म्याग्दीको बेनी नगरपालिकाले ग्रामिण क्षेत्रमा पक्की सडक विस्तार गरेको छ । नगरपालिकाले बेनी-अर्थुङ्गे-बाँसबोटसम्म पाँच किलोमिटर खण्डमा कालोपत्रे र ढलान गरेको हो । सडकखण्डमार्फत बेनपा–६, ५ र ९ वडाका साथै छिमेकी मंगला गाउँपालिकाको कुहुँ आसपासका क्षेत्रका जनताले आवतजावत गर्ने गर्दछन् ।

बेनी नगरपालिकाका प्रमुख सुरत केसीका अनुसार पाँच किलोमिटर सडक स्तरोन्नतिका लागि एक करोड ८० लाख रुपैयाँ विनियोजन भएकोमा ८२ लाख रुपैयाँको लागतमा पक्की बनाइएको छ ।

बेनी नगरपालिकाले धार्मिक तथा पर्यटकीयस्थल पौलस्य पुलहआश्रम, जगन्नाथ मन्दिर सहितका पर्यटकीयस्थलमा घुम्न जाने पर्यटकलाई समेत सहज हुने गरी उक्त क्षेत्रमा सडक विस्तारलाई प्राथमिकता दिएको छ । बाँसबोटमा तीन सय ३० मिटर सडक प्रिमिक्स कालोपत्र र एक सय मिटर ढलान भएको छ।

एकपाटे, अबेचौर र पुरुण्डी क्षेत्रमा चार सय मिटर ढलान र बेनीको हुलाकचोकदेखि सङ्गमचोकसम्मको एक सय ३० मिटर सडक प्रिमिक्स कालोपत्रे भएको छ। त्यसैगरी बेनी–पाखापानी सडक योजनामा विनियोजन भएको तीन करोड बजेटमध्ये एक करोड ५० लाख रुपैयाँको लागतमा कुरिलाखर्क र अर्थुङ्गेको घुम्तीमा स्तरोन्नति गरिने बेनी नगरपालिकाले जनाएको छ।

Leave a Reply