म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुङ्गा सडक कालोपत्रे गर्न थालिएको छ । १३ किलोमिटर सडकको प्रवेशविन्दुमा पर्ने कुश्मा नगरपालिका–१ माझीबस्तीदेखि जलजला गाउँपालिका–८ लस्तीसम्मको खण्डमा एक्सफाल्ट प्रविधिको कालोपत्रे गर्न सुरू भएको हो ।
बेनी–जोमसोम–कोरला सडक आयोजनाका सब–इञ्जिनियर सोहनजङ्ग कार्कीले माझीबस्तीदेखि डमुवाखोलासम्म शुक्रबार र शनिबार छ सय मिटर दूरीमा प्राइम कोट (बिटुमिन) बिछ्याएको र लस्तीसम्म थप तीन किलोमिटर कालोपत्रको लागि तयार भएको जानकारी दिए ।
सडकलाई ११ मिटर फराकिलो बनाएर अस्फाल्ट प्रविधिको कालोपत्र र ढलान गर्न बेनी–जोमसोम–कोरला सडक आयोजना र एपेक्स–खड्का–कृष्ण जेभीबीच विसं २०७७ चैतमा रू ५२ करोड ८६ लाखमा ठेक्का सम्झौता गरेको थियो ।
विभिन्न ठाउँमा दुई किलोमिटर ढलान भइसकेको सडकको थप आठ किलोमिटर क्षेत्रमा पनि विस्तार, नाली निर्माण, सवबेस, बेस राख्ने र ग्रेडिङ गर्ने काम धमाधम भइरहेको छ ।विसं २०७९ मा सम्पन्न हुनुपर्ने सडक निर्माण कार्यले लक्ष्यभन्दा दुई वर्षपछि पूर्णता पाउन लागेकामा स्थानीयवासी उत्साही भएका जलजला गाउँपालिका–४ का वडाअध्यक्ष भरत क्षेत्रीले बताए ।
यो सडकमा म्याग्दी, मुस्ताङ र पर्वतको जलजला गाउँपालिकाका स्थानीय बासिन्दाका साथै पर्यटक र तीर्थयात्री आवतजावत गर्छन् । विसं २०४८ ‘कामका लागि खाद्यान्न’ कार्यक्रमअन्तर्गत सुरु गरेर २०५२ मा मार्ग खुलेको र २०६८ मा कालोपत्र भएको मालढुङ्गा–बेनी सडक पछिल्लो समय जीर्ण अवस्थामा थियो।
मुस्ताङको कोरला नाकादेखि दक्षिणको सुनौलीसम्म जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत यो सडकलाई ११ मिटर चौडा र कालोपत्र गर्न लागिएको हो ।
सडकखण्डको कालोपत्रे सहितको काम अलपत्र परेपछि म्याग्दीका यूवा नेता प्रकाश पौडेलको अगुवाईमा दवाबमुलक कार्य सुरु भएपछि म्याग्दीका प्रजिअ गुरुदत्त ढकालले सर्वपक्षीय भेलाबाट ठेकेदार सहित निर्माण ब्यवसायीलाई काम तत्काल सुरु गर्न निर्देशन दिएका थिए ।