म्याग्दीको मंगला गाउँपालिका-२,लरेनी चुनारेका एक दम्पत्तीले मंगला शिक्षा क्याम्पसको आर्थिक संकलन अभियानमा ५१ हजार सहयोग गर्नुभएको छ । सदरमुकाम बाहिरको एक मात्रै क्याम्पसमा २ करोडको अक्षयकोष स्थापना गर्ने उदेश्यले सञ्चालित अभियानमा कृष्ण र विष्णु किसानले बुधबार घरमै आयोजित एक कार्यक्रममा उक्त सहयोग गर्नुभएको हो ।

सहयोग रकम क्याम्पस सञ्चालक समिति अध्यक्ष याम थापा, क्याम्पस सञ्चालक समितिकी उपाध्यक्ष एवम् आर्थिक संकलन उपसमिति संयोजक यसुदा रोका,क्याम्पस प्रमुख पितम खत्रीलाई हस्तान्तरण गर्नुभएको थियो ।

सोही अवसरमा संघर्षशिल आमा समुहले समेत समु्दायको सक्रियतामा स्थापित क्याम्पसलाई १० हजार सहयोग गरिएको क्याम्पस प्रमुख खत्रीले जानकारी दिनुभयो ।

क्याम्पसले अक्षयकोषबाट गरिब तथा विपन्न बर्गका विद्यार्थीहरूलाई छात्रबृत्ती प्रदान, पुर्णकालिन प्रध्यापकलाई तलबसुविधा, क्यूएए प्रक्रियाका पूर्वाधारहरूका साथै आयआर्जन हुने विषयहरू थप गर्ने सञ्चालक समितिका अध्यक्ष थापाको भनाई छ ।

बावियाचौरको लाम्पाटामा अवस्थित क्याम्पस स्थापना भएपछि आर्थिक रूपले विपन्न र समुदाय, दलित, जनजाति र महिला (छोरी तथा बुहारीहरू)लाई समेत उच्च शिक्षामा सहज भएको छ ।

अक्षयकोष अभियान अन्तरगत पहिलो चरणमा मंगला गाउँपालिकाभित्रका ३७ सय घरधुरीबाट स्वदेश तथा विदेशमा रहेकालाई प्रत्यक्ष तथा भर्चुयल माध्यमबाट क्याम्पसको शैक्षिक कोषमा सहयोग संकलन भइरहेको छ ।

अभियान अन्तरगत क्याम्पसबाट टोली गाउँगाउँमा पुग्दा बृद्धबृद्धाले समेत खुसी हुदैं आफ्नो पेन्सन, छोराछोरीको कमाई र बचत बाट खुलेर सहयोग प्राप्त भइरहेको मंगला शिक्षा क्याम्पसको आर्थिक संकलन उपसमितिले जनाएको छ ।

Leave a Reply