म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित बेनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको शनिवार २३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । २०५८ सालमा स्थापित सहकारीमा हालसम्म कुल २२ सय ३० जना शेयर सदस्यहरु आबद्ध रहेकोमा शेयर पुँजी तीन करोड ७३ लाख ९८ हजार छ सय रुपैयाँ, गतवर्ष बचत तथा निक्षेप ४२ करोड ६१ लाख ५८ हजार नौसय २२ र लगानी ३९ करोड एकलाख सातहजार तीनसय ९४ रुपैयाँ रहेको छ ।
साधारणसभामा सहकारीका अध्यक्ष सञ्जयकुमार श्रेष्ठले वार्षिक प्रगति प्रतिवेदन, लेखा तथा सुपरीवेक्षण समितिका संयोजक शिवप्रसाद कटुवाल क्षत्रीले लेखा प्रतिवेदन र कोषाध्यक्ष कमलप्रसाद श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साधारणसभामा सहकारीले बेनी बचत आजीवन साहाराबाट अंगद श्रेष्ठ, अविरकुमार श्रेष्ठ, बेनबहादुर शाही, भेजबहादुर रावल, दलप्रसाद श्रेष्ठ, दुर्गाबहादुर श्रेष्ठ, कृष्णकुमारी श्रेष्ठ, हिराबहादुर घिमिरे, ज्येष्ठनागरिक सम्मानतर्फ तप्तबहादुर विक र अमरराज पाण्डेलाई जनही छ हजार रुपैयाँसहित सम्मान गरेको छ ।
यसैगरी उत्कृष्ट कारोबारतर्फ संस्थागत रुपमा बेनी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था र व्यक्तिगततर्फ अम्बिकुमार श्रेष्ठलाई दोसल्ला ओढाई मायाको चिनो र कदरपत्रले सम्मान गरिएको थियो ।
त्यस्तै गतवर्ष सञ्चालित एसइई परीक्षामा उत्कृष्ट अङ्कसहित उत्तीर्ण हुने शेयर सदस्य चितकुमारी छन्तयालको सुपुत्री नमिका छन्त्याल र कर्मचारीतर्फ सहकारीका कर्जा प्रमुख सरोज पौडेललाई क्रमशः सातहजार पाँचसय र पाँचहजार रुपैयाँसहित कदरपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको छ ।
साधारणसभाको उद्घाटन गर्दै सहकारीका ज्येष्ठ शेयर सदस्य दलप्रसाद श्रेष्ठले सहकारी संस्थासंस्थाहरु बचत तथा ऋणको कारोबार सँगसँगै सामाजिक क्षेत्रमा पनि क्रियाशील हुनुपर्ने बताउनुभयो ।
उहाँले सहकारीको दीगो विकास गरेर अगाडि लैजानको लागि, शेयर सदस्य, सञ्चालक समिति, कर्मचारी सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो । सहकारीका संस्थापक अध्यक्ष हरिकुमार श्रेष्ठले सहकारीमार्फत समुदायमा रोजगारको सिर्जना, गरिबी निवारण र विभिन्न पेशा तथा व्यवसायमार्फत स्वरोजगारको क्षेत्रमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
सहकारीका संस्थापक सचिव तथा संविधानसभा सदस्य रेशमबहादुर बानियाँले सहकारी संघसंस्थाहरु सहकारीको नीति, नियम र मूल्यमान्यताअनुसार चल्नुपर्ने बताउँदै सहकारीले आफ्नो साधारणसभा समयमै सम्पन्न गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा शेयर सदस्य राजेन्द्र आचार्य र सम्मानित व्यक्तित्व अम्बिककुमार श्रेष्ठले मन्तव्य व्यक्त गर्नुभएको थियो । साधारणसभाको उद्घाटनसत्र सहकारीका अध्यक्ष सञ्जयकुमार श्रेष्ठको अध्यक्षता, उपाध्यक्ष माधवप्रसाद रेग्मीको स्वागत र सचिव चन्द्रबहादुर घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो ।