रेडपाण्डा जोगाउन समुदायलाई सक्रिय बनाउन सकेमा रेडपाण्डाको अनुसन्धानका लागि गन्तव्य बनाउन सकिने जानकारहरु बताउँछन् । रेडपाण्डा जोगाउन वडा स्तरमा संरक्षण समिति गठन, जनचेतनामूलक कार्यक्रम, वासस्थान आसपासका क्षेत्रमा आवतजावतमा समेत निगरानी आवश्यक रहेकोडिभिजन बन कार्यालय म्याग्दीले जनाएको छ।
रेडपाण्डाका लागि आवश्यक आहारा निगालो तथा पालिङ्गो र टोट्का परेका रुख धवलागिरी गाउँपालिकाका बनजंगलमा प्रसस्तै रहेको छ । समुन्द्री सतहबाट दुई हजारदेखि चार हजार ८०० मिटरको उचाइमा बसोबास गर्ने रेडपाण्डालाई सरकारले सङ्कटापन्न वन्यजन्तुको सूचीमा राखेको छ।राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अन्तर्गत रेडपाण्डालाई संरक्षितको सूचीमा राखिएको हो।
रेडपाण्डा संरक्षण गर्न नेपाल सरकारले सन् २०१९ देखि २०२३ सम्म रेडपाण्डालाई पर्यटनसँगै जोडेर विशेष संरक्षण गर्ने नीति लिएको छ। रेडपाण्डाको चोरी सिकारमा संलग्नलाई एक वर्षदेखि १० वर्ष कैद र एक लाखदेखि पाँच लाखसम्म जरिवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था छ।