नेपाली सेनाको राष्ट्रिय सेवा दलको जुनियर डिभिजनद्वारा म्याग्दीको मंगला गाउँपालिका-१,दिपशिखा माविमा सञ्चालित ७९ दिने तालिम सकिएको छ । नेपाली सेनाको शत्रुभञ्जन गुल्म अर्थुङ्गे व्यारेक म्याग्दीको संयोजनमा विद्यालयको प्राङ्गनमा आधारभूत तहको तालिम समापनसँगै नवलपरासीको हात्तीखोरमा थप २१ दिनको तालिम सहित अतिरिक्त क्रियाकलापका लागि विद्यार्थी र प्रशिक्षकलाई विदाई गरिएको छ ।
तालिममा अध्ययनरत छात्र १८ र छात्रा १८ जना गरी कुल ३६ जना विद्यार्थीहरु सहभागी थिए । विद्यालयमा विद्यार्थीले शारीरिकका साथै एरोबिक्स, तेक्वान्दो पिटी, मास पिटी, सैनिक ज्ञान, ड्रिल, खुकुरी ड्रिल, एफसी–बिसी, नक्सा अध्ययन, विपद् व्यवस्थापन र जुनियर डिभिजन तालिमका विभिन्न विषयमा जानकारी लिएका थिए ।
त्यस्तै अब थप २१ दिन चल्ने क्याम्प तालिममा खोज उद्धारदेखि मास पिटी, भिडमा बोल्ने तरिका र नेतृत्व विकाससम्बन्धि तालिमका साथै विभिन्न खेलमा समेत विद्यार्थीको प्रतिभा खोजिने छ । विद्यालयमा हुने यस्ता तालिमले विद्यार्थीलाई अनुशासित मात्रै बनाउँदैन, राष्ट्रप्रति समर्पित, आत्मरक्षा देखि दैविक प्रकोपको उद्धारदेखि लागुऔषध र चेलिवेटी बेचविखनविरुद्धका अभियानमा सघाउने दिपशिखा प्रधानाध्यापक डा. नन्दबहादुर खत्रीले बताउनुभयो।
आत्मरक्षा,स्वंयमसेवा,नेतृत्व क्षमता,इमान्दारीसँगै समाजप्रतिको जिम्मेबारीका बारेमा विद्यार्थीले धेरै ज्ञान पाएको प्रअ खत्रीको भनाई छ । यसपटक दिपशिखा मावि र मालिका गाउँपालिका वडा नं ३ रुमस्थित राष्ट्रिय माविका विद्यार्थीलाई तालिम सञ्चालन गरिएको थियो ।